धरान । कोरोनाबाट संक्रमण भएर ज्यान गुमाएकाहरुको शव व्यवस्थापनबारे नेपाल सेनाले प्रदेश १ को तीन स्थानमा तालिम प्रदान गरिरहेको छ । त्यसअन्तर्गत सुनसरीको इटहरीस्थित रंगशालामा आज (सोमबार) बाट तालिम सुरु भएको छ । 

चार दिनसम्म सञ्चालन हुने तालिममा सुनसरीका १० जना युवा लिडर सहभागी छन् । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय प्रदेश १ विराटनगरको आयोजनामा तालिम सुरु भएको हो । सुनसरीबाहेक मोरङको विराटनगरमा जेठ ८ गतेबाट र झापाको चन्द्रगढीमा जेठ ९ गतेबाट तालिम सुरु भएको हो । 

तालिमको पहिलो दिन कोरोना भाइरसको आधारभूत ज्ञानसहित होम आइसोलेसन, संस्थागत आइसोलेसन, अस्पतालमा हुने आइसालेसनका बारेमा जानकारी गराइएको प्रदेश सदस्य हेमन्त भण्डारीले जानकारी दिए । 

scout_Ithari_dead_body_management_traning

उनका अनुसार शव व्यवस्थापन गर्दा अपनाउनुपर्ने प्राविधिक र आधारभूत ज्ञानबारे जानकारी हुनेछ । नेपालमा संक्रमण दर र मृत्यु हुने दर बढिरहेकाले पनि भोलि आउनसक्ने विषम परिस्थितिलाई मध्यनजर गर्दै तालिम प्रदान गरिएको हो । हालसम्म सुनसरीमा इटहरीस्थित नेपाली सेनाको युनिटले पहिलो कोरोना महामारीका बेला १४५ वटा शव व्यवस्थापन गरेको थियो भने दोस्रो कोरोनामा सोमबार (यो समाचार तयार पार्दासम्म) ४२ जनाको शव व्यवस्थापन गरिसकेको छ । 

तर, हालसम्म कोही कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको युनिटले जनाएको छ । युनिटका एक अधिकारीका अनुसार भोलिका दिनमा संक्रमण अझै बढ्दै गयो, मृत्युदर बढ्ने अवस्था आएपछि त्यो बेला सहयोगीको रुपमा भूमिका खेल्न सकियोस् भनेर नेपाली सेनाको सहकार्यमा तालिम दिइरहेको हो । ‘भोलि स्वयम्सेवकको रुपमा उहाँहरुले योगदान दिनुहुन्छ’ ती अधिकारीले भने । 

इटहरीमा सुरक्षित तरिकाले कसरी प्रक्रिया अगाढि बढाउने भन्ने विषयमा व्यवहारिक, अभ्यास र सैद्धान्तिक ज्ञान दिइरहेका छन् । सामान्यतः चार खाल्का शवको व्यवस्थापन गरिँदै आएको छ ।

सामान्यतः चार खाल्का शवको व्यवस्थापन गरिँदै आएको छ । अस्पतालमा, आइसोलेसन सेन्टरमा, होम आइसोलेसनमा र बेवारिसे शवको सही व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिइरहेको अवस्था छ ।

प्रदेश संयोजक रवि खनालका अनुसार दोस्रो कोरोना महामारीको समयमा होम आइसोलेसन र अस्पतालमा पनि मृत्युदर बढिरहेकाले भोलि हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै पूर्व तयारीका लागि जनशक्ति उत्पादन गर्न तालिम दिइरहेको हो । शव व्यवस्थापन गर्ने कुरा केही कठिन भएकाले पनि स्काउटले भोलि आउनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै मैदानमा परिचालित गर्ने उद्देशयका साथ तालिम भइरहेको हो । 

विराटनगरबाट १५ जना स्काउटर उत्पादन गरिएको छ भने झापामा १७ जनाले तालिम लिइरहेका छन् । विरानटगरबाट उत्पादितमध्ये केहीलाई आज मोरङको बेलबारीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न लगिएको भए पनि स्थानीय प्रशासन र स्थानीयले नै व्यवस्थापन गरेपछि आफूहरु फर्किएको बताए ।