धरान। विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय मधुमेह महासङ्घ (इन्टरनेसनल डाइबिटिज फेडेरेसन, आईडीएफ) को पछिल्लो तथ्याङ्कअनुसार वयस्क (२०–७९ वर्ष) मध्ये लगभग ५ सय ८९ मिलियन (५९ करोडभन्दा बढी) मानिसहरू मधुमेह (सुगर) रोगसँँग सङ्घर्ष गरिरहेका छन् ।
तीमध्ये लगभग २ सय ५२ मिलियन मानिसहरूलाई आफ्नो रोग थाहा नै छैन । रोग लागेकामध्ये ५० प्रतिशत मानिसहरू आफू मधुमेह रोग
पीडित हो भन्ने कुरामा जानकार छैनन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभागका विभागीय प्रमुख तथा आइडिएफका फेलो प्रा.डा. रोविन मास्केका अनुसार मधुमेह प्रभावितमा दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा छ । सन् २०१९ को तथ्याङ्कअनुसार २० वर्ष उमेर समूहका ८ प्रतिशत मानिसमा सुगर देखिएको छ ।
उनका अनुसार २०२४ मा नेपालका वयस्क (२०–७९ वर्ष) मध्ये लगभग १३ लाखभन्दा थोरै मानिस मधुमेहबाट प्रभावित रहेको अनुमान गरिएको छ । राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा मधुमेहको दर लगभग ८.५ % रहेको देखिएको छ । विश्वका ५ मध्ये ४ जना (लगभग ८१%) मधुमेह प्रभावित वयस्क कम तथा मध्यम् आय भएका देशहरूमा बस्छन् । नेपालमा मधुमेहका जोखिम वृद्धि हुने कारकहरूमा उमेर वृद्धि, सहरीकरण, अस्वस्थ जीवनशैली, रक्तचाप तथा मोटोपन भएको एक अध्ययनले देखाएको छ । प्रा.डा. मास्केका अनुसार बन्द बोतलको पेय पदार्थ, प्याकेटको खाना र विषादीयुक्त सागजब्जी फलफूल खाँदा मधुमेह रोगबाट पीडित हुने गरेका छन् ।
अन्तर्राष्ट्रिय डायबिटिज महासङ्घका अनुुसार पछिल्लो समय हरेक नौ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७.७ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्याङ्क छ । मधुमेह भएकालाई ‘डायबेटिक रेटिनोप्याथी’ अर्थात् मधुमेहका कारण आँखाको पर्दामा समस्या हुने सम्भावना बढ्दछ । यो आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या भएको चिकित्सकले बताउने गरेका छन् ।
“मधुमेह नियन्त्रण गर्न नसक्ने अवस्थामा मुटु, मिर्गौला, आँखाको समस्या, स्नायुहरूमा असर पर्न सक्छ” शुक्रबार प्रतिष्ठानद्वारा विश्व मधुमेह दिवसका अवसरमा आयोजित छलफल कार्यक्रममा प्रा.डा. मास्केले भने, “मधुमेह साइलेन्ट किलर भएकाले कसैले पनि हेल्चेक्र्याइँ गर्नु हुँदैन । खानपानमा विशेष ध्यान पु¥याउनु पर्दछ ।”
मधुमेह रोगीले खानेकुरा परहेजमा बस्नेभन्दा पनि कार्वोहाइड्रेटयुक्त खानेकुरा कम खाने, रेसादार फाइवरयुक्त खानेकुरा प्रशस्त खाने, चिल्लो, पोलेको तारेको खानेकुरा कम खानाले मधुमेह रोग नियन्त्रण गर्न सकिने उनले बताए ।
माथिको तथ्याङ्कले मधुमेह एक सामान्य स्वास्थ्य समस्या मात्र नभएर विश्वव्यापी महामारी बन्न पुगेको छ । विशेषगरी विकासोन्मुख तथा मध्यम् आय भएका देशहरूमा यो रोगले बढी प्रभावित भएको अध्ययनहरूले देखाएका छन् । नेपालमा पनि यो समस्या तीव्र गतिमा वृद्धि हुँदै गएको छ । यसलाई नियन्त्रण गर्नका लागि समयमै निदान, नियमित जाँच, जीवनशैलीमा सुधार तथा स्वस्थ भोजन र शारीरिक क्रियाकलापमा जोड दिन अत्यावश्यक भएको मधुमेह रोग विशेषज्ञ चिकित्सकहरूले सुझाव दिएका छन् ।
स्वास्थ्य विशेषज्ञको भनाइमा यो अवस्था नेपालमा तीव्र सहरीकरण, अस्वस्थ जीवनशैली, कम शारीरिक गतिविधि र पारिवारिक इतिहासजस्ता कारणले प्रभाव पारेको बताइन्छ ।
मधुमेहको बढ्दो सार्वजनिक स्वास्थ्य चुनौती
काठमाडौं महानगरको स्वास्थ्य सर्वेक्षण (मार्च २०२५) अनुसार, ३० वर्षभन्दा माथिका व्यक्तिहरूमा २२% मा मधुमेह पाइएको छ । यो तथ्यले सहरी क्षेत्रमा मधुमेहको उच्च जोखिम र बढ्दो बोझ देखाउँछ । “डायबिटिज इमर्जिङ मेजर हेल्थ प्रोब्लम” शीर्षककै रिपोर्टमा भनिएको छ कि मधुमेह नेपालमा गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बन्न थालेको छ ।
निड्स नेपाल नामक परियोजनाले कास्की जिल्लामा (रूपा, मादी, माछापुच्छ्रे, अनपोर्फू गाउँ) समुदायस्तरमा मधुमेह र उच्च रक्तचाप स्क्रिनिङ र हेरचाह सेवा सञ्चालन गरिरहेको छ ।
यस अन्तर्गत, स्वास्थ्य स्वयम्सेवकहरूलाई तालिम दिई उनीहरूले घरमै मानिसहरूको रक्तचिनी मापन गर्ने, परामर्श दिने र जाँचका लागि स्वास्थ्य केन्द्रमा रेफर गर्ने काम गर्दैछन् ।
बागमती र गण्डकीमा सबैभन्दा बढी जोखिममा
वैज्ञानिक अध्ययन र प्रणालीगत समीक्षाहरूले नेपालमा मधुमेहको दर प्रदेशगत रूपमा ठूलो रूपमा फरक देखाएको छ । बागमती र गण्डकीमा मधुमेहको दर देशकै उच्च करिब १०% देखाएको छ । तर सुदूरपश्चिम प्रदेशमा भने २ प्रतिशत मात्र मधुमेहको प्रभाव देखाएको छ । यस तथ्याङ्कले ग्रामीण क्षेत्रमा कम प्रभाव र सहरी क्षेत्रमा बढी प्रभाव देखाएको छ ।
मधुमेह जोखिम समूह
एक अध्ययन अनुसार ४० वर्षमाथि सबैभन्दा बढी प्रभावित भएको पाइएको छ । ४०–५९ वर्ष उमेर समूहमा दर तीव्ररूपमा बढ्ेको छ । ६० वर्षमाथि मधुमेह दर ३०% नजिक रहेको छ । पुरुषहरूमा महिलाभन्दा केही बढी जोखिम भएको अध्ययनले देखाएको छ ।
मोटोपन, उच्च रक्तचाप र उच्च ट्राइग्लिसराइड भएका व्यक्तिहरू उच्च जोखिममा परेका छन् । विशेषगरी १८–४० वर्ष समूहमा ८–९% मधुमेह देखिएको अध्ययन पनि छ । पछिल्लो समय युवापुस्ता पनि जोखिममा परेको देखाउँछ ।
नेपालमा मधुमेह अब केवल स्वास्थ्य समस्या मात्र नभई यसले राष्ट्रव्यापी सार्वजनिक स्वास्थ्य सङ्कटको रूप लिँदैछ । वृद्धि भइरहेको प्रचलन, उपचारमा सीमित पहुँच, कम जनचेतना र जोखिम समूहहरूको ठूलो सङ्ख्या हेर्दा प्रदेशगत रणनीति, निरन्तर स्क्रिनिङ, समुदायस्तरको सेवा विस्तार र औषधि उपलब्धतालाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
मधुमेह रोकथामका लागि सरकारको भूमिका
स्वास्थ्य मन्त्रालयले नयाँ आर्थिक वर्ष (२०८२/०८३) बाट ७ सय ५३ स्थानीय तहहरूमा व्यापक नसर्ने रोगको स्क्रिनिङ गर्न परिपत्र गरेको छ । जसमा मधुमेह परीक्षण पनि समावेश छ ।
यसका लागि मन्त्रालयले स्थानीय तहलाई बजेट दिएको छ । साथै, स्वास्थ्यकर्मीहरूलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोगको पहिचानका लागि तालिमसमेत प्रदान गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा तथा आधारभूत स्वास्थ्य चौकीहरूमा निःशुल्क औषधिहरू वितरण गर्दै आएको छ ।
मधुमेह उपचारमा प्रतिष्ठानको योगदान
प्रा.डा. मास्केका अनुसार बीपी कोइराला स्वनस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवासँगसँगै मधुमेहसम्बन्धी अध्ययन अनुसन्धानका कामसमेत भइरहेका छन् ।
प्रतिष्ठानका शोधकर्ताहरूले गर्भकालीन डायबिटिज (Gestational Diabetes Mellitus, GDM) हुने महिलाहरूमा मेटफोर्मिन -oral drug_ र इन्सुलिन प्रयोग गर्ने रेन्डम ट्रायल गर्दै आएको छ । मेटफोर्मिन समूहले राम्रो ग्लाइसेमिक नियन्त्रण देखाएको, तौल कम भएको र नवजात शिशुमा हाइपोग्लाइसेमिया कम भएको दाबी गरेको छ ।
प्रतिष्ठानले मधुमेह रोगीमा स्वास्थ्य साक्षरता कार्यक्रमसमेत चलाउँदै आएको छ । विभिन्न स्थानमा पुगेर स्वास्थ्य शिविर राखी सेवा दिँदै आएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए । शुक्रबार पनि धरानको भानुचोक र वराहक्षेत्र नगरपालिकामा मधुमेहसम्बन्धी स्वास्थ्य शिविरको आयोजना गरेको थियो । प्रत्येक बुधबार हुने मधुमेह क्लिनिकबाट गतवर्ष ७ सय ४८ जना रोगी पहिचान भएका थिए । यस्तै बालरोग विभागमा पनि प्रत्येक बिहीबार मधुमेह क्लिनिक सञ्चालन हुँदै आएको छ । प्रतिष्ठानले मधुमेह भएका बिरामीहरूमा स्वास्थ्य साक्षरता कस्तो छ भनेर एउटा क्रससेक्सनल अध्ययन गरिएको थियो । उक्त अध्ययनबाट धेरै मधुमेहका बिरामीहरूलाई आफ्नो रोग (ग्लाइसेमिक नियन्त्रण, औषधि सेवन, उपचार पालन) सम्बन्धी ज्ञान कम भएको पाइएको छ । लगभग ३९% बिरामीमा “निम्न स्वास्थ्य साक्षरता” देखिएको, जसले औषधि सेवनमा हेल्चक्र्याइँ र स्वहेरचाह कम भएको पाइएको छ ।
प्रतिष्ठानमा पहिचान भएका मधुमेह रोगीमध्ये लगभग ५०% बिरामी नियमित फलोअपमा आउने गरेको पाइएको प्रतिष्ठानले जनाएको छ । अध्ययनले कारणहरू पनि पत्ता लगाएको छ । पहुँचको समस्या (जसले बिरामीलाई क्लिनिकमा जान कठिनाइ), उमेर, समय व्यवस्थापन, आर्थिक अवस्था आदिले फलोअपमा जान समस्या भएको अध्ययनले देखाएको छ ।
प्रतिष्ठानले बालरोग विभागमा बच्चाहरूलाई हुने मधुमेह रोग व्यवस्थापनका लागि निःशुल्क इन्सुलिन र औषधि व्यवस्थापन गर्दै आएको विशेष मधुमेह विभाग हेर्दै आएका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले जानकारी दिए । प्रतिष्ठानमा हालसम्म एक सयभन्दा बढी बालबालिकामा मधुमेहको पहिचान भएको छ । उनीहरूले प्रतिष्ठानबाट नियमित सेवा लिइरहेको डा. सिंहले बताए ।
बिरामी शिक्षा आवश्यक
स्वास्थ्य साक्षरता अध्ययनका अनुसार केही बिरामीहरूलाई मधुमेह सम्बन्धी ज्ञान सीमित छ । त्यसैले प्रतिष्ठानमा पनि बिरामी शिक्षा र परामर्श अझ आवश्यक भएको चिकित्सकहरूको सुझाव छ । स्व–हेरचाह, औषधि नियमित सेवन, जीवनशैलीलगायतका कुरा पालनका लागि सचेतना आवश्यक भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
धरान उपमहानगरपालिकाले नसर्ने रोज जस्तैः मधुमेह, उच्चरक्त चाप, मुटु मिर्गाैलालगायतका बिरामीका लागि कार्यस्थलमा अर्थात् घरघरमा पुगेर परीक्षण गरिरहेको उनले बताए । आगामी फागुन महिनामा स्थानीय तहले ‘नसर्ने रोग पहिचान अभियान’ भनेर विशेष अभियान चलाउने उनले जानकारी दिए । नसर्ने रोग पहिचान, विशेष खानपान, स्वहेरचाहलगायतका सचेतनाका लागि सङ्घीय सरकारको ३ लाखसहित उपमहानगरले थप तीन लाख बजेट विनियोजन गरी काम गरिरहेको छ । साथै, नियमित क्लिनिक फलोअपमा बिरामीहरूलाई जीवनशैली, डायबिटिज म्यानेजमेन्ट र जटिलताहरूका बारेमा जानकारी आवश्यक भएको उनको भनाइ छ ।
मधुमेह नियन्त्रण गर्न नसक्ने अवस्थामा मुटु, मिर्गौला, आँखाको समस्या, स्नायुहरूमा असर पर्न सक्छ । मधुमेह साइलेन्ट किलर भएकाले कसैले पनि हेल्चेक्र्याइँ गर्नु हुँदैन । खानपानमा विशेष ध्यान पुर्याउनु पर्दछ ।
प्रा.डा. रोविन मास्के
विभागीय प्रमुख इन्टर्नल मेडिसिन विभाग, बी.पी. प्रतिष्ठान
.............................
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बालरोग विभागमा बच्चाहरूलाई हुने मधुमेह रोग नियन्त्रणका लागि निःशुल्क इन्सुलिन र औषधि व्यवस्थापन गरिँदै आएको छ ।
डा. अरुणकुमार सिंह
बालरोग विशेषज्ञ बी.पी. प्रतिष्ठान, मधुमेह क्लिनिक
.............................
नसर्ने रोग पहिचान, विशेष खानपान, स्वहेरचाहलगायतको सचेतनाका लागि सङ्घीय सरकारको ३ लाखसहित उपमहानगरले थप तीन लाख बजेट विनियोजन गरेर काम गरिरहेको छ ।
उमेश मेहता
स्वास्थ्य महाशाखा प्रमुख, धरान उपमहानगरपालिका
































