धरान । झापाको दमक नगरपालिका–५ स्थित दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट जारी भएको मध्यमा तहको नक्कली प्रमाण–पत्र पेश गरी विद्यालयमा स्थायी नियुक्ति प्राप्त गरेका थिए ।
निरौला वि.सं. २०५५ सालमा दीपिनी आधारभूत विद्यालयमा अस्थायी रूपमा नियुक्त भई अध्यापन कार्य गरिरहेकी थिइन् । पछि २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाई प्राथमिक तह तृतीय श्रेणीकी शिक्षकको रूपमा कार्यरत रहँदै तलब, भत्ता र अन्य सरकारी सुविधा लिँदै आएको पाइएको छ ।
तर, प्रमाण–पत्रसम्बन्धी उजुरी परेपछि आयोगले अनुसन्धान गर्दा उनले प्रस्तुत गरेको प्रमाण–पत्र नक्कली भएको पुष्टि भएको आयोगले दाबी गरेको छ । आयोगले निरौलालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम परिभाषित कसूर गरेको ठहर गर्दै कैद र जरिबानाको सजाय मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार, नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरी सरकारी सेवा प्राप्त गर्नु भ्रष्टाचारको गम्भीर रूप हो, जसअन्तर्गत कानूनी सजाय कडा हुने व्यवस्था छ ।
































