धरान–१२ स्थित मेघा कलेजले यसै शैक्षिक सत्रबाट प्लस टु तहमा खाद्य तथा पोषण विज्ञानको अध्ययन गराउन सुरु गर्दै छ । प्लस टु तहमा पहिलोपटक धरानमा यो विषय मेघा कलेजले ल्याएको दाबी पनि गरेको छ । नेपालमा अन्यत्र प्लस टु तहमा खाद्य तथा पोषण विज्ञानको पढाइ हुने गरेको थिएन । नेपालमा स्नातक तहबाट मात्रै खाद्य तथा पोषण विज्ञानको पढाइ हुने भएकाले तल्लो तहबाटै विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने उद्देश्य राखेर सुरु गरेको छ । यसै विषयमा मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेसँग ब्लाष्टकर्मीले गरेको कुराकानीको सम्पादित अंशः

प्लस टु तहमै खाद्य तथा पोषण विज्ञान विषय किन ल्याउनु भएको हो ?
–अरू विषय सामान्यतः चलिरहेकै हुन्, खाद्य तथा पोषण विज्ञान नयाँ तथा नौलो साथै सामाजिक तथा स्वास्थ्यलाई पनि केही टेवा पुगोस् भन्ने उद्देश्यले प्लस टु तहबाटै खाद्य तथा पोषण विज्ञान ल्याएका हौं । सामाजिक तथा स्वास्थ क्षेत्रमा दिन प्रतिदिन बढ्दै गइरहेको समस्यालाई यस विषयले प्रत्यक्ष रूपमा सुधार ल्याउने कुरामा हामी विश्वस्त छौँ । प्लस टु तहबाटै स्वास्थ्य तथा खाद्यान्नको बारेमा विद्यार्थीहरू जानकार रहने र स्वस्थ रहन अग्रसर हुनेछन् भन्ने कुरामा पनि हामी विश्वस्त छौँ ।

खाद्य तथा पोषण विज्ञान पढाइ पूरा गर्न एउटा विद्यार्थीलाई कति खर्च लाग्छ ? 
–सामन्यतः यो नयाँ र पृथक विषय भएकाले यसमा प्रयोगात्मक पक्ष अरूमा भन्दा ज्यादा भए तापनि अभिभावकवर्गलाई आर्थिक बोझ नपर्ने गरी सामान्य विज्ञान सङ्कायको हाराहारीमा नै खर्च हुने गरी यस विषयलाई पनि अध्ययन गराउने कलेज परिवारले निधो गरेको छ ।

खाद्य तथा पोषणमा स्नातक गरेकाहरूले नै जागिर नपाएको अवस्था छ भन्ने व्यापक कुरा आउँछ, अनि प्लस टु का जनशक्तिको बजारमा सम्भावना होला ? 
–यस विषयको अध्ययन गर्नेहरूले जागिर नै नपाएको भन्ने कुरा गलत हो र म आफै पनि यसै विषयको क्षेत्रमा आबद्ध रहेकाले बेरोजगार हुन्छन् जस्तो लाग्दैन । जागिरको सवालमा कुनै पनि विषय अध्ययन गर्दा विद्यार्थीलाई कति हदसम्म प्रयोगात्मक विषयहरूमा अध्यापन गराइन्छ साथै विद्यार्थीहरूको सिकाइ, भोगाइ र गराइमा नै भविष्य सुनिश्चित रहेको हुन्छ ।

प्लस टु तहमा नेपालमै पहिलो भन्नुहुन्छ, यसअघि अन्यत्र थिएनन् ? 
–स्नातक तहमा चाहिँ पहिलेबाटै ‘केन्द्रीय प्रविधि क्याम्पस धरान’ मा यो विषय अध्यापन भइरहेको थियो तर, प्लस टु तहमा नेपालमै पहिलोपटक यस धरान मेघा कलेजबाट अध्यापन गराउन लागेका हौं ।

कोरोना महामारीका कारण भौतिक अध्यापन निकै नै असहज बनेको अवस्थामा तपाईंको कलेजमा नयाँ–नयाँ विषयहरू ल्याइरहनुभएको छ, पढाइ सम्भव होला ? 
–कोरोना महामारीको त्रासको प्रभाव सबै क्षेत्रमा उत्तिकै रहेको छ । तथापि गाँस, बास र कपास जीवनको आधारभूत आवश्यकता हो । त्यसरी नै  शिक्षा पनि यसै अन्तर्गत पर्दछ । कोरोना महामारीका कारण भौतिक अध्यापन अरू विषय र क्षेत्रमा झैं असहज रहेको अवस्थामा प्रविधिको माध्यमबाट गराइने र सहजता भए लगत्तै विषयगत प्रयोगात्मक पक्षहरू भौतिक दूरी कायम गरी अध्यापन गराइनेछ |

कोरोनाले शिक्षालयलाई धरासायी बनाइरहेको अवस्था छ, अर्कातिर तपाईंहरूले निकै खर्च गरेर ल्यावहरू बनाउनुभएको छ नि ?
–कोरोनाको महामारीले नेपालको मात्र नभएर संसारभरिको शिक्षा क्षेत्रमा असर त पारिरहेको नै छ । नयाँ र पृथक विषय पहिलोचोटी साथै यस धरान मेघा कलेजले पहिलोपल्ट प्लस टु स्थापना गरेको हुनाले पनि अरू तहभन्दा केही पृथक र उत्कृष्ट साथै व्यवस्थित ल्यावहरू बनाइएको र अन्त्यमा विद्यार्थीहरूलाई अध्यापन गराउँछु भन्दा पनि अध्यापन गर्नलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू खर्चिएर ल्यावहरू पूर्णरूपले निर्माण गरिएको छ ।

अन्त्यमा ? 
–शैक्षिक क्षेत्रमा भइरहेको विभिन्न किसिमका व्यावसायिक विकृति र विसङ्गतिलाई चिर्दै समाजसेवालाई आत्मसात गरेर गुणस्तरीय शिक्षाका लागि यस धरान मेघा कलेज सम्पूर्ण अभिभावक तथा बुद्धिजीवी वर्गलाई विश्वस्त दिलाउन कुनै पनि कदममा पछि नहट्नेमा जोड दिन चाहन्छौं । साथै सम्पूर्ण अभिभावकहरूलाई यसै कुरालाई मध्यनजर गर्दै एकपल्ट क्याम्पसको ल्याव साथै अरू विभिन्न कुराहरूको अवलोकन गरिदिनुहुन आग्रह गर्दछौं ।