ताप्लेजुङ । दशक अघिसम्म यतिबेला फुङलिङ नगरपालिका ३ मेदिबुङका कौशिला सिटौलाको बगानको सुन्तला पूरै पाकिसक्थ्यो । पहारिलो ठाउँमा रहेको सुन्तलाको बगान मंसिर अन्तिम साता र ढिलोमा पनि पुस पहिलो सातामा रित्तिइसक्थ्यो ।

सुन्तला व्यापारीले बगान नै खरिद गर्थे । तर अहिलेभने यहाँको सुन्तला बोटमा हरियौ छन् । सिटौलाले भनिन्, ‘कीराले खाएर बिग्रिएको मात्रै रातो देखिन्छ, अरु हरियै छ, यसपालीका सुन्तला गुलिया पनि छैनन् ।’

विगतका वर्षजस्तो भए यति बेला पर्याप्त मात्रामा बजारमा सुन्तला निस्कनुपर्ने हो । यो वर्ष अहिलेसम्म सुन्तला निस्किएको छैन । किसानका अनुसार कम फलेको छ, फलेको दाना पनि पाकेको छैन ।

फुङलिङ नगरपालिका ३ मेदिवुङकै अर्का किसान चन्द्रप्रसाद बराल पाक्ने क्रम प्रत्येक वर्ष पछि सर्दै गएको बताउँछन् । चन्द्रप्रसादले भने, ‘पहिलाको जस्तो सम्झेर अस्ति नै ठेकदारहरू आएका थिए, सुन्तला पाकेको नदेखेपछि त्यसै फर्किए ।’ सुन्तला फल्नेक्रम घटेसँगै पाक्नेक्रम पनि धकेलिएको उनले बताए ।

सामान्यतया यहाँ कार्तिकदेखि नै खान योग्य हुने सुन्तला मंसिर पहिलो साता पाकेर बजारमा पुग्थ्यो । कौशिला सिटौलाका अनुसार आफूले खाने, साथीभाइ, इष्टमित्र र आफन्तलाई दिने बाहेकको सुन्तला राखेर बिक्री भइसक्थ्यो । योवर्ष पनि सुन्तला किन्नेको दुई/तीन वटा टोली आइसक्यो ।

तर पाकिनसकेकाले बिक्री गर्न योग्य भएको छैन । मौसम परिवर्तनका कारण ढिलो पाकेको हुन सक्ने अनुमान कौशिला र चन्द्रप्रसादको छ । ‘पुराना बोटमा फल्न छोडेको छ, नयाँ बोटमा फलेको छ तर पाक्न ढिलो भएको छ,’ चन्द्रप्रसादले भने, ‘बोटको कारण हो या मौसमको पत्ता लगाउन सकेका छैनौं ।’

नयाँ लगाएका बोटहरुले समेत एक÷दुई वर्ष उत्पादन दिएर बोटै मर्न थालेका छन् । सुन्तला बोटैमा राखे चैत महिनासम्म बिग्रदैन । समयमै नपाक्दा किसानलाई बिक्रीको समस्या छ । जिल्लामा कोल्डस्टोर नभएकाले टिपेर गोदाम गर्न सक्ने अवस्था छैन ।

कृषकलाई अर्को समस्या सुन्तला भटाभट झर्न थाले
सुन्तला ढिलो पाक्ने मात्र समस्या होईन । फलेका दाना पनि बोटबाट भटाभट झर्न थालेको छ । पाक्ने वेला भएका सुन्तला भटाभट झर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।दानामा औँसा परेर सुन्तलाको बोटै खाली हुन थालेपछि उनमा चिन्ता बढेको हो ।

‘एक्कासी सुन्तला पहेँलो हुने अनि झर्ने गर्छ ।’ कौशिलाले भनिन् ‘दैनिक ५ डोकासम्म सुन्तला भुइँभरि हुन्छ । सवै टिपेर फ्याँक्ने गरेका छौँ ।’

फल पनि ढिलो पाक्न थालेको समयमा बोटबाटै सुन्तला झर्नुले आफुँहरुलाई समस्या भएको अर्का कृषक मानबहादुर लिम्बूले बताए । उनले गत वर्ष साढे दुई लाखको सुन्तला बिक्री गरेको सुनाए ।

तर, यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको उनले भनाइ छ । उनले भने, ‘कहिले असिनाले झार्छ, कहिले औँसा पर्छ ।’

सुन्तलामा औँसा पर्ने समस्या उनको मात्रै होइन । बिक्रीका लागि बजारको बन्दोबस्ती गर्दै गरेका किसान बोटबाटै सुन्तला झर्न थालेपछि समस्यामा परेका छन् । फुङ्लिङ नगरपालिकाका अधिकांश ठाउँमा सुन्तला झर्ने समस्या व्याप्त रहेको छ ।

‘समय नै यस्तै होकी, माटो पो बिग्रेको होकी, सुन्तला पनि झरेरै सकिन लाग्यो ।’ मानबहादुरले भने,‘ न सबै फ्याँक्नु न के गर्नु, हाम्रो आयश्रोत भनेको यीनै थिए । तर सबै काम लागेनन् ।’

यस्तै किराका कारण सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा संक्रमण फैलिएको छ । यता वडा कार्यालयले भने आगामी वर्षमा भने विज्ञहरुसँग परामर्श लिएर सुन्तला कृषकको समस्या समाधान गर्ने फुनपा–३ का वडाध्यक्ष युवराज बरालले बताए ।

यस आर्थिक वर्षमा समेत वडाको बजेटबाट सुन्तला पकेट क्षेत्रमा २ लाख रुपैयाँ विनियोजन गरि सुन्तला खेती विस्तारका लागि खर्च गरेको वडाध्यक्ष बरालले जानकारी दिए । ‘हामीले सुन्तला पकेट क्षेत्रका लागि बजेट पनि विनियोजन गरि काम भैरहेको छ ।’

वडाध्यक्ष बरालले भने, ‘यसवर्ष सुन्तला ढिलो पाक्ने र बोटबाट झर्ने समस्या आएको छ । यसको समाधानका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर विज्ञहरुको परामर्शमा यसको उपचार खोज्छौँ ।’

झरेका फल बाक्लो प्लास्टिकको थैलोमा जम्मा गरी थैलोको मुख हावा नछिर्ने गरी बन्द गरी त्यसमा रहेका औँसाका लार्भा मार्न सकिने कृषी प्राविधिकहरु बताउँछन् । झरेका फलको औँसा व्यवस्थापन नगरे अर्को वर्ष पनि यस्तै समस्या झनै फैलने जानकारहरुको भनाई छ ।

औँसा किराको प्रकोप नियन्त्रणका लागि किरा लागेर झरेका फललाई नै उचित व्यवस्थापन गर्नु उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन् ।