नेपालले हवाई उड्डयन पूर्वाधारमा ठूलो लगानी गरी अन्तर्राष्ट्रिय विमानस्थलहरुको सङ्ख्या बढाए पनि तिनको उपयोगिता र सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको छ । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्) मा कुनै समस्या आउँदा वा मौसम खराब हुँदा अन्तर्राष्ट्रिय उडानहरुले नेपाली भूमिभन्दा बाहिरका विमानस्थलहरुलाई प्राथमिकता दिनुले यस अवस्थालाई छर्लङ्ग पारेको छ । हालै शनिबार अन्तर्राष्ट्रिय विमानस्थल ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा आएको समस्याले करिब साढे ५ घण्टा उडान प्रभावित हुँदा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट हुनु प्रतिनिधिमूलक घटना हो । गतवर्ष फ्लाई दुबईको विमानमा इन्जिनमा आगो लाग्दा पनि पाइलटले भैरहवाकै आकाशबाट आफ्नो गन्तव्यतर्फ लाग्नु वा मौसम खराब हुँदा भिस्तारा एयर र फ्लाई दुबईका विमान लखनऊ डाइभर्ट हुनुले नेपाली वैकल्पिक विमानस्थलहरुको उपयोगितामाथि ठूलो प्रश्नचिह्न खडा गर्छ ।

नेपाल आउने प्रत्येक अन्तर्राष्ट्रिय विमानले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने भए पनि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा पर्न सकेको छैन । वैकल्पिक विमानस्थलको सूचीमा परे पनि अहिलेसम्म एयर चाइनाको विमान तीन पटक मात्र यहाँ डाइभर्ट भएको छ । वि.सं. २०७९ जेठ १ गते सञ्चालनमा आएको यो विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा निराशा छाएको छ । विमानहरुले यहाँका विमानस्थललाई प्राथमिकता नदिनुका पछाडि थुप्रै कारणहरु जिम्मेवार देखिएका छन् । आकस्मिक अवतरण व्यवस्थापनको अभाव देखिएको छ । जसमा आकस्मिक उडान गरेर राति होल्ड हुनुपरे यात्रु, चालक दलको व्यवस्थापन र दोस्रो दिन उडानअघि विमान जाँच गर्ने प्राविधिक टिमको सुनिश्चितता नहुनु मुख्य समस्या हो । हवाई इन्धनमा देखिएको असमानताका कारण पनि धेरै विमानहरु भारततिर डाइभर्ट हुने गरेको देखिएको छ । स्थानीय अगुवाहरुको गुनासोअनुसार क्षेत्रीयस्तरमा भन्दा पनि राज्यस्तरबाट आवश्यक पहल र ‘कूटनीतिक प्रयास’ नपुग्नुले अन्तर्राष्ट्रिय उडानहरु आकर्षित हुन सकेका छैनन् ।

दूरीका हिसाबले लखनऊभन्दा भैरहवा विमानस्थल नजिक छ । विमानस्थलले अन्तर्राष्ट्रिय वायु सेवाहरुलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शतप्रतिशत छुट र ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट दिएको छ । तर पनि डाइभर्ट उडान गराउन सकेको छैन । यसले पनि नेपालको विमानस्थलको अवस्था के रहेछ भन्ने पत्ता लागेको छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अर्बौंको लगानी खेर गइरहेको छ । यसलाई प्रयोगमा ल्याउन राष्ट्रको हवाई छविलाई जोगाउन अब सरकारले केवल छुटमा मात्रै होइन । मुख्य समस्याहरुको तत्काल समाधानतर्फ ध्यान दिनु जरूरी छ । डाइभर्ट भएका विमानलाई आवश्यक पर्ने यात्रु व्यवस्थापन, चालक दलको आवास र सबैभन्दा महत्वपूर्ण ‘इन्जिनियरिङ र ग्राउन्ड ह्यान्डलिङ’ को दक्ष जनशक्ति तयारी अवस्थामा राख्न तत्काल पहल आवश्यक छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आएको समस्याको समाधानका लागि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन सक्ने सुनिश्चितता नभएसम्म नेपालको हवाई सुरक्षा र विश्वसनीयतामाथि प्रश्न उठिरहनेछ ।