नेकपा एमाले एकता गर्न बनेको कार्यदलले संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको ‘स्पिरिट’विपरीत हुने भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट पछि हटेपछि माधव नेपालले एक्लै भए पनि मत दिने बताएका छन् ।
माधव नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भने पनि विश्वासको मत दिने पक्षमा रहेको बताएका थिए ।
नेता नेपालको अभिव्यक्तिपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने छलफल भएको बताइएको छ । माधव समूहमै दुईथरी मत आएपछि नेता नेपालसहितका अधिकांश सांसदले मत दिने भएका छन् ।
झलनाथले विश्वासको मत दिन आह्वान गरिसकेका छन् । कार्यदलमै रहेका घनश्याम भुसाल पनि संसद जोगाउन आफूहरू अदालत गएकाले त्यसको पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् ।
माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।
कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे बमोजिम संस्थागत निर्णयको पक्षमा बोलेका छन् ।
भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतार–हतार विश्वासको मत लिन खोजिएको र देउवा–प्रचण्डको नियत एमाले फुटाउने प्रष्ट देखिएको बताएका थिए ।
एमालेले देउवालाई विश्वासको मत दिनेहरू एमाले नरहने निर्णय गरिसकेको छ । तर, माधव नेपालसहित सांसदहरू मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्कालगायतले विश्वासको मत दिने भएका छन् ।