इटहरी/ अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका प्रदेश १ का करिब ७० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन (एसिड) को मात्रा वृद्धि भएकाले माटोको उर्वरा शक्ति गुम्न थालेको कृषिविज्ञहरूले बताएका छन् । उनीहरूले अधिक उत्पादन बढाउने लालसाले किसानहरूले खेतबारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गरेकाले माटोको उर्वरा शक्ति घट्न थालेको बताएका छन् ।

सुनसरीको झुम्कास्थित क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका कृषिविज्ञ प्राविधिकहरूले माटोमा अम्ल वर्षौंदेखि क्रमशः बढ्दै गएको बताए । माटोमा अम्ल बढ्नाले उत्पादनमा ह्रास आउने कृषिविज्ञहरूले बताए । झापा, मोरङ र सुनसरी अन्न उत्पादनका लागि मुलुकका मुख्य जिल्लाहरू मानिन्छन् । माटो तथा मलविज्ञ समेत रहेका क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका सूचना अधिकृत दिगम्बर यादवले झापा, मोरङ र सुनसरीका अधिकांश खेतीयोग्य जमिन अम्लीय बन्दै गएको बताए । उनले भने, ‘पूर्वका यी जिल्लाहरूमा ६५ देखि ७० प्रतिशत माटोमा अम्लीयपन अत्यधिक बढेको छ । करिब ३० प्रतिशत माटो मात्र राम्रो छ ।’ विभिन्न बालीका लागि चाहिने माटोको पीएच मान चाहिएजस्तो नभएको यादवले बताए । उनले भने, ‘जब माटो अम्लीय बन्दै जान्छ, तब बाली उत्पादनका लागि चाहिने पीएच मान माटोमा रहँदैन । अम्लीयपनमा आलु, चिया, अलैंची र अम्लिसो खेती भए पनि अन्न खेती भने आधा पनि उत्पादन हुँदैन ।’  

माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन, फस्फोरस तŒवको मात्रा घट्दै गएकाले उर्वरा शक्तिमा पनि बर्सेनि कमी आउने गरेको माटोविज्ञ यादवले बताए ।  ‘अनुकूल माटो हुँदा स्वभाविकरूपमा उत्पादन बढ्छ’ अधिकृत यादवले भने, ‘माटोलाई स्वस्थ राख्न सक्दा उत्पादनको अनुपात बढ्छ ।’ उनले माटोको अम्लीयपन घटाउने उत्तम घरेलु विधिमा कम्पोष्ट (प्राङ्गारिक) मलको प्रयोग गर्नुपर्ने र त्यसपछि माटो परीक्षणकै आधारमा कृषि चुन प्रयोग गरेर केही उर्वरा शक्ति फर्काउन सकिने बताए ।   

रासायनिक मलको प्रयोग ह्वात्तै बढ्यो 

किसानले उत्पादन वृद्धि गर्न खेतबारीमा रासायनिक मलको मात्रा बढाइरहँदा माटोको गुणस्तर खस्केको भेउ नै पाउँदैनन् । पाँच–सात वर्षपछि त्यो खेतको माटोले उर्वरा शक्ति गुमाउन थाल्छ । त्यसपछि किसान टाउको समाउने अवस्थामा पुगेका उदाहरण प्रशस्त रहेको यादव बताउँछन् । यादवका अनुसार कति जग्गामा कति रासायनिक मल हाल्नुपर्छ भन्ने किसानलाई भेउ नै छैन ।

यादवले भने, ‘सरकार रासायनिक मलको आयात घटाउन चाहन्छ । प्राङ्गारिक मलको प्रयोग बढाउन चाहन्छ । तर, यहाँ उल्टो भइरहेको छ । किसानहरू रासायनिक मल घटाउन चाहँदैनन् । माटो बिग्रेको छ, टन्नै रासायनिक मल हाल्ने बानी भइसक्यो ।

रासायनितक मल नहाली किसानको चित्त बुझ्दैन । रासायनिक मल हालेर बिग्रेको माटो तह लाग्दैन ।’ उनले थपे, ‘किसानहरू चोकमा बसेर चियाको चुस्की लिँदै गफ हाँक्छन्, तर आफ्नै घरमा जम्मा भएको फोहोर सङ्कलन गरेर कम्पोष्ट मल बनाउन जाँगर निकाल्दैैनन् ।’ उनले भने, ‘किसानहरू घरको फोहोर फाल्न नगरपालिकाको गाडी कहिले आउँछ भनेर बाटो हेर्छन्, तर त्यो फोहोरबाट मल बनाउन रुचि नै देखाउँदैनन्, बरु दुई–चार किलो रासायनिक मल लिनको लागि बोरा लिएर लाइनमा बस्छन् ।

अनि किन नबिग्रियोस् त माटो ?’ उनले घरमै गड्यौले मल, पातपतिङ्गरबाट कम्पोष्ट मल, भान्छामा खेर गएका अन्नहरूबाट अन्य मल र गाईभैैंसीको गोबरबाट गोठेमल बनाउन सकिने बताए । रासायनिक मलले माटोको उर्वरा शक्ति कायम राख्ने मित्रजीव र सूक्ष्म कीरा मर्छन् भन्ने किसानलाई थाहा नभएको पनि बताए । तराईका अधिकांश ठाउँमा पराल, भुस, गहुँका बोटलाई खेतबारीमा जलाउने गर्दा यसले पनि माटोको उर्वरा शक्ति नष्ट भइरहेको यादवले बताए ।