भण्टाबारी । सप्तरी जिल्लाको हनुमान कंकाली नगरपालिका ७ बस्ने मञ्जु मण्डल क्यारिङ्ग गर्दै छोराछोरी पाल्दै आएकी छिन् । श्रीमानले अर्काे बिहे गरेपछि मञ्जु यहीँ पेसाले छोराछोरीको भविष्य उज्ज्वल बनाउन प्रयासरत छिन् ।

कोरोना महामारीको जोखिम न्यूनीकरण तथा रोकथामका लागि भन्दै १० महिनायता नेपाल भारतबीच रहेको खुला सीमा सिल रहेको छ । जसका कारण मञ्जु अर्काको भाडाकुडा सफा गर्दै जेनतेन गरेर छोराछोरी पाल्दै आएकी छन् । श्रीमानले छाडेको ७ वर्ष भयो । उनले भनिन् –छोराछोरी कलिला उमेरका हुँदादेखि नै क्यारिङ्ग गर्दै उनीहरूलाई पालेकी छु ।

मञ्जुलाई मात्रै होइनन् सीमानाका बन्दहुँदा सीमावर्ती क्षेत्रका व्यापार व्यवसाय चौपट अवस्थामा छ ।

सुरज भगत भारत भीमनगरमा कपडा व्यवसाय गर्दै आएका छन् । नेपाली ग्राहकको भरमा व्यवसाय थालेका उनी सीमा बन्दहुँदा व्यवसाय चौपट भएको बताउँछन् । पहिला पहिला खाना खाने फुर्सदसमेत हुँदैन थियो उनले भने–तर आजकल मुश्किलले ग्राहक आउने गर्छन् । सीमावर्ती क्षेत्रका साथै सप्तरी,सिराह,उदयपुर जिल्लाबाट आउने ग्राहक सीमा सिलहुँदा आउन नसकेको हुँदा दर्जनौं व्यवसाय ठप्प अवस्थामा रहेको उनको भनाइ थियो । सीमा नाका न खोलिएसम्म अवस्था सहज नहुने भगतको बुझाइ छ । भारतीय बजारबाट सामान ल्याएर नेपाली व्यवसायलाई बेचेर छोराछोरीको गुजारा चलाउनुका साथै उनीहरूलाई पढाउने गरेपनि अहिले गुजारा चलाउनै समस्या भएको मञ्जु बताउछिन् ।

नाका खोल्नुपर्ने भन्दै स्थानीय आन्दोलित 
बन्द रहेको सीमानाका खोल्नुपर्ने भन्दै कोशी गाउँपालीका ८ भण्टाबाटीका स्थानीय आन्दोलित भएका छन् ।

सीमा सिलहुँदा नेपाल भारत गर्दै जीविका चलाउने सयौंको गुजारा गर्ने माध्यम गुमेको बताउदै कोशी गाउँपालीका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादवले सीमा नाका खोल्नुपर्ने बताउँछन् । सीमावर्ती क्षेत्रका स्थानीयलाई घरायसी सामान किनबेच गर्न जानबाट समेत एसएसबीले रोकेपछि स्थानीय आन्दोलित भएका हुन ।

सीमा नाका खोलिएको अवस्थामा आफूहरू थप आन्दोलन गर्न बाध्य हुने बताउदै स्थानीयले भारतीय मालबाहक गाडीका साथै कोशी प्रोजेक्टका ठेकेदारलाई आवतजावत गर्नबाट रोक्न चेतावनीसमेत दिएका छन् ।