धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूलाई एक दिनअघि ‘कोभिडका बिरामी भर्ना नगर्नू’ भनी एकाएक सर्कुलर गयो । सर्कुलर पछि प्रतिष्ठानभित्र एकखाल्को तरङ्ग पैदा भयो ।
उक्त तरङ्ग प्रतिष्ठान हाताभित्रै सीमित रहेन, बाहिर पनि गयो । सरकारको मापदण्डअनुसार प्रतिष्ठानको कोभिड अस्पताल विशेष खाल्को हो । जहाँ १ सय बेड क्षमता छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार शुक्रबार साँझसम्म ५४ जना उपचाररत छन् । १५ वडा आइसियु, २५ वटा एचडियुसहितको सय बेड क्षमता हो ।
आजको दिनमा क्षमताअनुसारको बिरामी भर्ना भएको अवस्था छैन । तर, पनि किन एकाएक डाक्टरहरूलाई भर्ना नगर्नू भन्ने सर्कुलर पुग्यो त ? महाव्याधिको यस्तो विषमपरिस्थितिमा पूर्वको रेफरल सेन्टरको रूपमा परिचित प्रतिष्ठानले बिरामी भर्नालाई कम गर्नुको मुख्य कारण प्रतिष्ठानमा उत्पादन हुने अक्सिजन रहेछ । प्रतिमिनेट १६ लिटर उत्पादन क्षमता रहेको प्रतिष्ठानको अक्सिजन प्लान्ट दुई दिनअघि एकाएक बिग्रिएको छ । बिग्रिरहने यहाँको खानदानी समस्याजस्तै हो ।
एउटा युनिट लामो समयदेखि जसोतसो चल्दै आएको थियो भने अर्को युनिट पनि अहिले थिलथिलो अवस्थामा पुगेको छ । अक्सिजन प्लान्टबारे जानकारका अनुसार आजको दिनमा प्रतिष्ठानको अक्सिजन प्लान्टबाट प्रतिमिनेट दुईदेखि अढाई लिटर मात्रै अक्सिजन उत्पादन हुन्छ । जुन एकदमै न्यून हो । यसलाई प्रतिशतमा हेर्ने हो भने १५.६२५ मात्रै हो । प्रतिष्ठानमा भर्ना रोकिएकोबारे फोटो पत्रकार विकास राईको फेसबुक स्टाटस हेरौं ।
अक्सिजन लिइरहेका कोरोना संक्रमित बिरामीलाई पाँच मिनेट तलमाथि हुनु भनेको निकै खतरापूर्ण मानिने चिकित्सकहरु बताउँछन् । त्यसपछि पुनः पुरानै अवस्थामा ल्याउन निकै हम्मे पर्ने उनीहरु बताउँछन् । अर्को समस्या भने बीच बीचमा विद्युत् आउने जाने समस्या हुन्छ । लाइन जाँदा अटोमेटिक रुपमा प्रतिष्ठानको जेनेरेटर सञ्चालन हुन्छ, त्यसका लागि केही अवधि चाहिन्छ । विद्युत् आउने र जानेबीचको घच्याकघुच्चुकमा नै अक्सिजन लिइरहेका संक्रमितहरु जटिल समस्यामा पर्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
अक्सिजन प्लान्ट यो अवस्थामा आइपुग्नुको सबैभन्दा बढी दोष उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई जान्छ । प्लान्टलगायतको जिम्मेवारी गिरीले आफ्ना बुबाका साथीका छोरा इन्जिनियर राहुल मिश्रलाई दिएका छन् । मिश्र सिभिल इन्जिनियर हुन् । अक्सिजनलगायत मेडिकलका विभिन्न कुरालाई हेर्नका लागि बायोमेडिकल इन्जिनियरको आवश्यकता पर्छ । प्रतिष्ठानमा बायोमेडिकल इन्जिनियर पनि नभएका होइनन् । तर, उनलाई सामान्य जिम्मेवारी दिइएको अवस्था छ ।
नाम नछाप्ने शर्तमा एकजना जानकार भने ठेक्का नै त्रुटिपूर्ण भएको मान्छन् । उनका अनुसार उपकुलपतिको मिलिभगतमा कमसल सामग्री खरिद गरी जडान गर्ने र ती सामग्रीहरू गुणस्तरीय नहुँदाको परिणाम अहिले बीपीले भोगिरहेको छ ।
मिश्रलाई प्लान्टबाट हाल के कति उत्पादन भइरहेको छ भनेर बुझ्नका लागि उनको नेपाल टेलिकमको नम्बरमा ब्लाष्टकर्मीले धेरैपटक फोन गर्दा पनि उठाएनन् । जसले गर्दा अन्य स्रोतबाट प्लान्टको उत्पादनबारे जानकारी लिनुपर्ने अवस्था सिर्जना भयो । अन्ततः ब्लाष्टकर्मीले प्रतिमिनेट उत्पादन दर बुझ्नका लागि वैकल्पिक स्रोत प्रयोग गर्नुपर्यो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले अक्सिजन प्लान्टमा दुई दिनदेखि प्राविधिक समस्या आएको कुरालाई स्वीकार गरे । अहिले मर्मतको काम भइरहेकाले चाँडै नै फूलफेजमा सञ्चालनमा आउने उनले बताए ।
दुई दिनअघि प्रतिष्ठानका चिकित्सकहरूबाटै गुनासो पुगेपछि धरानका केही राजनीतिक दलका नेताहरू अक्सिजन प्लान्टको अनुगमनमा पुगेका थिए । त्यसबेलामा समस्या देखिएको अनुगमनमा सहभागी बनेका माओवादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुङ बताउँछन् । ‘हो हामी गुनासोको आधारमा पुग्दा त्यहाँ समस्या देखिएको थियो, त्यसलाई तत्काल सुधार गर्नुपर्छ भन्ने हामीले आवाज उठाएका छौं’ उनले फोनसम्पर्कमा भने ।
भर्ना नगर्नू भन्ने सर्कुलर गएकै छैनः सहप्रवक्ता
बीपी प्रतिष्ठानमा दैनिक ७ देखि ८ जना कोरोना संक्रमित बिरामीहरू भर्ना हुँदै आइरहेका थिए । तर, यसबीचमा न्यून संख्यामा मात्रै संक्रमितलाई भर्ना गरिएको अवस्था छ । यसको मुख्य कारण अक्सिजन नै रहेको बताइन्छ । एक स्रोत भन्छ, ‘अक्सिजन उत्पादन कम भएपछि बाध्य भएर सबै डाक्टरहरूलाई भर्ना नगर्नू भनेर सर्कुलर गरेको छ ।’ सर्कुलर भने लिखित रूपमा छैन । जसले गर्दा प्रतिष्ठानले आफ्नो बचाउ गर्न प्रसस्त ठाउँ पाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार भर्ना नगर्नू भन्ने कुनै पनि खाल्को सर्कुलर नभएको प्रतिक्रिया दिए । ‘भर्ना नभएको होइन, भइरहेका छन्, हिजै मात्र दुईजना भर्ना भएका थिएँ’ उनले भने, ‘त्यस्तो खाल्को सर्कुलर गएको छैन ।’
उनले घुमाउरो तरिकाबाट भने त्यसलाई पुष्टि गरेका छन्, ‘इमेरजेन्सीमा पनि कोरोना जस्तै लक्षण देखिने बिरामीको चाप छ, वार्डहरूमा पनि कोरोना देखिँदै गरेको अवस्था छ, बेडहरू खालि नभएको स्थिति छ, भर्ना भइसकेपछि अन्त लानुस् भनेर भन्न गाह्रो हुन्छ ।’ उनका अनुसार उत्पादन क्षमतामा कमी चाहिँ आएको हो, बिरामीका लागि अक्सिजन चाहिन्छ, त्यसका लागि ब्याकअप पनि चाहिने भएकाले त्यसको जोहोमा लागिरहेका छौं ।
जेठ २ गते एमालेकी सांसद् भगवती चौधरीले सानो खाल्का ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएकी थिइन् ।
प्रतिष्ठानको मूल समस्या अक्सिजन नै हो । अक्सिजनको अभावमा झण्डै ५० प्रतिशत बिरामीको ज्यान गइरहेको प्रतिष्ठानमै कार्यरत एक चिकित्सकले नाम नछाप्ने शर्तमा बताए । ‘अहिले कोरोनाका बिरामीले अक्सिजन नपाएकै कारणले बीपीमा ५० प्रतिशतको मृत्यु भइरहेको छ’ उनले दाबी गर्दै भने ।
यो तथ्यलाई यसकारण पनि मान्न सकिन्छ कि पछिल्लो दुई दिनमा प्रतिष्ठानमा ७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको थियो । त्यो आँकडा प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यमलाई पठाउँदै आइरहेको छ । देशमै पनि अक्सिजनको अभावमा मानिसहरूको मृत्यु भएको खबरहरू बाहिरिँदै आइरहेको छ ।
काठमाडौंका अधिकांश अस्पतालमा अक्सिजन नभएका कारणले बिरामीलाई अन्यत्र लिएर गएको अवस्था छ । यतिसम्मकी बीपी प्रतिष्ठानमै कार्यरत एकजना एचआरकी आमालाई करिब दुई साताअघि काठमाडौंबाट प्रतिष्ठानमा एम्बुलेन्समार्फत ल्याएकी थिइन् । प्रतिष्ठानमा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशसम्मका कोरोना संक्रमित बिरामीहरू उपचाररत छन् ।
शुक्रबार मात्रै प्रदेश १ मा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका थिए । जसमध्ये सुनसरीमा १७८ जना थपिए । सुनसरीको धरानमा ६३ जना संक्रमित थपिएका छन् । धरानमा पहिलो र दोस्रो लहर गरी कुल १ हजार ३८८ जना संक्रमित भइसकेका छन् । दोस्रो लहरको कोरोनाबाट २३ जनाले ज्यान गुमाएका छन् । आजको दिनमा ४६० सक्रिय संक्रमित छन् ।
त्यसमध्ये शुक्रबारसम्म ९ जना कोभिड अस्पतालमा उपचाररत रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या शुक्रबारसम्म १६ हजार ८३६ रहेको छ ।