धरान । टङ....टङ...टङ...एकनासले घण्टी बजिरहेको छ । पूजा सुरु भएपछि अन्त नभइञ्जेलसम्म बूढासुब्बा मन्दिरमा बज्ने घण्टीको आवाजले विशेष पूजाको संकेत बुझ्न स्थानीयलाई कुनै गाह्रो पर्दैन । 

बुधबार मन्दिरमा यसरी नै निकैबेर घण्ट बजिरह्यो । करिब १० मिनेटसम्म बजेको घण्टले पूजा भइरहेको संकेत गरिरहेको थियो । वैशाख पूर्णिमा अर्थात उभौली पर्वका दिन बूढासुब्बामा विशेषपूजा हुन्छ ।

‘आज बूढासुब्बा जन्मिएको दिनको रूपमा लिइन्छ, बूढासुब्बा सभ्भार एवम् संरक्षण समितिका अध्यक्ष तथा पुजारी अशोक आले भन्छन्, ‘जसरी राम नवमीको दिन रामको पूजा गरिन्छ, कृष्ण अष्टमीको दिन कृष्णको पूजा गरिन्छ । त्यसरी नै बूढासुब्बाको पनि चण्डी पूर्णिमा जन्माष्टमी हो । जसलाई उभौली पूजा पनि भनिन्छ । यो दिन विशेष पूजा हुन्छ ।’

bhudasubba_dharan_one

यस दिन विशेष पूजा हुन्छ । दिनभरि मेला लाग्छ । तर, अहिले कोरोना महामारीका कारण पुजारीको घरबाट मात्रै बली दिँदै आइएको छ । चण्डी पूर्णिको दिन भाले, पोथी कुखुरा र हाँसको बली दिइन्छ । वर्षमा तीनपटक विशेष पूजा हुन्छ ।

दशैंको महानवमीको दिन र चैते दशैंको अघिल्लो दिन अर्थात् राम नवमीको दिन । यी दुई दिनमा सुँगुरको पनि बली दिने चलन छ । अन्य बेला भने भक्तजनहरूले ल्याएका कुखुरा, हाँसको बली दिने चलन छ । 

वैशाखे पूर्णिमाका दिन बूढासुब्बामा भव्य मेला लाग्ने गरेको छ । यहाँ चार किरात आएर ढोल, झ्याम्टा, च्याब्रुङ बजाउने चलन छ । यस दिन झण्डै चार बजेसम्म बली दिने चलन छ । तर, अहिले महामारीका कारणले रोकिएको पुजारी अशोक आले बताउँछन् । पूर्णिमाको अघिल्लो दिन बूढासुब्बामा भएको बाँस काट्ने चलन छ । त्यहीँ दिनमात्रै हतियार लगाइने गरिएको छ । त्यही बाँसले बूढासुब्बा र सुब्बेनीको मन्दिर छाउने प्रचलन थियो । चौधौं पुस्तासम्म बाँसको भाटाले मन्दिर छाउने गरिन्थ्यो । 

तर, पछिल्लो दुई पुस्ता यता भने मन्दिरमा पूर्णरूपमा सिमेन्टेड गरिएका कारण छाउन छाडिएको छ । बाँस काट्ने चलनलाई भने यथावत राखिएको छ । यस दिन काटिएका बाँस विजयपुरवासीले घर घरमा लगेर पूजा कोठामा राख्ने गरेका छन् ।

पूजा कोठामा बाँस राखिनुलाई वास्तुको हिसाबले पनि उत्तम मानिन्छ । वास्तुका हिसाबले पूजा कोठाको इसान कोणमा बाँस राखेमा फलिफाप हुने विश्वास गरिन्छ । तर, पूजा स्थलमा भने बाँसबाट बनेको बाँसुरी राखिने चलन पूर्वीय सभ्यतामा व्यापक रहेको छ । 

पिण्डेश्वर विद्या पीठ धरानका ज्योतिस शास्त्रअन्तर्गत सहायक प्राध्यापक अम्बरराज ढकालका अनुसार पूर्वीय सभ्यतामा इस्ट देवतालाई खुसी बनाउनका लागि बाँसुरी राख्ने चलन छ । शंख, घण्ट, बाँसुरीलगायतका बाजा बिहान बेलुकाको समयमा बजाउने चलन रहेको छ । 

यता बूढासुब्बाको बाँसको चाहिँ ऐतिहासिक र सांस्कृतिक महत्त्व रहेको उनको भनाइ छ । बूढासुब्बाको बाँसको टुप्पाबाट मुरली बनाउन प्रयोग गरिन्छ भने चण्डी नाँच अर्थात् साकेला नृत्य गर्दा ढोल बजाउनका लागि बाँस गजोको रूपमा प्रयोग गरिन्छ ।

‘कुल देवतालाई खुसी बनाउनकै लागि ढोल बजाइने चलन किराती संस्कृतिमा छ, बाँसलाई गजोको रूपमा प्रयोग गरिनका लागि वैशाखे पूर्णिमाको अघिल्लो दिन बाँस काटिन्छ ।’

bhudasubba_dharan

बूढासुब्बामा काटिएको बाँसलाई प्रसादका रूपमा गाउँलेहरूले घरघरमा लग्ने चलन छ । जसलाई रक्षाकवचको रूपमा लिइन्छ । ‘धनुषबाट बाँसको उत्पत्ति भएकाले त्यो बाँस चाहिँ रक्षाकवचको निमित्त राख्ने चलन छ’ स्थानीय प्रेमप्रसाद पराजुली भन्छन्, ‘प्रसादको रूपमा टुक्राटुक्रा गरेर राखिन्छ ।’ चण्डी पूर्णिमाको दिन मूल पुजारीको घरमा पूजाआजा गरेर निशानसहित ढोलझ्याम्टासहित बूढासुब्बा मन्दिरसम्म ल्याइने गरिन्छ । 

वैशाखे पूर्णिमाको अघिल्लो दिन काटिएको बाँसबाटै मन्दिर सिगार्ने चलन पनि रहेको छ । अन्य बेला काट्न नहुने बाँस त्यो दिन बूढासुब्बासँग माफी मागेर फुकुवा गरी हतियार लगाउने चलन बाजेपुस्ताहरूबाटै हुँदै आएको पूजारी अशोक आले बताउँछन् ।