धरान/ मुलुकभरिका थोक बजारहरूमा धरान–१३ स्थित कृषिउपज बजार फेरि पनि सर्वोत्कृष्ट घोषित भएको छ । धरानको कृषि बजारले पाएको यो सर्वोत्कृष्ट पुरस्कार सातौं हो ।

काठमाडौंको कालीमाटीसहित मुलुकभर दुई दर्जन बढी कृषिउपज बजार छन् । धरान कृषिउपज बजारमा विभिन्न जिल्लाबाट आफ्नो कृषिजन्य उत्पादन, चौपाया लिएर आउने कृषकका लागि सुविधायुक्त आवास, सेनिटरी प्याडसहितको महिलामैत्री शौचालय, स्नान गृह, फिल्टर प्लाण्टसहितको शुद्ध खानेपानी, फ्रि वाईफाई, सिसीटिभी क्यामेरा, शीत भण्डार, कृषक घर, गोदाम घर, तालिम हललगायत रहेका छन् ।

बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘स्थापनाको केही वर्षसम्म बजार सञ्चालन गर्न आफ्नो आम्दानी नहुँदा धरानका तत्कालीन मेयर मनोजकुमार मेन्याङ्बोले नगरपालिकाबाट ५० हजार ऋण लिएर सेवा दिन सुरु गरिएको बजार हाल आएर धरानको मात्र नभएर देशकै नमुना कृषि थोकबजारको रूपमा विकास भइरहेको छ ।’ उनका अनुसार यसअघि २०६१, २०६३, २०६८, २०७२, २०७५ र २०७६ सालमा उत्कृष्ट पुरस्कार पाएको धरानको कृषिबजारले यसपटक प्रदेशका विभिन्न जिल्लाका उत्पादनहरू सङ्कलन गरेर बिक्री वितरण गर्दै आएको र कृषक, व्यापारी तथा उपभोक्तामाझ समन्वय र व्यवस्थापन गर्न सफल भएकोले फेरि पनि उत्कृष्ट पुरस्कार पाएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट व्यवस्थापन पुरस्कार पाएको हो । बजार व्यवस्थापक भट्टराईका अनुसार विदेश निर्यात, कृषि उत्पादन, बजार सेवा, मूल्य निर्धारण लगायतको मापदण्डको आधारमा विश्व खाद्य दिवसको अवसरमा नेपालभरिका कृषि थोकबजारहरूलाई पुरस्कृत गरिन्छ ।

पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुको सङ्कलन गर्ने, व्यापार–व्यवसाय गर्ने उद्देश्यले ०५२ सालमा एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा कृषि मन्त्रालयको स्वामित्वमा रहने गरी पूर्वाधारसहित धरान कृषिउपज बजार स्थापना गरिएको थियो । पूर्वी पहाडमा उत्पादित तरकारी बालीमा आलु, गोलभेंडा, बन्दाकोभी, फूलकोभी, इस्कुस, मुला, हरियो साग, मुण्टा, सिमी, बैगुन, काँक्रा, गाँजर, केराउ, करेला, भेडे खुर्सानी, तामा र अदुवा, अलैंची, तेजपत्ता लगायत सबै धरान हुँदै अन्यत्र जाने गरेका छन् ।

उनका अनुसार धरानबाट भारतको बाटो भएर जाने सुन्तलाको तेस्रो मुलुकमा माग बढेको छ । मसलाजन्य बालीमा अदुवा, लसुन, खुर्सानी, तेजपत्ता, बेसारको पनि उत्तिकै कारोबार हुने गरेको छ । तीमध्ये अदुवा ९० प्रतिशत, तेजपत्ता ९० प्रतिशत, बेसार ३० प्रतिशत भारतीय बजारमा निर्यात हुने गरेको छ । वार्षिकरूपमा करिब साढे पाँच अर्बको कारोबार गर्दै आएको धरानका कृषि बजार कोशी करिडोरका कृषक र व्यापारीका लागि व्यापारिक थलो भएको छ । पुरस्कृत भएबापत पूुर्वाधार विकासको कुनै योजना छनौट गर्ने अवसरसमेत पाउने बताइएको छ । गतवर्ष कार्यालय भवन निर्माणका लागि ३० लाख बजेट दिएको थियो ।

समितिले कार्यालय भवन बनाइसकेको छ । उनले भने, ‘पुरस्कृत भएपछि यो वर्षका लागि आइतबार व्यवस्थापन समितिको बैठक बसेर आग्र्यानिक तरिकाले फलफूल पकाउने च्याम्बर निर्माण र आवास गृहको स्तरोन्नतिका लागि मन्त्रालयलाई प्रस्ताव पठाउने निर्णय भएको छ ।’ गत आर्थिक वर्षमा १ लाख ४५ हजार मेट्रिक टन बराबर कृषि वस्तुको कारोबार भएको थियो । कारोबारको २० प्रतिशत भारत निर्यात भएको थियो । धरानको कृषि बजारसँगै यो वर्ष दोस्रोमा बिर्तामोडस्थित कृषिउपज बजार र तेस्रो पोखराको कृषिउपज बजार घोषित भएका छन् । यस्तै उत्कृष्ट व्यवसायीमा प्रथम वीरेन्द्रनगरका लक्ष्मण खत्री, दोस्रोमा बिर्तामोडका खगेन्द्र महतो र तेस्रोमा धरानकै अजयकुमार गुप्ता छानिएका छन् ।