वराहक्षेत्र वडा नं. ६ का कृषक भेषराज गिरीले १ बिघा २ कट्ठा जमिनमा मकैबाली लगाएका छन् । गिरी परिवारको कृषिबाट हुने आम्दानीको मुख्य स्रोत मकै बाली हो । तर केही दिनदेखि जरा ‘मरेजस्तो’ देखिन थालेपछि उनले नगरपालिकाको कृषि शाखामा सम्पर्क गरे । 

वराहक्षेत्रकै ८ नम्बर वडाको ‘सैनिक’ गाउँमा सुजन राईले ७ कट्ठामा मकै बाली लगाएकी छन् । अगुवा मकै भएकाले बाली सप्रिएको छ । 

‘मकै सानो हुँदा, समस्या देखिएको जस्तो भएको थियो, अगुवा मकै भएकाले अलिक सप्रिएकोजस्तो छ,’ सुजनले भनिन्,‘फौजी कीरा लाग्ला कि भनेर विषादी लिन नगरपालिका आएकी हुँ ।’ 

अमेरिकन फौजी कीराको प्रकोप नियन्त्रणका लागि वराहक्षेत्र नगरपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण थालेको छ । मकै बालीमा समस्या आएको कृषकहरुको गुनासो आएपछि नगरले निःशुल्क विषादी वितरण थालेको कृषि शाखाका जेटिए निरबहादुर राईले जानकारी दिए । 

फौजी कीरा नियन्त्रणका लागि विषादी खरिद गर्न नगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको जेटिए राईले बताए । ‘बालीमा समस्या देखिएका किसानहरुले कृषि शाखामा सम्पर्क गर्नुहुन्छ, हामीले सूचना गरेका छौं,’ जेटिए राईले भने, ‘विषादी वितरणसँगै प्राविधिक ज्ञान पनि दिइरहेका छौं ।’

एक स्यासे विषादीमा कृषकहरुले २५ लिटर पानी हालेर विषादी छर्कंदै आएका छन् । विषादीमा स्याम्पुको समेत प्रयोग हुँदै आएको छ । 

१० हजार केजी मकैको बिउ वितरण

वराहक्षेत्र नगरपालिकाले मकै बाली प्रवद्र्धनका लागि कृषकहरुलाई यस अघि १० हजार केजी बिउ मकै वितरण गरेको थियो । 

वितरण गरिएको मकैको बिउले ७१४ बिघालाई पुग्ने अनुमान गरिएको छ । किसानहरुले १ कट्ठामा न्युनत्तम ६ मन मकै उत्पादन गर्दै आएका छन् । यो तथ्यांकलाई हेर्दा नगरको बिउ वितरण र प्रोत्साहनबाट मात्र नगरक्षेत्रभित्र ३४२८ मेट्रिक टन मकै उत्पादन हुने कृषि शाखाका जेटिए राई बताउँछन् ।

‘हामीले विपन्न र आवश्यक्ता भएका कृषकहरुलाई मात्र बिउ वितरण गरेका हौं,’ जेटिए राईले भने, ‘आधाभन्दा बढी किसानहरुले आफै उत्पादन गरेका बिउबाट बाली लगाउँदै आउनुभएको छ ।’

एकीकृत शत्रु जीव व्यवस्थापन

वराहक्षेत्र नगरपालिकाले शत्रु जीवन व्यवस्थापनका लागि मकै बालीमा नमूना प्रयोग गर्दै आइरहेको छ । नगरको वडा नं. ७ मा ९ कट्ठामा मकै बाली लगाई एकीकृत शत्रु जीव व्यवस्थापन कार्य गरिरहेको कृषि शाखाका जेटिए निरबहादुर राईले जानकारी दिए । 

‘रोग कीराको प्रकोप अध्ययनका लागि बाली लगाइएको हो, यसको व्यवस्थापनका लागि पनि नमूना बाली लगाइएको छ ।’ जेटिए राईले भने । उनका अनुसार ४ कट्ठामा ‘रामपुर हाइब्रिड–१०’ जातको बाली लगाइएको छ भने ५ कट्ठामा ‘टीएक्स–३६९’ जातको मकै लगाइएको छ । 

अमेरिकन फौजी कीरा (अमेरिकन फल आर्मीवर्म) बारे जान्नै पर्ने कुराहरु तलको तस्बिरमा हेर्नुहोस् ।

Fauji_Kira_Niyantran_blastkhabar (2)

Fauji_Kira_Niyantran_blastkhabar (1) 3