धरान/ चिस्यान घर (कोल्डरुम) को अभावमा स्थानीय फलफूल र हरियो तरकारी चाँडै बिग्रिने समस्याबाट आजित बनेका किसान तथा व्यापारीहरू अब त्यो चिन्ताबाट मुक्त भएका छन् ।
धरानको कृषिउपज बजार स्थलले ७५ टन क्षमताको चिस्यान घर सञ्चालनमा ल्याएसँगै अब समस्या हट्ने भएको हो । किसानका लागि २५ टन क्षमताको चिस्यान घर छुट्याइएको छ भने व्यापारीका लागि ५० टनको ‘चेम्बर’ छुट्याइएको छ । ‘किसानको चिस्यान घरमा पहिलो प्राथमिकता किसानलाई नै हुन्छ, उनीहरूले नराख्न चाहेको अवस्थामा मात्रै व्यापारीलाई दिन्छौं’–बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने ।
चिस्यान घरको परीक्षण थालिएको छ । एक महिनासम्म परीक्षणकाल रहेको छ । ‘एक महिनासम्म विद्युत् तथा प्राविधिक खर्च कति आउने रहेछ, त्यो आधारमा चिस्यान गर्दा लाग्ने खर्चको हिसाब हुनेछ’–व्यवस्थापक भट्टराईले भने । उनका अनुसार चिस्यान घरमा राख्दा औसतमा प्रतिकेजी २ देखि ३ रुपैयाँ र कार्टुनमा २५ रुपैयाँसम्म पर्नसक्छ । अहिले स्याउ राखिएको छ ।
स्थानीय रूपमा उत्पादित सुन्तला, नासपातीलगायतका फलफूल चिस्यान अभावमा टिपेर ल्याएको केहीदिनभित्रै बेच्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको बजार स्थलका अध्यक्ष परशुराम कट्वालले बताए । यसले सबैभन्दा बढी उपभोक्तालाई फाइदा पुग्ने भएको छ । उनले भने, ‘यहीँ नै चिस्यान गर्न पाउँदा मूल्य नियन्त्रण गर्न सजिलो हुन्छ ।
उपभोक्ताले ताजा पनि खान पाउँछन् ।’ अब पूर्वी पहाडी जिल्लामा उत्पादित नासपाती, सुन्तला झण्डै तीन महिना पछाडिसम्म खान पाउने भएका छन् । अहिले सुन्तला चैतसम्म मात्रै पाइन्छ । चिस्यान घर हुँदा झण्डै तीन महिनाजति त्यहाँ राखेर बजारमा बेच्न मिल्छ । स्याउ झण्डै एक वर्षसम्म राख्न मिल्ने बताइन्छ ।
प्रदेश सरकारको ५० लाख र कृषि बजारको २५ लाख रुपैयाँको लागतमा चिस्यान घर निर्माण भएको हो । यसलाई आगामी वर्षबाट थप्ने योजनामा बजार रहेको छ । ‘हाम्रो योजना साढे ३ सय टन क्षमताको कोल्डस्टोर राख्ने भन्ने हो’ अध्यक्ष कट्वालले भने, ‘सङ्घीय सरकारसँग पनि कुरा भइरहेको छ । प्रदेश सरकारसँग पनि थप बजेटको माग गरेका छौं ।’ चिस्यान घर राख्ने देशभरिका थोक बजारमध्ये पहिलो हो । सङ्घीय सरकार मातहतमा ११ वटा थोक बजार छन् । काठमाडौंको कालिमाटी तरकारी बजार कृषि मन्त्रालय अन्तर्गत छ ।
यी बजारहरूमा पनि चिस्यान घरको अभाव छ । स्थानीय व्यापारीहरूले अन्यत्रबाट ल्याएर फलफूल बेच्दै आएका छन् । कृषिउपज बजार स्थलमा दैनिक २५ टन हरियो तरकारी किनबेच हुन्छ । त्यस्तै स्याउ मात्रै वार्षिक ४ हजार मेट्रिक टन बिक्री हुँदै आएको छ भने स्थानीय पहाडी जिल्लामा उत्पादन भएको सुन्तला ५ हजार मेट्रिक टन बिक्री हुँदै आएको छ । तर, सुन्तला भने टिपेको केही दिनभित्रै बेच्नुपर्ने बाध्यता थियो ।
विशेषगरी स्याउ भारत र चीनबाट आउने गरेको छ । चिस्यान घरको अभाव हुँदा चीन तथा भारतबाट आएका गाडीहरूले अन्यत्र नै भण्डारण गरेर थोक व्यापारीले कृषि बजारमा ल्याउने गर्दथे । अब भने सिधै धरानमै भण्डारण हुने भएपछि उपभोक्ताले केही कम मूल्यमा खरिद गर्न पाउने अध्यक्ष कट्वालको भनाइ छ । ‘व्यापारीले अरूतिर भण्डारण गर्नुपर्ने बाध्यता थियो, अब गाडीहरू सिधै यहाँ ल्याउँदा केही सस्तो पर्ने भयो’ –उनले भने ।