धरान । विश्व मधुमेह दिवसको अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निःशुल्क मधुमेह स्क्रिनिङ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । इन्टर्नल मेडिसिन विभागको आयोजनामा ‘स्वस्थ जीवन जिउन–मधुमेह नियन्त्रण’ भन्ने नाराका साथ बिहान हिँड्ने कार्यक्रम गरिएको थियो । 

¥यालीपछि प्रतिष्ठानमा मधुमेह किन लाग्छ, कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जनचेतनामूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा डायबिटिजका दुई मुख्य प्रकार—टाइप–१ र टाइप–२, कहिले औषधि खाने, कसले इन्सुलिन प्रयोग गर्नुपर्ने आदि विषयमा जानकारी प्रदान गरियो ।

वराहक्षेत्र वडा नम्बर ३ स्थित स्वास्थ्य चौकीमा पनि प्रतिष्ठानका विशेषज्ञको टोलीले निःशुल्क मधुमेह स्क्रिनिङ शिविर सञ्चालन गर्यो । शिविरमा वरिष्ठ डायबिटिज विशेषज्ञ प्रा.डा. रोबिन मास्केसहित २७ जनाको टोली खटिएको थियो । यो शिविर लायन्स क्लब अफ धरान ग्लोरीको सहकार्यमा सम्पन्न गरिएको थियो । 

स्थानीयहरूका अनुसार गाउँमै शिविर हुँदा विशेषगरी वृद्धवृद्धालाई ठूलो सुविधा पुगेको छ । “खेतीपातीको सिजनमा घरनजिकै स्वास्थ्य सेवा पाउँदा धेरै सजिलो भयो” स्थानीय ७९ वर्षीय पिप नारायण थामीले बताए । ५५ वर्षीय प्रेमबहादुर खड्काले पनि घरछेउमै चेकजाँच गराउन पाएकोमा खुसी व्यक्त गरे ।

उक्त शिविरमा २ सय ७ जनाले मधुमेहको चेकजाँच गराएका थिए । बिरामीहरूलाई निःशुल्क सुगर र प्रेसरका औषधिहरू पनि वितरण गरिएको डा. प्रदीप बास्तोलाले जानकारी दिए ।

यस्तै धरान उपमहानगर स्वास्थ्य महाशाखा आयुर्वेद विभागको आयोजना तथा बीपी प्रतिष्ठानको सहकार्यमा धरानको भानुचोकमा मधुमेहको स्क्रिनिङ शिविर आयोजना गरिएको थियो । शिविरमा २ सयभन्दा बढीको परीक्षण गरिएको स्वास्थ्य महाशाखाका अधिकृत रामबाबु यादवले जानकारी दिए ।