भद्रपुर । डग स्न्यापिङका क्रममा झापाको मेचीनगरमा १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर –७ बस्ने बर्ष १३ का सन्थाल समुदायका एक बालक , सोही ठाउँ बस्ने बर्ष १४ का बस्नेत थरका अर्का बालक , वडा नं ९ बस्ने बर्ष २४ का राजु चौधरी , वडा नं १० बस्ने बर्ष २२ का सुनिल साह, सोही ठाउँका बर्ष २० का अनिल साह, बर्ष ३१ का थारुक आलम, बर्ष २१ का माफिज आलम, वडा नं ११ बस्ने बर्ष २४ का बिशाल चौधरी, बर्ष २८ का विवेक चौधरी ,बुद्धशान्ति –३ बस्ने बर्ष २६ का निपुल लिम्बू , सोही ठाउँ बस्ने बर्ष २६ का आकाश तामाङ र वडा नं ४ बस्ने बर्ष २३ का विवेक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको विवरण अनुसार बिहीबार दिउँसो मेचीनगर –१०खयरडाँगी छोटा पाकिस्तानतबाट दुईवटा कुकुरको सहयोगमा डग स्नापिङ सुरु गरिएको थियो । सम्भावित अपराध रोकथाम, लागूऔषध नियन्त्रण, पहिचान तथा न्यूनीकरण गर्ने उद्धेश्यले गरिएको डग स्न्यापिङका क्रममा त्यति धेरै लागूऔषध प्रयोगकर्ता पक्राउ परेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी अनुसन्धान भइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा धरानबाट डग स्न्यापिङ टोलीले सम्भावित ठाउँहरुमा खोजी गरेको उनले जनाए । प्रहरीले दैनिक रुपमा लागूऔषध प्रयोगकर्ता पक्राउ गरिहेपनि नियन्त्रणमा आउन सकेको छैन ।