बिर्तामोड/ कोरोना महामारीका कारण झापाकै ठूलो स्ट्रबेरी खेती विस्थापन हुने अवस्थामा पुगेको छ । गतवर्षको उत्पादनले बजार पाउन नसकेपछि बाह्रदशीमा लगाइएको स्ट्रबेरी खेती विस्थापन हुने अवस्थामा पुगेको हो ।

बाह्रदशी वडा नं. १ मा गतवर्ष ३२ बिगाहामा स्ट्रबेरी लगाइएको थियो । यस वर्ष दुई बिगाहामा मात्र खेती लगाइएको छ । बाँकी खाली ठाउँमा फलफूल खेती गरिने गोल्यान ग्रुपद्वारा सञ्चालित गोल्यान एग्रो फार्मले जनाएको छ । कोरोना सङ्क्रमण र लकडाउनले यसवर्ष स्ट्रबेरी खेती चौपट बनेको व्यवस्थापक शरुद्र चौहानले बताए । उनले ३२ बिगाहामध्ये दुई बिगाहामा मात्र स्ट्रबेरी लगाएको जानकारी दिँदैै बाँकी ठाउँमा फलफूल लगाइने बताए ।

गतवर्ष स्ट्रबेरी लगाएको ठाउँमा आगामी माघ महिनादेखि फलफूल लगाउन सुरु गर्ने चौहानले बताए । त्यस ठाउँमा १२–१३ प्रकारका फलफूल लगाउने कम्पनीको योजना छ । त्यसमध्ये अम्बा लगाउने टुङ्गो भइसकेको बताउँदै चौहानले अन्य फलफूलका जात छान्न बाँकी रहेको जनाए ।

गोल्यान ग्रुपको गोल्यान एग्रोले गत वर्ष बाह्रदशीमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती गरेको थियो । कम्पनीले गतवर्षको सुरुमा राम्रो आम्दानी गरेपनि कोरोना महामारीका कारण यसवर्ष स्ट्रबेरी खेती चौपट बनेको हो । कोरोना महामारीका कारण उत्पादन बिक्री गर्न नसक्दा लाखौं रुपैयाँ घाटा लागेपछि फर्म सञ्चालक यो वर्ष स्ट्रबेरी खेती गर्ने योजनाबाट पछि हटेको हो । तीन साताअघि करिब दुई बिगाहामा ३० हजार बिरुवा रोपेको प्राविधिक इन्द्र विकले बताए ।

गतवर्ष ३८.५ एकड अर्थात् करिब ३२ बिगाहामा करिब ६ लाख बिरुवा रोपिएको थियो । गत वर्ष व्यावसायिक रूपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो फर्म भएको दाबी गरिएको थियो ।

कम्पनीले यसवर्ष रोप्नका लागि भारतबाट ल्याएको स्ट्रबेरीका बिरुवा अधिकांश सुकेर नष्ट भएका छन् । भारतबाट ल्याइएका करिब ७० प्रतिशत बिरुवा मरेको त्यहाँ कार्यरत कर्मचारी राजेन्द्र भट्टले बताए । उनले पहिलो लटमा ल्याइएका ३० हजार बिरुवामध्ये एउटै पनि नबाँचेको जानकारी दिए । स्ट्रबेरीका लागि चिसो हावापानी उपयुक्त मानिन्छ ।

तर, गतवर्ष गोल्यान एग्रो प्रालिले जाडोयामको मौका छोपी पहिलो पटक झापामा स्ट्रबेरी लगाएर राम्रो आम्दानी लिन सफल भएको थियो । निकै चर्चा पाएको स्ट्रबेरी खेती अवलोकन गर्न टाढा–टाढाका मानिसहरू आएका थिए । उत्पादनसँगै स्ट्रबेरीले बजार पनि राम्रो पाएको थियो ।

धेरै दिनसम्म बिरुवा भन्सारमा रोकिनु, अग्र्यानिक बिरुवामा विभिन्न रोग किरा लाग्नाले पनि यसवर्ष स्ट्रबेरी खेती गर्न नसकिएको बताए । रोपिएको दुई बिगाहा क्षेत्रफलमा पनि आधा बिरुवा मरिसकेका छन् । ‘विषादीरहित खेती गर्दा रोग किराको समस्या ज्यादा हुन्छ’ उनले भने, ‘तर, पनि हामी झापाका उपभोक्तालाई स्ट्रबेरी खानबाट निराश पार्ने छैनौं ।’

खेती घटेपछि काम गर्ने मजदुर पनि घटेका छन् । स्ट्रबेरी खेती नभएपछि स्थानीयको रोजगारीसमेत गुमेको कर्मचारी भट्टले बताए । गतवर्ष ६५ जना स्थानीयले दैनिक रोजगारी पाएका थिए । पुरुषले ६ सय र महिलाले ५ सय रुपैयाँको दरले हाजिरा पाउने गरेका थिए । ‘यसवर्ष आवश्यकताअनुसार कहिले एक जना त कहिले पाँच जनालाई मात्र काममा लगाउने गरेका छौं’ –भट्टले भने । गतवर्ष कम्पनीले स्ट्रवेरीसँगै स्वीटकर्न, काँक्रा र खरबुजाको खेती पनि लगाएको थियो । तर, उत्पादनका समयमा भएको लकडाउनका कारण बिक्री गर्न नसकिएको भट्टले जानकारी दिए ।