धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका प्रा.डा. सञ्जीवकुमार शर्मा वैज्ञानिकको सूचीमा परेका छन् । सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा उनी पनि परेका हुन् । उनी हाल केही दिनका लागि अमेरिकामा छन् । उक्त सूचीमा ३१ जना नेपाली वैज्ञानिकहरू परेका थिए । जसमध्ये बीपीबाट प्रा.डा. शर्मा परेका हुन् । यता शर्माले भने विभिन्न रोगहरूको विगत २०–२५ वर्षदेखि अध्ययन अनुसन्धान गर्दै आएका छन् । विश्व स्वास्थ्य सङ्गठनमा सर्पदंशसम्बन्धी नेपालको प्रतिनिधिको रूपमा कार्यरत छन् । 

प्रा.डा. शर्माले विभिन्न पब्लिकेसन हेरेर यस पटक विश्वको टप २ प्रतिशतमा पर्न सफल भएको बताए । “डाक्टरी अनुसन्धानमा पाएको हुँ । ठूल्ठूला अनुसन्धान गरेको छु । सर्पदंशको उपचार पद्दति नै चेन्ज गरेको छु” उनले भने, “त्यसबाहेक बाथ, मुटुरोग, मिर्गौला आदिमा पनि अनुसन्धानहरू गरेको छु ।”

यस्तै विगतमा बीपीमै कार्यरत रहेका प्रा.डा. सुमन रिजाल पनि वैज्ञानिकको सूचीमा परेका छन् । हाल उनी विश्व स्वास्थ्य सङ्गठनको सर्ने रोगसम्बन्धीका निर्देशकको रूपमा भारतको दिल्लीमा कार्यरत छन् । उनी लामो समयसम्म कालाजारसम्बन्धी रोगको अध्ययन अनुसन्धान गरेको प्रतिष्ठानका प्रा.डा. नारायण भट्टराईले जानकारी दिए । उनी बीपी प्रतिष्ठानमा इन्टरनल मेडिसिनमा कार्यरत रहेका थिए । उनी सङ्क्रामक रोगसम्बन्धीका विशेषज्ञ चिकित्सकका रूपमा थिए । करिब १० वर्षअगाडि बीपी प्रतिष्ठान छाडिसकेका छन् । 

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले ‘एल्सेभियर’ सँगको सहकार्यमा वार्षिक रूपमा वैज्ञानिकको सूची तयार पार्ने गरेको छ । वार्षिक ग्लेबल ¥याङ्किङमा यस पटक ३१ जना नेपाली परेका छन् । विभिन्न महत्पूर्ण कार्य गरेको आधारमा वैज्ञानिकको सूची तयार पारिने गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिक डा. निरञ्जन कोइरालाका अनुसार विश्वविद्यालयले हरेक वर्ष विश्वभरिका वैज्ञानिकको सूची तयार गर्ने गरेको छ । डा. कोइराला पनि वैज्ञानिकको त्यही सूचीमा परेका छन् ।