• अष्ट्रेलियाले डेल्टा भेरिएन्टलाई लिएर दुईसाता बन्दाबन्दी,
  • भारतको १० राज्य अहिले पनि उच्च जोखिममा

धरान । कोरोना भाइरसको नयाँ म्यूटेन्ट डेल्टा तेस्रो वेभ बन्ने जोखिम उच्च रहेको विज्ञहरुले औल्याएका छन् । 

डेल्टा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट हो । यो भेरिएन्टलाई लिएर तेस्रो वेभ आउन सक्ने खतरा औल्याइएको हो । डेल्टा भेरिएन्टको जोखिमलाई लिएर अष्ट्रेलियामा दुई साताका लाग बन्दाबन्दी गरिएको छ । 

विभिन्न विदेशी सञ्चारमाध्यमका अनुसार अष्ट्रेलियाको सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा बन्दाबन्दी गरिएको हो । न्यू साउथ वालेसमा पाँचजनाभन्दा बढी हिँड्न नपाउने गरी बन्दाबन्दी गरिएको छ । मास्कलाई घरभित्र र बाहिर पनि अनिवार्य गरिएको छ । 

अन्तर्राष्ट्रिय उडानमार्फत् अष्ट्रेलिया भित्रिएका अहिलेसम्म ८० जनाभन्दा बढीलाई डेल्टा भेरिएन्ट भएको पुष्टि भएको छ । 

अष्ट्रेलियामा अन्य देशको तुलनामा सामाजिक दूरी, सीमा नाका बन्दलगायतका कारणले हालसम्म ३० हजार ४०० संक्रमित भएका छन् भने कोरोना भाइरसका कारण ९१० जनाको मृत्यु भएको छ । 

यता भारतमा डेल्टाकै कारण लाखौंको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भारतमा ४८ हजार ६९८ संक्रमित देखिएका छन् । १० वटा राज्य अहिले पनि उच्च जोखिममा रहेको जनाइएको छ । 

भारतमा २ करोड ९८ लाख २३ हजार ५४६ जना संक्रमित पुष्टि भइसकेको छ भने ३ लाख ८५ हजार १३७ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ७ लाख ६० हजार १९ रहेको छ । 

डेल्टा भेरिएन्ट सबैभन्दा सुरुमा बेलायतमा मध्य एप्रिलमा देखा परेको थियो । त्यसको दुई महिनापछि भारतमा देखा परेको हो । डेल्टालाई बी.१.६१७.२ का रुपमा पनि चिनिन्छ । डेल्टालाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि सतर्क रहन चेतावनी दिएको छ ।  

डेल्टा भेरिएन्टको प्रभाव नेपालमा पनि परेको छ । खुल्ला सीमा नाकाका कारण नेपालमा पनि डेल्टा भेरिएन्टका संक्रमितहरु दैनिक देखिन थालेको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । डेल्टा विश्वको ८५ वटा देशमा फैलिसकेको छ । यो भेरिएन्टको संक्रमण दर ६० प्रतिशत रहेको बताइन्छ । 

बेलायतमा प्रमाणित भएको एल्फा भेरिएन्ट भन्दा संक्रमण फैलिने दर डेल्टामा बढी छ । एल्फालाई बी.१.१.७ को नाममाले पनि जानिन्छ । एल्फाभन्दा डेल्टाको संक्रमण दर पनि बढी रहेको विज्ञहरुले बताएका छन् । एउटा मात्रै डोज खोप लिएकाहरुमा अध्ययन गर्दा एल्फामा ५० प्रतिशत काम गरेको पाइएको थियो भने डेल्टा संक्रमितमा ३३ प्रतिशत मात्रै काम गरेको पाइएको छ । 

नेचर डटकमका अनुसार दुवै डोज खोप लगाएकाहरुमा एल्फामा ६६ प्रतिशत काम गर्दा डेल्टा भेरिएन्ट भेटिएका संक्रमितमा ६० प्रतिशत मात्रै काम गरेको पाइएको छ । डब्ल्यूएचओले पनि डेल्टाको संक्रमण दर अन्यको तुलनामा उच्च रहेकाले सतर्क रहन भनेको छ । 

तीव्र गतिमा फैलिने भएकाले सतर्कता अपनाउन भनिएको छ । उसले ८५ वटा देशमा फैलिसकेको बताएको छ । शुक्रबारको पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्र्देशक टेर्डोज गेब्रिसियसले डेल्टाको प्रभाव बढ्दै गएकाले गरिब देशहरुलाई खोप दिनका लागि आग्रह गरे । 

नेपालमा पनि दैनिक २ हजार भन्दा बढी संक्रमित पुष्टि भएका छन् । नेपाल पनि डेल्टा भेरिएन्टबाट प्रभावित बनेको छ । शनिबार मात्रै नेपालमा ३० जनाको मृत्यु भएको थियो भने २ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । बेलायतबाट प्रकाशित डेल्ली मेल अनलाइनले केही समय अघि ‘नेपाल भेरिएन्ट’ भेटिएको दाबी गरेको थियो । तर, डब्ल्यूएचओले हालसम्म नेपाल भेरिएन्ट भनेर पत्ता नलागेको जवाफ दिएको थियो । 

हिमाल चढ्न आएका विदेशी नागरिकहरु आफ्नो देशमा फर्किएपश्चात् पीसीआर जाँच गर्दा केहीलाई कोरोना पुष्टि भएको थियो । जसमा जापानिज नागरिक पनि रहेका थिए । जसलाई आधार मानेर डेल्ली मेलले नेपाल भेरिएन्ट भनी बताएको थियो । एप्रिल २६, २०२१ मा नेपालबाट गएका ५ जना घुमन्तेमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यो बेलामा कम्तीमा ३६ जना घुमन्तेमा कोरोना भाइरस पुष्टि भएको थियो । जसलाई नेपाल भेरिएन्ट भनी बताइएको थियो ।