विराटनगर। मोरङको कटहरी गाउँपालिका–२ लोहन्द्राका सत्यनारायण सिंहले दुई बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । उनले एक बिघामा बन्दाकोपी, ४ कठ्ठामा फूलकोपी, १२ कठ्ठामा गोलभेडा र चार कठ्ठामा खोर्सानी लगाएका छन् । सिंहले लगाएको तरकारीमध्ये अहिले बन्दाकोपी र फूलकोपी उत्पादन हुन थालेपछि बिक्री गर्न सुरु गरेका छन् ।
उनले ५ रुपैयाँ प्रतिकिलोमा बन्दा र फूलकोपी बेचे । जब कि उनको उत्पादन लागत नै ६ देखि ७ रुपैयाँ प्रतिकिलो हुन आउँछ । उत्पादन बढी भएको भन्दै बिचौलियाले सस्तोमा किसानको तरकारी खरिद गरेको कारणले उनीहरू सस्तोमा बेच्न बाध्य छन् । यो सिजनमा कटहरीका किसानको लागत पनि नउठ्ने गरेको सिंह बताउँछन् । ‘बारीमै तरकारी कुहाएर फाल्नु पनि भएन’ उनले भने, ‘सस्तोमै भए पनि बेच्नुको विकल्प छैन ।’
कृषकले सिधै नबेची बिचौलियाले तरकारी खरिद गर्दा लागत अनुसारको मूल्य नपाउने गरेका हुन् । यहाँका कृषकले बिक्री गरेको बन्दाकोपी र फूलकोपी विराटनगरस्थित गुद्री बजारको खुद्रा पसलमा प्रतिकेजी २० देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ । सिधै किसानबाट तरकारी किन्दा उपभोक्ता र कृषक दुवैलाई सस्तो पर्ने उनी बताउँछन् । कृषकले थोक बजारमा पु¥याएको तरकारी बिचौलियाले किनेर लैजाने र उपभोक्तालाई महँगोमा बेच्ने गरेको उनले सुनाए ।
गुद्रीको थोक बजारमा कृषकदेखि खरिद गरेर बिचौलियाले खुद्रा व्यापारीलाई तरकारी बिक्री गर्दछन् । ‘१ कठ्ठामा तरकारी खेती लगाउँदा ६ हजार रुपैयाँ खर्च हुने गरेको छ’ कृषक सिंहले भने, ‘प्रतिकठ्ठामा उत्पादन ६ देखि ८ क्विण्टल हुने गरेको छ ।’ प्रतिकेजी ५ रुपैयाँले बन्दा र फूलकोपी बिक्री गर्दा लागत मूल्य पनि उठ्न नसकेको यहाँका कृषकको गुनासो छ । कटहरी र जहदा गाउँपालिका तरकारीको पकेट क्षेत्र हो ।
यहाँका अधिकांश कृषक व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । ती स्थानबाट उत्पादन भएको तरकारी विराटनगरको बजारमा आउने गरेको छ । स्थानीय सरकारले यहाँका किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्ने कृषि थोकबजार सञ्चालन गर्न नसक्दा बिचौलियाले बोलेको भाउमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । ‘कटहरीमा व्यवस्थित थोकबजारमा सञ्चालन गर्न यहाँका किसानले माग गरेका छन् ।
अहिलेसम्म स्थानीय र प्रदेश सरकारले सुनेकै छैन’ कटहरीका अर्का किसान रामनाथ सिंहले भने, ‘कटहरी–१ स्थित तरकारीको थोकबजार सञ्चालन भएको भए यहाँका किसानले उत्पादन गरेको तरकारी सिधै बेच्न पाउँथे र मूल्य पनि राम्रो हुन्थ्यो ।’
उनका अनुसार उन्नत बिउविजनको पनि अभाव छ । उन्नत जातको गोलभेडा, क्याप्सिकमलगायत तरकारीको बिउ बजारमा पाइएको छैन । ‘हाइटेकमा लोकल बिउ लगाएर भएन’ उनी भन्छन्, ‘विदेशबाट आउने बिउ नआएपछि अन्य उन्नत जात सिफारिस भएको छैन ।’ विराटनगरस्थित गुद्री बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार सिजनमा दैनिक १५ देखि २० मेक्ट्रिक टन तरकारी मोरङको कटहरी र जहदा गाउँपालिकादेखि आउने गरेको छ । बेमौसममा १० टन उक्त स्थानदेखि आउने गरेको छ ।