दमक/ सरकारले मोटा धानको प्रतिक्वीण्टल समर्थन मूल्य २ हजार ७ सय ३५ रुपैयाँ र २ हजार ८ सय ८५ रुपैयाँ सोना मन्सुली (मध्यम् धान) को समर्थन मूल्य तोकेको छ । तर, प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत धान सुपरजोन सञ्चालन भएको झापामा समर्थन मूल्य बराबरको धानको मूल्य किसानले पाउन सकेका छैनन् । सधैँभरि बिचौलीयाकै मूल्यमा उनीहरू धान बेच्न बाध्य भएका छन् ।

सरकारले हरेक वर्ष धानको समर्थन मूल्य तोक्ने गर्छ । तर, समर्थन मूल्यमा खरिद गर्ने केन्द्र नहुँदा कृषकले न्यून मूल्यमा धान बेच्नुपर्ने बाध्यता छ । सरकारले धानको मूल्य तोक्दा कृषकमा देखिएको उत्साह भने धान बेच्ने बेलामा कृषकसँग छैन । विगत वर्षमा जस्तै झापाका कृषकका लागि धानको समर्थन मूल्य आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ । खेती गर्ने समयमा कृषि मजदुर नपाइनु, मल बिउको उस्तै समस्या हुनु अनि कृषकले उत्पादन गरेको धान बिक्री गर्ने समयमा धानले उचित मूल्य नपाउनु किसानको वर्षाैंदेखिको पीडा यथावत् नै छ ।

सरकारले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड संस्था मार्फत् धान खरिद गर्ने भने पनि त्यसो हुन सकेको छैन । किसानहरू सरकारलाई प्रश्न गरिरहेका छन् कि धानको समर्थन मूल्य बराबरको मूल्य हामीले कहिले पाउने ? झापाको बाह्रदशीका किसान दिलिप सिग्देल भन्छन्, ‘सरकारको मूल्य एकातिर छ, बिचौलीयाहरूको मूल्य अर्कोतिर । सरकारले तोकेको मूल्यमा सरकारले किनिदिएको छैन । हामी किसानले बाध्य भएर त्यही बिचौलीयालाई उसैले निर्धारण गरेको मूल्यमा धान बेच्न बाध्य हुनुपरेको छ ।’

यता खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड शाखाले सरकारले धानको समर्थन मूल्य तोकेसँगै खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ । सरकारले धानको प्रतिक्वीण्टल समर्थन मूल्य २ हजार ७ सय ३५ रुपैयाँ मोटा धानको र २ हजार ८ सय ८५ रुपैयाँ सोना मन्सुली (मध्यम् धान) को समर्थन मूल्य तोकेको कम्पनीले जनाएको छ ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले कृषकको मात्रै धान खरिद गर्दै आएको जनाएको छ । कम्पनीका गुणस्तर नियन्त्रण अधिकृत अनन्तराज पौडेलले बिचौलीयाको धान खरिद नगरी सोझै किसानले बिक्री गरेको धान मात्रै कम्पनीले खरिद गर्ने बताए ।

झापामा धान सुपरजोन कार्यक्रम सञ्चालन भए पनि कृषकले उत्पादन गरेको अन्नबालीले उचित बजार नपाउनु, र सरकारले पनि सीमित कोटा छुट्याएर मात्रै धान खरिद गर्दा वास्तविक किसान सधैँ मारमा पर्ने गरेका छन् । झापामा यो वर्ष ८७ हजार ५ सय हेक्टरमा धान खेती गरिएको छ भने यसबाट ४ लाख २८ हजार ७ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।