धरान/ बैङ्किङ कसुर मुद्दाका आरोपित सङ्खुवासभा खाँदबारीका दिनेश चौहानलाई इटहरी प्रहरीले हाजिरामा छाडेपछि पीडितले अन्याय भएको महसुस गरेका छन् ।

विराटनगर उच्च अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा खाँदबारी प्रहरीले कात्तिक २८ गते पक्राउ गरी मुद्दा परेको क्षेत्र इलाका प्रहरी कार्यालय इटहरीमा आरोपित चौहानलाई जिम्मा लगाएको थियो । पक्राउ परेर ल्याएको केही घण्टा नबित्दै छाडिनुलाई पीडित सपना सुवेदीले प्रहरीको नियतमाथि शङ्का गरेकी छन् । उनी भन्छिन्, ‘पक्राउ गरेर ल्याइयो भनेर सुनियो, ल्याएको केही समयपछि नै हाजिरामा छाडिएको सुन्नमा आयो, बुझ्दा पनि त्यस्तै कुरा आएको छ ।’ आरोपित चौहानविरुद्ध कात्तिक २० गते चेक बाउन्समा मुद्दा हालिएको देखिन्छ ।

तर, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले अनुसन्धान अधिकारीको तजबिजमा हाजिरा जमानीमा छाड्न सक्ने अधिकार हुने दाबी गरे । ‘अनुसन्धान अधिकारीले उपयुक्त ठानेको अवस्थामा हाजिरामा छाड्न मिल्छ’ उनले ब्लाष्टकर्मीलाई फोनसम्पर्कमा भने, ‘केही दिनमै अदालतमा हाजिर गराउँछौं ।’ तर, उनले अदालतमा हाजिर गराउने विषयमा स्पष्टसँग मिति उल्लेख गरेनन् । उनले भने, ‘जुवाजन्य मुद्दाहरू थुप्रै छन्, त्यो सकिएलगत्तै हामी बुझाउँछौं ।’

एक कानून व्यवसायीका अनुसार अदालतको पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा पक्राउ गरेर ल्याएको आरोपितलाई छाड्न मिल्दैन । बैङ्किङ कसुरलाई पनि मुलुकी अपराध संहिता २०७४ अनुसार फौजदारी मुद्दा अन्तर्गत समेटेको छ । आरोपित चौहानले पीडित सुवेदीको पतिबाट २०७३ साल फागुन १० गते आर्थिक लेनदेन गरेको उनले बताइन् ।

सोही आर्थिक लेनदेन मिलान गर्नका लागि पटक–पटक माग्दा विभिन्न धाकधम्कीसमेत दिँदै आएको उनको आरोप छ । ‘पटक–पटक चेक काटेर दिएको छ, तर सबै चेक बाउन्स हुन्छ, पछिल्लो पटक असोज र कात्तिकमा गरी प्राइम बैङ्कको २५ लाख रुपैयाँको चेक काटेर दिएको थियो’ उनले भनिन्, ‘त्यो चेक पनि बाउन्स भएपछि बाध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ ।’ उनको पति पनि प्रहरी सेवामै संलग्न छन् ।

पति रामबाबु सुवेदीका अनुसार २०७३ सालमा व्यवसायका लागि पैसा मागेपछि घरपरिवारको रोहवरमै रकम दिएका थिए । चौहानका दाजु उमेश चौहान व्यवसाय गर्ने भएकाले त्यसबेलामा ‘रेडबुलको डिलर गुम्ने भयो’ भनेपछि तत्कालीन अवस्थामा दुई चरण गरेर रकम दिएको उनले बताए । उनले भने, ‘तत्काल चौध लाख रुपैयाँ चाहिँ बैङ्कमा नै हालिदिएको हुँ, अरू रकम केहीपछि नगद नै दिएँ ।’ आफूले पनि इटहरीमा घर किनेपछि पैसा चाहिएकाले रकम माग्दा आलटाल गर्ने र चेक दिँदा पनि बाउन्स हुँदै आएपछि बाध्य भएर पत्नीको नाममा उजुरी दर्ता गराएको उनले बताए ।

पीडक र पीडित नाताले मामा र फुपूका छोराहरू हुन् । नाताले उनीहरू दाजुभाइ पर्छन् । अनुसन्धानमा लामो समय कार्यरत भई हालै अवकाशप्राप्त निवर्तमान प्रहरी अधिकारीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि हाजिरामा छाड्न मिल्दै मिल्दैन । अदालतमा म्याद थप गरेर प्रक्रिया अगाडि बढाउनु पर्ने सामान्यतः नियम भएको उनी बताउँछन् । ‘अदालतले के गर्छ, त्यो उसको पाटो हो, पक्राउ पुर्जी जारी गरेपछि त्यसरी छाड्न कसरी मिल्ला ?’ उनी भन्छन्, ‘यस्तो मुद्दामा प्रहरीचाहिँ विवादित बन्यो ।’ पीडितहरू पहुँचका भरमा छाडिएको हुनसक्ने अनुमान लगाउँछन् ।

यता आरोपित चौहानका दाजु उमेश चौहानलाई सम्पर्क गर्दा उनले विगतदेखि नै लेनदेन हुँदै आएको बताए । पछिल्लो समय व्यवसायको लागि भाइले चलाएको रकमको हकमा तिर्न केही ढिलाइ भएको स्वीकार गर्दै पैसा केही ढिला आएकाले चेक बाउन्स भएको हुनसक्ने बताए । उनले भने, ‘समयमै दिन सकिएन, अहिले आएर मुद्दा हालेछ ।’ उनले सुवेदी दम्पतीविरुद्ध आफूसँग पनि थुप्रै विषयमा लेनदेन भएको कागजात र प्रमाणहरू रहेको बताए । ‘मुद्दा त हामी पनि हाल्न सक्छौं’ –उनले भने ।