धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कृषि र पशुपालनका क्षेत्रमा वितरण हुँदै आएको अनुदान रकमलाई आर्थिक वर्ष ०७७/०७८ देखी कटौति गरेर उद्यमी किसानका लागि नगद सापटी दिने नयाँ नियम लागु गरेको छ ।
अघिल्ला आर्थिक वर्षहरुमा अनुदानले उत्पादन र आत्मनिर्भरता बढाउन नसकेको भन्दै धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अनुदान रकम हटाएर बिनाधितो र बिना ब्याज सापटी रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्वुले बताए । पौरखी र जाँगरिला किसानलाई गाँउपालिकाले कृषि व्यवसाय प्रवर्धन कोष मार्फत मसला, फलफुल, अन्न, तरकारी र पशुपालनका लागि रकम सापटी दिन थालेको अध्यक्ष लिम्वुले बताए । किसानले बिना ब्याज र बिना धितो उत्पादन लागतको ३५ प्रतिशतसम्म रकम सापटी पाउन थालेका छन । विगतमा वितरित अनदान रकमबाट लक्ष्य अनसार उत्पादन बढ्न नसकेपछि गाउँपालिकाले अनुदानको सट्टा लागत हेरेर किसानलाई सापटी रकम उपलब्ध गराउने निति ल्याएको अध्यक्ष लिम्बुले बताए ।
चालु आर्थिक बर्षबाट सुरु गरिएको यो कार्यक्रमको लागि गाँउपालिकाले २८ लाख रुपैयाको कोष खडा गरि १७ गाउँपालिका भित्रका किसानलाइ आवश्यक्ता अनुसार एकलाख देखि तीन लाख रुपैयाँसम्म उपलब्ध गराएको छ । आगामी आर्थिक वर्ष कोष थप गर्दै लगिने गाउँपालिकाले जनाएको छ । खाद्यान्न र तरकारीमा एक बर्ष तथा फलफुल, चिया, अलैंची र पशुपालनका लागि लिएको सापटी ऋण किसानले किस्ता बन्दीमा पाँचबर्ष भित्र गाउँपालिकालाई फिर्ता गर्नु पर्छ । प्राकृतिक प्रकोप र बजार अभावका कारण उत्पादनमा क्षति हुन पुगे किसानले सोध भर्ना बापत लागत मुल्यको ३० प्रतिशत रकम पाउने भएका छन । किसानले सापटी बापतको रकम नतिरेको खण्डमा गाँउपालिकाबाट पाउने सेवासुबिधा रोक्ने कार्यबिधि बनाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजकुमार राईले ब्लाष्टलाई जानकारी दिए । जसको कारण रकम दुरुपयोग नहुने राईको दाबी छ ।
यो योजनाबाट कृषक पनि खुसी भएका छन । गाउँपालिकाले ल्याएको सापटीको प्रावधानले लगानी अभावमा केहि गर्न नसकिरहेका जाँगरीला र जोशिला युवा किसानका लागी उपयुक्त भएको छ । अनुदानका लागि फर्म दर्ता गर्ने र अनुदान पाएपछि बेपत्ता हुनेलाई यसले फाइदा नपुर्याए पनि वास्ताविक कृषि पेशा अँगाल्ने किसानलाई फाइदा हुने स्थानिय युवा व्यवासायी कृषक चेत मगरले बताए ।
पछिल्लो समय अनुदान रकमको दुरुपयोग बढ्दो छ । अनुदान लिनकै लागि मौसमी कृषक बन्ने क्रम पनि उत्तिकै छ । कृषि र पशुपालनका नाममा वितरित अनुदान वास्तविक र सक्कली किसानसम्म पुग्न निक्कै कठिन हुने गर्दछ । यसरी नक्कली र सक्कली किसान छुट्याउन जनप्रतिनिधि र विषयगत शाखाका कर्मचारीलाई गाह्रो परिरहेको वेलामा छथरजोरपाटी गाउँपालिकाले ल्याएको सापटी रकम प्रदान गरेर संचालन गरिने कृषि उपार्जनको कार्यक्रम सक्कली किसानका हकमा भने प्रभावकारी हुने दावी गाउँपालिकाको छ । सापटी कार्यक्रमको प्रभावकारीता भने हेर्न बाँकी नै रहेको छ ।