धरान । कमजोर अवस्थामा रहे पनि ‘यास चक्रवात’ को प्रभाव नेपालमा निरन्तर जारी छ । भारतको उडिसा र पश्चिम बंगाल राज्यमा सबैभन्दा बढी प्रभाव पारेको ‘यास’ ले नेपालमा भने निरन्तर वर्षा भइरहेको छ । 

नेपाल भूपरिवेष्ठित देश भएका कारणले पनि ‘यास’ चक्रवातबाट प्रत्यक्ष प्रभावित हुन नसके पनि मौसममा आएको बद्लावले नेपाललाई असर गरिरहेको हो । दुई दिनदेखि कालो बादलसहित वर्षा भइरहेको छ । निरन्तर वर्षा भएमा बाढी पहिरो जाने सम्भावना बढ्न सक्छ । बाढी आएमा खेतीयोग्य जमिनहरू काटिने र क्षति हुने अनुमान गरिएको छ । चट्याङ, हावाहुरी र मेघगर्जनसहितको वर्षा आएमा त्यसले गम्भीर असर गर्ने जनाइएको छ ।  

भारतको उडिसा र बंगाल राज्यमा मानवीयसँगै भौतिक क्षति भएको थियो । यास चक्रवातलाई भारतमा निकै विनासकारी मानिएको छ । प्रतिघण्टा १२० देखि १४० किलोमिटर रफ्तारमा चक्रवात आएको मानिन्छ । पश्चिम बंगाल प्रशासनका अनुसार १५ लाख मानिस प्रभावित बनेका छन् । चक्रवातका कारण एकजनाको ज्यान गएको छ । पश्चिम बंगालका मुख्यमन्त्री ममता वेनर्जीका अनुसार ३ लाख घरमा क्षति पुगेको छ । बंगालको १३४ वटा तटबन्धमा क्षति पुर्याएको छ । 

विशेष गरी त्यहाँको कृषि, मत्स्यपालन, पशुपालन, विद्युत् र बागवानी बढी क्षति पुर्याएको छ । चक्रवातका कारण समुन्द्रका पानी गाउँगाउँमा छिर्दा अहिले बाढीको जोखिम पनि उस्तै रहेको छ । सोही यास चक्रवातका कारण नेपालमा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । नेपालको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरिसकेको छ । नेपालमा प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । 

yass_typhoon_effect_nepal_one

महाशाखाको बेवसाइटका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को राजधानी विराटगरमा ३४.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै ताप्लेजुङमा २८.४, धनकुटामा ३५.४ मिलिमिटर वर्षा भएको छ । प्रदेश २ को जनकपुरमा ४३.६ मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार आज दिनभरि प्रदेश १, ३, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहितको भारी वर्षा हुने अनुमान गरिएको छ । 

महाशाखाले भनेको छ, ‘यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई हाल गहिरो न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको छ । उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा नेपालको भूभागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

विभागकी मौसमविद् शान्ति कँडेलका अनुसार बंगालको खाडीमा बनेको यास चक्रवातले नेपालमा केही दिनदेखि नै असर गरिरहेको भए पनि अहिले न्यून चापीय क्षेत्र (कमजोर) को रूपमा रहेको छ । तर, यसले लुम्बिनी प्रदेशदेखि प्रदेश १ सम्म केही स्थानमा भारी वर्षा र केही स्थानमा मध्यम वर्षा गराइरहेको छ । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात गराइरहेको छ । उनका अनुसार इलाम, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, बारा, नवलपरासीमा भारी वर्षा भइरहेको छ । अन्य क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।

प्रदेश १ मा आइतबारसम्म पनि वर्षाको सम्भावना रहेको छ । ‘भोलिबाट केही मात्रामा सुधार हुने देखिन्छ’ उनले फोन सम्पर्कमा भनिन्, ‘प्रदेश १ र २ मा भने आइतबार पनि वर्षा हुने सम्भावना छ ।’ चक्रवात विशेष गरी समुन्द्रमा बनेर जमिनमा आउने भएकाले विशेष गरी सामुन्द्रिक क्षेत्रलाई मात्रै बढी असर गर्ने मौसमविद् कँडेल बताउँछिन् । नेपालमा भने यसको प्रभाव बाढी पहिरो, भूक्षय हुन सक्ने सम्भावना बढ्छ भने हिमपातका कारण पर्वतारोहीलाई फर्किनमा समस्या हुन सक्ने, स्वास्थ्यमा संकट आउन सक्ने सम्भावना छ । 

बाढी पहिरोको सामान्य असरहरू देखिन थालिसकेको छ । प्रदेश १ मा रहेको सबैभन्दा ठूलो नदी कोशीमा आएको बाढीले कटान सुरु भइसकेको छ । खेतीयोग्य जमिन कटान गरिरहेको छ । कोशी कटानको सबैभन्दा ठूलो असर २०६५ भदौं २ गते परेको थियो । अग्रज पत्रकार महेश श्रेष्ठका अनुसार ५ हजार ५ सय हेक्टर जमिन बगेको थियो । उक्त कटान भएको क्षेत्र कोशीको पुलबाट डेढ किलोमिटर माथि कटान भएको थियो ।