बाँझो जमिन उपयोग गर्ने नीतिअनुसार कोशी नदीउकास जग्गामा उदयपुरको बेलका नगरपालिकाले मुलुकमै पहिलो पटक ६ हजार हेक्टरमा कृषि फार्म विस्तार गर्ने दीर्घकालीन लक्ष्यसहितको योजना शुरु गरेको छ । नगरपालिकाले नमूना आधुनिक कृषि फार्म विस्तार परियोजना कार्यक्रमअन्तर्गत ७ करोडको लगानीमा परियोजना शुरु गरेको हो ।

‘तत्काल १०० हेक्टर जग्गामा परियोजना शुरु भएको छ, आगामी वर्ष १ हजार हेक्टरमा उन्नत चक्लाबन्दी खेती शुरु गर्ने योजनामा छौं,’ बेलका नगरपालिकाका कृषि इञ्जिनियर बुद्धिनाथ तिम्सिनाले भने, ‘६ हजार हेक्टर जमिनमा खेती गर्ने नगरको दीर्घकालीन योजना छ ।’


बेलका नगरपालिकाले १०० हेक्टर जग्गामा उन्नत जातको भुइँ घाँस र मकैको चक्लाबन्दी खेती गर्ने उद्देश्यका साथ घेराबेरा र खनजोत थालेको छ । परियोजनाले १०० हेक्टर जमिनमा शुरु गरेको उन्नत जातको घाँसको बिउ र मकै उत्पादनका लागि २ करोड रुपैयाँ बजेट आइसकेको छ । करिब ४ किलोमिटर वरिपरि २४ लाखको बजेटमा सिमेण्ट पिल्लर र काँडेतारको बेरा लगाइसकिएको छ ।

रामनगर टप्पुस्थित पट्टेरघारी सम्याएर काँडेतारको घेराबेरा गरिएको हो । आधुनिक कृषियन्त्र प्रयोग गरी खनजोत थालेको नगरपालिकाले पहिलो चरणमा ३० बिघा जग्गामा उन्नत जातको घाँस र बाँकी जग्गामा स्थानीय जातको रामपुर कम्पोजिट मकै उत्पादन गर्ने छ ।

नगरपालिकाले कृषि पूर्वाधार विकास तथा यान्त्रिक प्रवद्र्धन केन्द्रबाट जमिन सम्याउने लेजरलेन लेब्लर, बिउ छर्ने सिडड्रिल, ६० र ४५ एचपीका ट्याक्टर, माटो मिलाउने, डिस्कह्यारो, खनजोत गर्ने यन्त्र, रोडाभेटर, पावर ह्यारोलगायतका मेसिन भिœयाएको छ । मेसिनले मल र बिउ छर्ने, आलु रोप्ने, खन्ने, गहुँ रोप्ने, काट्ने, छाँट्ने काम गर्न सक्नेछ । तत्कालका लागि ३० बिघामा सुडान र टिओसेन्टी जातको बहुवर्षीय भूइँघाँस र ७० बिघामा मकै खेती गर्ने बेलका नगरपालिकाका कृषि सल्लाहकार नारद निरौलाले बताए । उनका अनुसार किसानलाई सामुहिक खेतीबाट आम्दानी लिन सक्ने बनाउने, समूह र सहकारीका रूपमा शेयर आह्वान गर्ने, नगरपालिकालाई निश्चित कर तिर्ने गरी किसानलाई खेती गर्ने वातावरण तयार गर्ने परियोजनाको उद्देश्य छ ।

कृषि परियोजनालाई कृषि पर्यटनसँग पनि जोडिने बेलका नगरपालिकाका घाँस विज्ञ राजु तुलाधर बताउँछन् । उनका अनुसार यसअघि पनि बेलका नगरपालिकाले डाले घाँसको स्रोतकेन्द्र स्थापना गरिसकेको छ । स्रोत केन्द्रमा २५ हजार बेर्ना उत्पादन भएका छन् । ‘नगरपालिकाको कार्यालय पछाडि डाले घाँसको स्रोत केन्द्र छ,’ घाँस विज्ञ तुलाधरले भने, ‘स्रोतकेन्द्रमा बकाइनो, इपिल, मेन्दुला, टाँकी, कोइरालो, भटमासे जातका डाले घाँस छन् ।’

नगरपालिकाले परियोजनाअन्तर्गत रामनगर टप्पुमा भूइँ घा“सको उत्पादन थाल्ने छ । त्यसका लागि सिडड्रिल मेसिन ल्याइएको छ । बलौटे माटो भएका कारण सिंचाइको पनि उचित व्यवस्थापन गरिएको तुलाधरको भनाइ छ । उनले सिंचाइका लागि सोलारबाट पानी तान्ने प्रविधिको प्रयोग गरिने बताए । एउटा सोलार प्रविधिले २० हेक्टर जमिनलाई सिंचाइ गर्न सक्ने तुलाधर बताउँछन् ।

एकीकृत कृषि परियोजना शुरु गरेको बेलका नगरपालिकाले अग्र्यानिक उत्पादनलाई जोड दिएको छ । ‘स्थानीय कृषक समुदाय, सहकारी र कृषि समूहले सामुहिकरूपमा चक्लाबन्दी खेती गर्नेछ, योसँगै व्यावसायिक पशुपालन गर्ने, अग्र्यानिक फलफूल तरकारी उत्पादन हुनेछ,’ नगर प्रमृुख थापाले भने, ‘आयआर्जनमा टेवादिने र कृषि पर्यटन प्रवद्र्धनका लागि कृषि अनुसन्धान केन्द्रका रूपमा यो क्षेत्रको विकास गर्ने लक्ष्य छ ।’

२ सय ३० बिघामा नर्सरी


बेलका नगरपालिकाले एकीकृत कृषि परियोजनाअन्गर्त नै २ सय ३० बिघामा अग्र्यानिक खेती गर्न नर्सरी तयार गरिरहेको छ । स्थानीय कृषि सहकारी, समुदाय र कृषकलाई बढी फाइदा दिने उद्देश्यले परियोजना शुरु गरिएको नगर प्रमुख थापाको भनाइ छ ।

नगर प्रमुख थापाले भने, ‘चाँडै नै कान्जीहाउस तयार हुँदैछ, ६ हजार गाईबस्तुको प्राङ्गारिक मल प्रयोग गरेर २ सय ३० बिघामा परीक्षणका रूपमा अग्र्यानिक खेती गर्न नर्सरी पनि तयार गर्दैछौं ।’