बिर्तामोड । बडादशैं शुरु भइसक्दा मासु खाने सबैको घरमा यसको जोहो भइसकेको हुन्छ । प्राय सबैका घरमा राँगा, सुँगुर, खसी, कुखुरा लगायतका पशुपन्छीको बलि दिएर मासु खाने चलन छ । बली नदिनेहरुले समेत बजारबाट खरिद गर्नका लागि पहिले ‘अर्डर’ दिइसकेका हुन्छन् ।
खासगरी बडादशैंको सातौं दिन, फूलपातीदेखि सामान्तया देशै भर अत्याधिक मात्रामा मासुको खपत बढ्छ । गत वर्ष झापामा खसी अभावको कारण उपभोत्ताले मंहगो मूल्यमा मासु खरिद गर्नुप¥र्यो । त्यस्तै, व्यापारीले आवश्यक मात्रमा खसी किन्न पाएनन् । न त ग्राहकलाई नै मागेजति मासु नै उपलब्ध गराउन सके ।
यस वर्ष भने झापामा खसी अभाव नभएपनि मासुको माग भने गत वर्षको तुलनामा घटेको छ । झापाको अर्जुनधारा नगरपालिका –६ का टिकाराम थापाको फ्रेस हाउसमा गत वर्ष फूलपातीको दुई दिन अघिसम्म २ सय किलो मासुको अर्डर आइसकेको थियो । यस वर्ष ७० किलो मासुको अर्डर आएको थापाले बताए । ‘माल्दाई फ्रेस हाउस’ सञ्चालनमा ल्याएका थापाले गत वर्षको दशैंमा १ सय ७३ वटा खसी काटेका थिए । फूलपातीको दिन मात्र ५ लाख मूल्य बराबरको मासु बिक्री गरेको उनले बताए ।
यस वर्ष भने दशैं अवधिभर १ सय वटा मात्र खसी काट्ने योजना रहेको उनी बताउँछन् । ‘पोहोरको दशैंमा मासुको मूल्य ह्वात्तै बढेको भए पनि माग अत्याधिक थियो, यो वर्ष माग नै छैन’ थापाले भने, ‘कोरोना महामारीले मासु खपत घटेको हो ।’ थापा झापाका पुराना तथा ठूला मासु व्यापारी हुन् । उनले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामबाट खसी खरिद गर्ने गरेका छन् । यो बर्ष बिपद्क बर्ष भयो, थापाले भने‘मान्छेमा उत्साहका साथ दशै मनाउने अवस्था नभएका कारण पनि मासु खपत ह्वात्तै घटेको हो ।’
गत वर्ष काठमाडौँका व्यापारीले महंगो मूल्यमा खसी किनेर लगेको हुनाले यहाँ खसीको अभाव भयो । यस वर्ष कोरोना कहरको कारण काठमाडौँका व्यापारीले खसी खरिद नगरेकाले मासु पर्याप्त भएको छ । यस वर्ष कोरोना कहरका कारण चैत्र ११ गतेदेखि लकडाउन भयो । ५ महिना लामो लकडाउनका कारण पहाडी क्षेत्र र गाउँबाट शहरसम्म व्यापारीले खसी ल्याउन सकेनन् । गाउँमा रहेका खसी एकै पटक शहरमा ल्याएका कारण पनि खसी अभाव नहुने देखिएको छ ।
गत दशैंमा ७० वटा खसीको मासु बेचेका बिर्तामोडका राजु भट्टराई यो वर्ष मासुको माग कम बताउँछन् । ‘कोरोनाको कारण मासुको माग घटेको हो’ उनले भने ‘यो वर्ष मासु बेच्न, व्यापार गर्न सकिएला जस्तो छैन ।’ गत वर्ष पूर्वी पहाडबाट झापा ल्याइएका ८० प्रतिशत खसी काठमाडौँका व्यापारीले किनेको बिर्तामोड कृषिथोक बजारका मासु व्यापारी मोहमद अस्गर शेखले बताए । झापाको दमक, शनिश्चरे, धुलाबारी, सुरुङ्गा, डाँगीबारी लगायतका बजारमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलामबाट खसी बिक्रीका लागि ल्याइन्छ ।
मासु व्यवसायी संघ झापाले गत वर्ष भदौ १ गतेदेखि लागू हुने गरी मासुको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ वृद्धि गरेर ८ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । अहिले झापाका बजारमा खसीको मासु ९ सय रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ । खसी व्यापारीसम्म आइपुग्दा धेरै ठाउँमा विचौलिया हावी हुने गरेकाले पनि मुल्य वृद्धि भएको मासु व्यापारी बताउँछन् । ‘इलाम, पाँचथर, ताप्लेजुङका व्यापारीले किसानबाट खसी किन्ने गर्छन् । ति स्थानीय व्यापारीले झापाका व्यापारीलाई खसी बेच्छन् । र उनीहरुवाट मात्र हामीले खसी किन्ने गरेका छौँ, यसले गर्दा पनि खसीको मूल्य धेरै पर्न जान्छ’ व्यापारी शेखले भने ।