विजयपुर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडिका ल्याव सेण्टरहरूले एडिए जाँचमा ठगी गरिरहेको पाइएको छ । हरेक ल्यावले फरक–फरक शुल्क लिने गरेका छन् ।

वास्तविक शुल्क कति हो भन्ने नै बिरामी तथा बिरामीका आफन्तलाई थाहै हुँदैन । ब्लाष्ट दैनिकलाई प्राप्त कागजातका अनुसार प्रतिष्ठानको गेट अगाडिको बिर्तामोड डाइग्नोष्टिक सेण्टर पोलिक्लिनिकले २ हजार ५ सय र सप्तकोशी डाइग्नोष्टिक सेण्टरले एक हजार ५० रुपैयाँ लिएको पाइएको छ । बीपी प्रतिष्ठानभित्र एडिएको जाँच नहुने भएपछि बाहिरका ल्याव सेण्टरले मनोमानी शुल्क लिने गरेका छन् ।

जसका कारणले बिरामी तथा बिरामीका आफन्तहरू कति शुल्क तिर्नुपर्ने हो भन्ने अन्यौलमा पर्ने गरेका छन् । मोरङ उर्लाबारी नगरपालिका–२ का चन्द्रबहादुर बरालले ‘एडिए’ को जाँच गराउँदा दुवै ल्याव सेण्टरमा फरक फरक शुल्क लिएको बताए । सप्तकोशीले भन्दा १४ सय ५० रुपैयाँ बढी लिएको उनले बताए ।

बरालको मिर्गौलामा समस्या भएर प्रतिष्ठानमा पुस २३ गते भर्ना भएका थिए । छातीमा पानी जमेपछि चिकित्सकले ‘एडिए’ जाँच गर्न भनेका थिए । सोहीअनुरूप प्रतिष्ठानभित्र परीक्षण नहुने भएपछि क्याम्प गेटका ल्याव सेण्टरमा पुग्दा फरक–फरक शुल्क लिएको बिरामीका भाइ रेवत बरालले बताए । 

एडिएले क्षयरोग भए नभएको पत्ता लगाउँछ । रेवतले पहिलो पटक सप्तकोशी डाइनोष्टिक सेण्टरबाट १ हजार ५० रुपैयाँमा एडिए परीक्षण गरेको भए पनि पुनः परीक्षण गर्दा बिर्तामोडले २५ सय रुपैयाँ लिएको बताए ।

‘अन्य ल्याव सेण्टरहरूमा त १ हजार रुपैयाँमा परीक्षण गर्छन् त । तपाईकहाँ किन महँगो भनेर प्रश्न गर्दा आफ्नो सेण्टरमा गुणस्तरीय हुने, अरूले के गर्छन् मतलव नहुने भनेर बताइयो’ –उनले भने । बिरामीका सहयोगी मनिक घोरासैनीले आफ्नो बिरामीको अवस्था जटिल भएकोले २५ सय नै तिर्न बाध्य भएको बताए । उनले भने, ‘प्रतिष्ठानअगाडिका ल्यावहरूले लुट्दा रहेछन् ।’ अन्य डाइग्नोष्टिक सेण्टरहरूले भने १५ सय रुपैयाँसम्म लिने गरेका छन् । एडिएको परीक्षणको बजारभाउ भने १ हजारदेखि ११ सय रुपैयाँसम्म रहेको छ ।

बिर्तामोडका सञ्चालक नरेन्द्र देवले आफूहरूले लकडाउनका बेला महँगो मूल्यमा ‘एडिएको रिएजेण्ट’ ल्याएकाले २५ सय रुपैयाँ लिएको दाबी गरे । ‘मोटरसाइकलमा काँकडभिट्टा पठाएर भारतबाट रिएजेण्ट ल्यायौं, त्यो बेला महँगो थियो, अहिले हामीले पनि एक हजार रुपैयाँमै गर्न सक्छौं’ –उनले भने ।

तर, उनको दाबीअनुसार वास्तविकता मेल खाँदैन । किनकि बिरामी बरालको पुस २३ गते मात्रै एडिएको परीक्षण गरिएको थियो । एडिएको भरपर्दो परीक्षण गर्ने ल्याव कुन हो भन्नेमा सेवाग्राही अन्योलमा पर्ने गरेका छन् ।