विराटनगर/ आधा दर्जन उद्योगले उत्पादन गरेको सेनिटाइजरमा स्वास्थ्यलाई असर गर्ने विषाक्त रसायन (मिथानोल) मिसाएको भेटिएको छ । मोरङ र सुनसरीका ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल मिसाएको पुष्टि भएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरले नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका ६ उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोलको मात्रा धेरै भेटिएको हो । प्रयोगशालाबाट मिथानोल मिसाएको पुष्टि भएको रिपोर्ट औषधि व्यवस्था विभाग विराटनगरले पाएपछि विराटनगर–१५ स्थित अनिल चौधरीले सञ्चालन गरेको ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर नष्ट गरेको छ ।

विभागले तोकेको मापदण्ड पूरा नगरेपछि गत असोज १३ गते औषधि व्यवस्था कार्यालय विराटनगरले ग्यालेक्सीले उत्पादन गरेको सेनिटाइजर उद्योग अनुगमन गरी १ सय ९४ कार्टुन सेनिटाइजर जफत गरेको थियो । नमुना सङ्कलन गरी सो उद्यागेले उत्पादन गरेको सेनिटाइजर परीक्षण गर्न राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । हालै आएको रिपोर्टमा ग्यालेक्सीसहित मोरङ र सुनसरीका ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल प्रयोग गरेको भेटिएको हो ।

मिथानोल प्रयोग गरेको पुष्टि भएपछि ग्यालेक्सी सर्जिकलले उत्पादन गरेको १ सय ९४ वटा कार्टुनमा रहेको करिब २ हजार लिटर स्यानिटाइजर औषधि व्यवस्था विभागले नष्ट गरेको छ । यसैगरी उमानन्द यादवले सञ्चालनमा ल्याएको सुनसरीको नरसिङ गाउँपालिका–४ स्थित ‘सीता हर्बल केमिकल उद्योग’, धरानस्थित मकालु जडिबुटी उद्योग प्रालि, विराटनगरका सुनिमा उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल प्रयोग भएको पुष्टि भएको छ ।

‘मोरङ र सुनसरीका ७ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरको स्याम्पल कलेक्सन गरेर राष्ट्रिय औषधि प्रयोगशालमा परीक्षणको लागि पठाएका थियौं’ औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले भने, ‘केही दिन अगाडि आएको रिपोर्टमा ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल प्रयोग गरेको भेटिएको छ ।’ ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजर बजारमा भेटिए जफत गरेर नष्ट गरिने विभागले जनाएको छ । मिथानोल प्रयोग गरेको सुमिना उद्योगको विभागले अहिले पनि ठेगाना पत्ता लगाउन सकेको छैन ।

ठेगाना विराटनगर भए पनि कहाँ भएको जानकारी नपाएपछि खोजी गरिदिन विभागले मोरङ प्रहरीलाई आग्रहसहित पत्राचार गरेको छ । विषाक्त रसायन (मिथानोल) मिश्रित ह्याण्ड सेनिटाइजरको प्रयोगले हात सुन्निने, फुस्रो हुने, फुट्ने, मानिस कोमामा जाने र मान्छेको मृत्युसमेत हुनसक्ने चिकित्सकको भनाइ छ । त्यसैले बजारमा मिथानोल प्रयोग भएका ह्याण्ड सेनिटाइजरलाई रोक लगाइएको विभागले जनाएको छ । विभागले यसअघि रोक लगाएका १८ प्रकारका सेनिटाइजरमध्ये १४ वटामा मिथानोल प्रयोग भएको पाइएको थियो ।

के छ मापदण्ड ?
प्रायः एक सय एमएलको सेनिटाइजरमा ८० एमएल इथानोल र बाँकी २० एमएल पानी, हाइड्रोजन पेरोक्साइड र ग्लिसिरोल हुन्छ । हाड्रोजन पेरोक्साइड सेनिटाइजरमा ब्याक्टेरियाको कण्टामिनेसन नहोस् भनेर प्रयोग गरिन्छ भने ग्लिसिरोलले मोस्चराइजरका रूपमा काम गर्छ । यी कम्पाउण्डको प्रयोगलाई अनिवार्य गरिएको छ ।

सेनिटाइजर तयार गरेपछि उद्योगले पुनः यसको गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने मापदण्डमा छ । यसमा उपयुक्त लेबल र ढुवानी गर्दाको मापदण्डलाई पनि अनिवार्य गरिएको छ । सेनिटाइजरमा कुनै पनि किसिमका हानिकारक तथा सूक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने नियम रहेको औषधि व्यवस्था विभागले जनाएको छ ।