विजयपुर/ स्वदेशलाई नै विदेश बनाउन अढाई दशकपछि गाउँ फर्किएका भोजपुर टेम्केमैयुङ–८ का शम्भुप्रसाद नेपाल ड्रागन फल खेतीमा जुटेका छन् ।
‘केही युवालाई मेरो फर्ममा रोजगार दिने सोच छ, त्यहीअनुसार अहिले फर्म विस्तारमा लागेको छु’ –उनले भने । गाउँ छाडेर मोरङको विराटनगरमा बस्दै आएका उनी केही वर्षअघि मात्रै कृषिकर्म गर्ने भनी फर्किएका थिए । तर, विराटनगरको बसाइ बिट मार्दै ड्रागन फल र कागती खेती थालेका हुन् । सिउँडी प्रजातिको मानिने ड्रागन फलको पछिल्लो समय नेपालमा खेती हुन थालेको छ । उनले युवालाई ‘व्यवसायमा लाग्न’ प्रेरित गर्दै आएका छन् ।
उनले यसबाट दुईवटा फाइदा देखेका छन् । उनी भन्छन्, ‘एउटा त युवा स्वयम् आत्मनिर्भर हुन्छ, अर्को भविष्य राम्रो भएपछि बसाइ सराइ अन्त्य भएर जान्छ ।’ पहाडका जमिन यतिबेला बञ्जर बनेका छन् । बञ्जर भूमिमा पसिना बगाउन सके राम्रो आम्दानी पनि लिन सकिने उनको भनाइ छ । ‘म आफै पनि २५ वर्ष बाहिर बसेको मान्छे हुँ, गाउँमै केही गर्नुपर्छ भनेर फर्किएको छु’ –उनले भने । उनी २०६८ देखि गाउँलाई हराभरा बनाउन लागेका छन् ।
२५ रोपनी जग्गामा ड्रागन फल लगाएका छन् । उनले भारतको पटना र गुजरातबाट ड्रागन फलको बिरुवा ल्याएका थिए । करिब तीस लाख रुपैयाँ लगानी भएको उनी बताउँछन् । फलफूल तथा पशुपालन फर्म खोलेर अहिले खेती गरिरहेका छन् । ड्रागन पनि दुई खालका लगाएका छन् । एउटा सेतो प्रजातिमा छ भने अर्को रातो प्रजातिमा छ । समुद्र सतहबाट १५ सय मिटर उचाइ ड्रागन फलको लागि उत्तम मानिन्छ । उनका अनुसार बिरुवा रोपेको १८ महिनादेखि २ वर्षभित्रमा फल्न सुरु हुन्छ । ‘वर्षमा पाँच पटकसम्म फल दिन्छ, जेठदेखि मङ्सिरसम्म फल्छ, आम्दानीका हिसाबले पनि राम्रो छ, उत्पादनको हिसाबले पनि’ उनी भन्छन्, ‘फल नलागी नै आम्दानी लिन सकिन्छ । यसको बिरुवाको माग उच्च छ ।’
कृषि कर्ममा लागेयता कृषि ज्ञान केन्द्रले उनलाई २ लाख रुपैयाँ अनुदान दिएको छ । तर, यो अनुदान उनको लागि पर्याप्त नभएको ठान्छन् । ‘स्थानीय तहबाट कुनै अनुदान छैन’ उनी भन्छन्, ‘सरकारको कृषि नीति चाहिँ प्रोत्साहन गर्ने भन्ने छ, तर सहयोग भने पटक्कै छैन ।’ उनको फर्ममा कागती पनि छ । वर्षमा करिब १० लाख रुपैयाँ आम्दानी लिने गरेका छन् । १८ रोपनी जग्गामा लगाएको कागतीले उनलाई मनग्य आम्दानी दिएको छ ।
तर, सबैभन्दा ठूलो समस्या भने बजारको देख्छन् उनी । विगत वर्षहरूमा काठमाडौंसम्म पुर्याउँदै आएका थिए । यो वर्ष कोरोना भाइरसको महामारीले त्यो पनि गर्न सकेनन् । जसको परिणाम सयौं केजी कागती नष्ट भएको उनी सुनाउँछन् । ‘यो वर्ष मलाई १० लाख रुपैयाँ कागतीबाट घाटा भयो’ –उनी भन्छन् । उनकै जस्तो पीडा अर्का कागती कृषक सीताराम लुइँटेलको पनि छ । ‘यो वर्ष कागतीको उत्पादन नै कम भयो’ –उनले भने । तर, कागतीलाई चुक बनाएर प्रयोगमा ल्याउने प्रयासमा छन् । अमिलोको सट्टा अहिले कागतीको बियाँबाट आम्दानी लिइरहेका छन् । नर्सरीका लागि कृषकहरूले बियाँ लाने गरेका छन् । एक केजी बियाँ ८ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।