इटहरी/ तिहार ढिला भएका कारण फूल सुक्ने डरले व्यावसायिक फूल खेती गर्दै आएका कृषकले ‘पानी हालेर’ फूलको बिरुवालाई जोगाउन थालेका छन् ।

इटहरी उपमहानगरपालिका ३ नम्बर वडाका महिला समूहले बिरुवामा पानी हालेर फूललाई यथावस्थामा राख्ने प्रयत्नमा लागेका हुन् । सिर्जनशील कृषि उद्यमी महिला समूहकी अध्यक्ष पवित्रा अधिकारी भन्छिन्, ‘यो वर्ष फूल मज्जाले फुलेको छ तर, तिहार ढिला भएकाले पानी हालेर बिरुवा जोगाउँदै आएका छौं ।’ करिब ९ कठ्ठा क्षेत्रफलमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको देख्दा उनीहरू हर्षित छन् । तर, विगत वर्षहरू भन्दा ढिला गरी तिहार आएकाले लगानी खेर जाने डर पालेर बसेका थिए ।

समूहमा काम गर्दै जाँदा उनीहरूले ‘पानी हालेर बिरुवा बचाउने’ गतिलो तरिका खोजेका छन् । अहिलेदेखि नै तिहारका लागि थोक व्यापारीहरू फूल किन्न आउने गरेका छन् । तर, समूहले खुद्रामा बिक्री गर्ने सोच राखेको छ । इटहरी उपमहानगरको ‘उपप्रमुख आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत यो वर्षदेखि फूल उत्पादन थालेका हुन् ।

दुई लाख रुपैयाँको लगानीमा फूल खेती थालिएको अध्यक्ष अधिकारीको भनाइ छ । इटहरी–१९ स्थित चिनारी कृषि उद्यमी महिला समूहकी अध्यक्ष वसन्तकुमारी राईले फूल उत्पादन सोचेभन्दा राम्रो भए पनि तिहार ढिलो भएकाले समस्या भएको बताइन् । ‘अघिल्लो वर्षको जस्तो भएको भए धेरै राम्रो हुन्थ्यो’ उनले भनिन्, ‘शीत पनि पर्न थालेकाले फूललाई समस्या हुन्छ कि जस्तो छ ।’

इटहरी नगरकी उपप्रमुख लक्ष्मी गौतमले व्यावसायिक फूल खेतीमा महिला समूहको सक्रियताले आफूलाई पनि उत्साह थपेको बताइन् । हाल नगरको अभियान अन्तर्गत केही वडामा फूलको व्यावसायिक खेती थालिएको छ । नेपालमा झण्डै ५ देखि ७ करोडसम्मको फूल भारतबाट आयात गरिँदै आएको छ । व्यवसाय विस्तार गर्नसके आयातलाई रोक्न सकिने उपप्रमुख गौतमको दाबी छ ।