धरान । पाकिस्तान भन्ने बितिक्कै हाम्रो मानसपटलमा कस्तो बिम्ब आउँला ? धेरैले भन्ने उत्तर हो, सैनिक शासन, जंगी शासन, हत्याहिंसा गर्न पछि नपर्ने देश । अर्थात् खतरानाक, डरलाग्दो देशको प्रतीकका रूपमा पाकिस्तानलाई लिने गर्छौं ।
कुनै बेला यस्तै प्रतीक तथा बिम्बको रूपमा धरान–१८ का केही चोकलाई लिइन्थ्यो । त्यसमध्येमा शिवमार्ग पनि एक थियो । जसलाई पुरानो तथा नयाँ बजारका युवाहरूले त्यस ठाउँलाई ‘पाकिस्तान’ भनी कोड वर्ड प्रयोग गर्थे । धरानको पाकिस्तान पुगेर आउने युवालाई निकै साहसिलो व्यक्तिका रूपमा लिइन्थ्यो । किनकि हरेक युवा शिवमार्ग, रत्नचोक, राँगा चोक (हाल रमाइलो चोक) मा पुगेपछि कुटाइ खाएर मात्रै फर्किन्थे ।
पुरानो तथा नयाँ बजारका युवाहरूमा तत्कालीन समयमा ‘स्ल्याङ वर्ड’ नै बनेको थियो, पाकिस्तान । २०४०–०४५ को बीचमा धरानका टोलटोलमा झैंझगडा हुन्थ्यो । एउटा टोलका युवाले अर्को टोलका युवालाई विभिन्न बहानामा कुटपिट गर्थे । त्यही निहुँमा अर्को ठूलै काण्ड हुन्थ्यो । अझ धरान ८ को भोटेपुल, धरान १८ को रत्नचोक र राँगा चोक झैंझगडा गर्ने हिसाबमा प्रख्यात मानिन्थ्यो । कट्टी, रड, साइकल र मोटरसाइकलका चेन बोक्ने चलन थियो । त्यस्ता बोक्ने युवा देख्दै डराउनुपर्ने स्थिति थियो ।
यी टोलहरूलाई खहरे खोलाले छुट्याएको थियो । खहरेभन्दा पूर्वका युवाहरू खहरेभन्दा पश्चिमपट्टि पुगेर आउनुलाई ठूलो साहस चाहिन्थ्यो । त्यो कालखण्डमा युवाहरू फुटबलका निहुँमा सबैभन्दा बढी झगडा गर्ने तत्कालीन समयबारे जानकार अग्रज पत्रकार भवानी बराल बताउँछन् । ‘रत्नचोक, भोटपुलका बीचमा लडाइँ हुन्थ्यो, फाइट खेल्थे । धेरै चाहिँ खेलकुदको विषयमा पथ्र्यो’ उनी भन्छन्, ‘सामान्यतः एउटा टोलको केटाले अर्को टोलको केटालाई कुटिदियो भने ग्याङ लिएर जाने र कुटेर या कुटाइ खाएर फर्किन्थे ।’
त्यो बेला बजार भनेको धरानको भानुचोक, पुरानो बजार मात्रै थियो । त्यही बजारले धरानको मात्रै प्रतिनिधित्व गर्दैनथ्यो । पूर्वका पहाडी जिल्लालाई पनि खाद्यान्नदेखि हरेकजसो सामग्री पुर्याउँथ्यो । त्यो बेलामा अन्य वडाका मानिसहरू पनि पुरानो बजार तथा नयाँ बजारमा खरिदबिक्रीका लागि जानुपर्ने बाध्यता थियो । धरान–१८, १९, १७ त्यो बेला गाउँजस्तै थियो ।
‘उताका केटाहरूले यताका केटाहरूलाई अलिक फरक ढंगले हेर्थे, अनि त्यहीँ निहुँमा हाम्रोतिर आउँलास् भनेर दागा धर्थे’ सानैदेखि शिवमार्गमा हुर्किएका व्यवसायी राजु श्रेष्ठ भन्छन्, ‘खहरे पारिकाले हामीलाई हेर्नै नसक्ने, हामी पनि उताकालाई हेर्नै नसक्ने ।’ उनका अनुसार त्यहीँ कारण पनि शिवमार्गलाई पाकिस्तान भनेको हुनुपर्छ । त्यतिमात्रै हैन, त्योबेला धरान १८ गाउँ नै थियो । दिउँसै स्याल कुद्ने, कुखुरा लिएर जाने समय थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु भएकै थिएन । ब्रिटिसको क्याम्प थियो । त्यो बेलामा बजारतिरका मान्छे यतातिर आउने काम नै नपर्ने भएकाले पनि हत्तपत्त नआउने उनी बताउँछन् ।
शिवमार्ग, रत्नचौक, राँगा चोकजस्ता टोलहरूमा पुगेर आउनुलाई निकै साहस जुटाउनुपथ्र्यो । ‘एक्लै जान सक्ने अवस्थै थिएन, गयो भने पाटपिट पारेर पठाइदिने’ हाल गरिमा विकास बैंकका शाखा प्रमुखसमेत रहेका पुरानो बजारका अनुज श्रेष्ठ भन्छन्, ‘खहरे कटेर जान एकदमै डर हुन्थ्यो । हामी त सानै थियौं । दाइहरू नै पनि डराउनु हुन्थ्यो ।’
खहरे पश्चिम पुगेर आएकाहरूले ‘पाकिस्तान पुगेर आएको’ भनी भन्ने चलन युवाहरूमा व्यापक रहेको उनी सुनाउँछन् । ‘पुरानो बजारका केटाहरू चाहिँ कहाँ हो भनेर सोध्यो भने पाकिस्तान भनेर जवाफ दिन्थे’ उनी भन्छन्, ‘राँगा चोक, शिवमार्ग, रत्नचोक भन्नेबित्तिकै त्यो अवस्था थियो ।’ तर जबजब प्रजातन्त्र आयो त्यसपछि भने धरानमा पनि टोलटोलमा झैंझगडा हुने कार्य बन्द हुँदै गयो । त्यहीँ झैझगडा पछि मण्डले, कांग्रेस, कम्युनिष्टबीचमा हुन थाल्यो ।
झैंझगडा पनि राजनीतीकरण हुन थालेको अग्रज पत्रकार बराल बताउँछन् । ‘टोले गुण्डाहरूबीच हुने झगडा पछि राजनीतीकरण हुन थाल्यो’ उनी भन्छन्, ‘पछि त मण्डले, कम्युनिष्ट, कांग्रेसबीच हुन थाल्यो ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएपछि भने पुरानो तथा नयाँ बजारका युवाहरू पनि सहज रूपमा शिवमार्ग, बुद्धचौक, रत्नचोक पुग्न थाले । विस्तारै नर्मलीकरण हुँदै गयो । ‘बीपी खोलिसके पछि आउजाउ हुन थाल्यो’ अनुज श्रेष्ठ भन्छन् । आज अवस्था फरक छ । विगतजस्तो धरानको अवस्था पनि फरक हुँदै गएको छ ।
यो हुनुका पछाडि हङकङको आइडीमा विदेशिन थाले । कोरिया पनि खुल्ला भयो । युवाहरू विस्तारै विदेशतिर पलायन भएपछि भने झैंझगडा मात्रै हैन, धेरै कुरा नियन्त्रणमा आउन थाल्यो । त्यस्तै प्रहरी प्रशासनको पहुँच पनि बढ्दै गयो । २०७० सालतिर शिवमार्गमा दुई समूहबीचमा गोलीकाण्ड नै भएको थियो । ती दुई समूह अहिले पनि एकअर्काका विरोधी छन् ।
त्यसयता भने धरान शान्त छ, आजपर्यन्त पनि धरान शान्त हुँदै गएको छ । कुनै बेला पुरानो तथा नयाँ बजारका युवाहरूमा रहेको ‘पाकिस्तान’ को बिम्ब पनि आज मिथक बनेको अवस्था छ । यो स्ल्याङ वर्ड अर्थात् कोड वर्ड आजको दिनमा करिब करिब युवाहरूले भुलिसकेका छन् । त्यो बेलामा युवाहरू आज बूढा भइसकेका छन् । कम्तीमा पनि ४० वर्ष पूरा गरिसकेका छन् ।
आज शिवमार्गको अवस्था फरक छ । शिवमार्गमा पार्क बनेको छ । रातको समयमा टहलिनका लागि पनि निकै उपयुक्त बनेको छ । जहाँ खुल्ला जिमहलको पनि व्यवस्था गरिएको छ ।