‘विशेषज्ञ नभएका मान्छेबाट पुस्तक लेखाइयो’

alt
  • कार्तिक २६, २०७७
  • ब्लाष्ट खबर

प्रा.डा. टङ्कप्रसाद न्यौपाने आफैमा एक परिचित नाम हो । उहाँ भाषा र साहित्यका क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । शिक्षा क्षेत्रमा पनि लामो समयदेखि अभ्यस्त हुनुभएकाले उहाँसँग समसामयिक शैक्षणिक विषयमा ब्लाष्टकर्मीले गरेको कुराकानीको सम्पादित अंशः

यसै वर्षदेखि नयाँ शिक्षामा लागू गरिएको कक्षा ११ को हाम्रो नेपाली किताबप्रति तपाईंको आपत्ति चाहिँ किन ?
–आपत्ति दुईवटा कुरामा हो । पहिलो कुरा, व्याकरणका सम्बन्धमा हो । उदाहरणका लागि सुधा त्रिपाठीको एउटा लेखमा सरल र तिर्यक् कारकको वास्ता गरिएको छैन; जस्तैः एक ठाउँमा मेरो हृदयमा छ, अर्को ठाउँमा मेरा मनमा छ । दुवै ठाउँमा तिर्यक् कारक हुनुपर्ने । यसकारण सिर्जनामा विरोधाभास भयो । एउटा यो । दोस्रो कुरा, छिटोछिटो पाठ्यपुस्तक फेर्नु हुँदैन । त्यसमाथि पनि विशेषज्ञ नभएका मान्छेबाट पुस्तक लेखाइयो । यसकारण आपत्ति हो ।

तपाईंले अभ्यास पक्ष कमजोर छ, भन्नुभयो, कस्ता कमजोरी छन् ?
–अभ्यास पक्ष कमजोर छ । अभ्यास पक्षमा के हुनुपर्छ भने अलिकति त्यससँग सम्बन्धित परिचय हुनुपर्छ । अनि अभ्यास गराउने हो; जस्तैः सर्वनामको परिचय छैन, वर्गीकरण पनि छैन तर, सर्वनामहरू छुट्याऊ भनेर अभ्यास दिइएको छ । यसो गर्दा शिक्षकहरूलाई कठिनाइ हुन्छ । सबै शिक्षकहरू विषयमा पारङ्गत छैनन् । त्यसैले यो गाइड लेख्नलाई ठाउँ छाडिएको हो कि भन्ने लाग्छ । त्यसैले अभ्यास पक्षमा कमजोरीहरू भएका छन् ।

यसअघिको नेपाली किताबको वर्णविन्यासप्रति पनि तपाईंको केही आपत्ति रहेको थियो, भाषाप्रति यति चिन्ता किन ?
–यसभन्दा अगाडिको सबैको नेपाली भन्ने पुस्तकमा भएको वर्णविन्यास र पदयोग वियोगका बारेमा चिन्ता गरेकै हुँ । पदयोग वियोगले अर्थमा फरक पार्दछ; जस्तैः हरिप्रसाद खान्छ कि हरि प्रसाद खान्छ । यसले अर्थमा भिन्नता ल्याएको छ । भाषा सम्प्रेषणका लागि मात्रै होइन । एउटा अनुशासन पनि हो । यस प्रसङ्गमा म एउटा अठारौं शताब्दीको डाक्टर जोन्सनको शब्दकोशको प्रसङ्ग सम्झन्छु, । त्यसबेला बेलायती संसद्मा प्रस्तुत भएको कुनै विधेयकको शब्द जोन्सनको शब्दकोशमा नभएका कारणले विधेयक नै खारेज गरियो । किनभने त्यसले बेलायतीहरूलाई मर्यादाबाट स्खलित भएको देखाउन सक्थ्यो । भाषाको महत्व यस्तो हुन्छ ।

अहिले कक्षा ११ को पाठ्यक्रमलाई लिएर गणित विषयका विद्यार्थीहरूले सर्वोच्च अदालतमा मुद्दा हालेको अवस्था छ, भोलि अन्तिम सुनुवाइ पनि हुँदै छ, के तपाईंले उठाउन खोज्नुभएको विषयलाई अदालतले सम्बोधन गर्ला ?
–मलाई के लाग्छ भने अहिलेको मुख्य मुद्दा भनेको नेपाली विषयको मात्रै होइन, समग्र पाठ्यक्रमको हो । त्यसभित्र नेपाली पनि पर्दछ । अदालतले यही कात्तिक १९ गते अन्तरिम आदेश दिएको अवस्था छ । भोलि के होला भन्न सकिन्न तर, केही न केही हुन्छ भन्ने विश्वास छ । किनभने पाठ्यक्रमले समग्र कक्षाको स्थितिलाई बताउँछ । अहिले कस्तो पनि अवस्था छ भने विशेष गरेर बोर्डिङ स्कुलहरूले नौ कक्षाको पाठ्यपुस्तक नपढाएर एकैचोटी दुई वर्षसम्म दश कक्षाको पाठ्यपुस्तक पढाउँछन् । यसको कारण अन्तिम परीक्षामा आफ्नो विद्यालयका विद्यार्थी उच्च श्रेणीमा उत्तीर्ण होउन् भनेर हो । यसले गर्दा विद्यार्थी यान्त्रिक भएका छन् । फलस्वरूप लोकसेवा आयोगलगायतका परीक्षाहरूमा बोर्डिङ स्कुलका विद्यार्थीहरू उत्तीर्ण हुने प्रतिशत अत्यन्त कम छ । यसो नहुनुपर्ने हो । यसबारेमा पनि अदालतले बोल्छ कि भन्ने मलाई आशा छ ।

पाठ्यक्रममा हालिने नेपाली सामग्रीका विषय, वर्णविन्यासको विषयमा प्रशस्तै त्रुटिहरू देखिने गरेको छ, यस्ता विषयमा पाठ्यक्रम बनाउनेहरूले किन ध्यान नदिएका होलान् ?
–नेपाली विषयका पाठ्यपुस्तकमा आधारभूत शब्दको ज्ञान दिइँदैन; जस्तैः उनान्साठी भन्न आउँदैन । फिप्टीनाइन भन्छन् । यसअवस्थामा तल्लो कक्षादेखि क्रमशः वर्णमाला र सामाजिक संरचनासँग सम्बन्धित शब्दहरूको शिक्षण गरिनु पर्दछ । मूल कुरा, हाम्रो उत्पादित जनशक्ति नेपालकै लागि हो । विदेशका लागि त केही समयको तालिमले पनि भाषा प्रशिक्षण पुग्दछ । खास गरेर संयुक्त वर्णको पहिचान विद्यार्थीले गर्न छाडे । यसतिर विशेष ध्यान दिनु अनिवार्य छ । यसतिर पाठ्यपुस्तक लेख्नेहरूले किन ध्यान नदिएको भन्ने लाग्छ भने पहिलो कुरा उनीहरूले सामान्य सम्प्रेषणलाई मात्रै महत्व दिए । दोस्रो कुरा, जसको मातृभाषा नेपाली होइन, उनीहरूले पुस्तक लेख्न थाले । यसमा आर्थिक चलखेल भएको हो ।

अन्त्यमा ?
–नेपाली भाषाप्रतिको उपेक्षा बढ्दै गएको छ । यसो हुने कुरामा कुनै विदेशी संस्थाको भूमिका छ भन्ने मलाई लागेको छ । किनभने नेपाली वक्ताहरूको सङ्ख्या कम देखाउन २०६८ सालको जनगणनामा नेपालीका भाषिका मानिँदै आएका बाजुराली, डोटेलीलगायतका पश्चिमी भाषिकाहरूलाई नेपाली भाषासरहको मान्यता दिइयो । यसले गर्दा वक्ता सङ्ख्या कम देखियो । यसै क्रममा वर्णविन्यासको झमेला पनि उठाइएको बुझिन्छ । परिणामस्वरूप प्रज्ञा प्रतिष्ठानले पनि आफ्ना पुराना शब्दकोशलाई खारेज गरेर २०७५ सालको नयाँ शब्दकोश जारी ग¥यो । यसरी नेपालमा भाषाहरूको नियामक संस्था भएन । त्यो आवश्यक छ । त्यतिमात्रै होइन, पत्रकारिताको भाषामा पनि कमजोरी छ । उदाहरणका लागि अङ्ग्रेजी सरहको वाक्यसंरचना बनाउँदै राष्ट्रपतिलाई तिमी भनिन्छ । नेपाली भाषाको मौलिक स्वरूप हरायो । त्यसैले यसतर्फ सबै सचेत हुन आवश्यक छ ।

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

बिरामी बोकेको पिकअप ...

ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै ...

भारतीय विदेश सचिव श ...

ब्लाष्टखबर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई ...

बिहिबार सुनचाँदीको म ...

ब्लाष्टखबर । नेपालमा बिहिबार सुनचादिकाे मुल्य स्थितर बन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved