विजयपुर । सडकबाट उडेको धुलोका कारण धरान उपमहानगपालिका–६ तल्लो पानवारीका स्थानीयवासी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । 

मदन भण्डारी राजमार्ग निर्माण गर्ने भनिएको सडक–खण्डको सेहराखोलादेखि सरस्वती स्कुलनजिक दुर्गा चोकसम्म करिब ८ सय मिटर क्षेत्रका बासिन्दा सरोकारवाला निकायले चासो नदिँदा कष्टकर जीवन बिताउन बाध्य बनेका हुन् । 

करिब ८ वर्ष पहिले बनेको उक्त सडकमा कम सङ्ख्यामा यातायातका साधन गुड्दा त खासै समस्या थिएन तर, अहिले पानवारी पूर्व क्षेत्रमा क्रसर उद्योग सञ्चालन भएपछि टिपरदेखि धेरै क्षमताका यातायातका साधन गुड्न थाले ।

त्यसपछि सडक चाँडै भत्किएको स्थानीयवासी केशव गौतम बताउँछन् । उनले सडकको धुलोले सडकको दायाँ–बायाँ करिब ६ सय मिटरसम्म प्रत्यक्षरूपमा स्थानीयवासीलाई गम्भीर असर पारेको बताए । उनले भने, ‘सडकको धुलोले बालबालिका र वृद्धवृद्धाहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ ।’ 

उनले सम्बन्धित सरोकारवालाले चासो दिएर तत्काल धुलो उड्ने समस्या नहटाए स्थानीयको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताए । गौतमले सडकछेउका बालबालिका र वृद्धवृद्धामा श्वास–प्रश्वासको समस्या देखिन थालेको बताए । ‘नगरपालिकाले हाम्रो अभिभावकत्व ग्रहण गर्न नसक्दा यस्तो कष्टकर जीवन भोगिरहेका छौँ’–उनले भने । 

अर्का स्थानीयवासी दीपक साहले भने, ‘एउटै गाडी गुड्दा त बस्नै नसक्ने अवस्था हुन्छ, यहाँ त एक पटकमा ८ वटासम्म टिपर ओभरटेक गर्दै गुड्छन्, अन्य यातायातका साधन पनि हुन्छन्, यहाँ बस्न नसक्ने अवस्था छ ।’ स्थानीय लक्ष्मी गुरुङ गाडी कुद्न थालेपछि धुलो उडेर केही नदेखिने बताउँछिन् । धुलो उड्न थालेपछि सडक आसपासका स्थानीयवासीले खानेकुरा, लत्ताकपडा, भाँडाकुँडालगायत सम्पूर्ण सामग्री प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको उनले बताइन् । 

स्थानीयले विरोध जनाएपछि क्रसर व्यवसायीहरूले सडकमा पानी त हाल्छन् तर, एक घण्टापछि उस्तै धुलो हुन्छ । स्थानीयवासीले धुलोको विषयमा राजनीति भएको आरोप लगाए । उनीहरूले काङ्ग्रेसले गर्न खोज्दा कम्युनिष्ट बाधक हुने र कम्युनिष्टले गर्न खोज्दा काङ्ग्रेस बाधक बन्ने गरेको बताए । 

धरान–६ का वडासदस्यसमेत रहेका स्थानीय दीपक राईले समस्याका विषयमा उपमहानगर प्रमुख तिलक राईलाई ज्ञापन–पत्रसमेत बुझाएको बताए । उनले भने, ‘हाम्रो समस्या नगर प्रमुखलाई बतायौं, उहाँले सुन्नु मात्र भयो, महŒव दिनुभएन ।’ उनले राजमार्गमा पर्ने क्षेत्र भनिए पनि सडकको क्षेत्र कति हुने निर्धारण नगरिएको र कहिले ठेक्का लाग्नेसमेत निश्चित नरहेको बताए । उनले भने, ‘उपमहानगरले केही गर्न नसक्ने भन्छ, एकदमै ठूलो समस्या भयो ।’ उनले आयोजना सुरु हुन २–४ वर्ष लाग्न सक्ने बताए । 

नगरप्रमुख राई भने ज्ञापन–पत्र बुझेपछि तत्काल बजेट विनियोजन गरेर समस्याको समाधान गरेको दाबी गर्छन् । उनले अहिलेको मौसममा धुलो उड्नु सामान्य भएको बताए । मदन भण्डारी राजमार्गमा नै पर्ने क्षेत्रमा केराबारी गाउँपालिकाले भने टुक्रे सडक तथा ड्रेन निर्माण गरिरहेको छ । तर, पानवारी क्षेत्रमा भने आयोजना वा कानूनभन्दा पनि स्थानीय सरकार गैरजिम्मेवार भएको स्थानीयको आरोप छ । धरान–६ का वडाध्यक्ष भूवनसिंह बस्नेतले पनि आयोजनाका कारणले काम गर्न नसकेको बताए ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका नायव सुब्बा शान्तिराम दाहालले आयोजनाका कामहरू सुरु भइसकेको बताए । उनले राजमार्गमा पर्ने धरान पूर्वी खण्डको खदम खोलासहित ३१ वटा पुल निर्माण सुरुवात भएर निर्माणको चरणमा रहेको बताए । उनले सडकको ठेक्काका लागि अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी दिए । ‘स्वीकृत भइसकेको छ, चालु आर्थिक वर्षको अन्त्यसम्ममा सडक निर्माणका लागि ठेक्का लाग्छ’ –उनले भने ।

१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग झापाको बाहुनडाँगीबाट शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैंडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रूपालसम्म पुग्ने आयोजनाको लक्ष्य छ । आयोजना २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । 

धुलो पीडितको पहल समिति 

मदन भण्डारी राजमार्गमा पर्ने धरान–६ पानवारीका धुलो पीडितहरूले समस्या समाधानका लागि पहल समिति गठन गरेका छन् । 

सोमबार स्थानीय केशव गौतमको संयोजकत्वमा ९ सदस्यीय पहल समिति गठन भएको हो । समितिको सचिवमा रुकमणि गौतम र कोषाध्यक्ष शालिकराम बजगाईं रहेका छन् ।

लामो समयसम्म धुलोका कारण समस्या भई स्थानीय सरकारलाई भन्दा पनि चासो नदेखाएपछि सम्बन्धित सरोकारवाला पक्षसँग पहल गर्नका लागि समिति गठन गरिएको संयोजक गौतमले बताए । उनले डेढ महिनादेखि आन्दोलन गर्दै आएको बताए । उनले पहल गर्दा समस्या समाधान नभए आन्दोलनमा उत्रिने बताए ।