विजयपुर/ विगतका वर्षहरूमा दशैँ सुरु हुने यो बेलामा निकै चाप, भीडभाड हुने धरान बजारमा अहिले भने सामान्य मात्र चहल–पहल छ ।

पहिलेका वर्षमा दशैं आउनुभन्दा एक महिना अगाडिदेखि नै बजारमा भीडभाड हुने गर्दथ्यो । यातायातका साधनको चाप पनि उस्तै हुन्थ्यो । कोरोना महामारीका कारण अहिले धरान बजारमा पहिलेको तुलनामा ५० प्रतिशतभन्दा पनि कम मात्र चहल–पहल देखिन्छ ।

पूर्वी पहाडको व्यापारिक केन्द्रको रूपमा रहेको धरान दशैँ नआउँदै पनि भीडभाड नै हुने गर्दथ्यो । तर, यो वर्ष भने दशैँ आउँदा पनि चहल–पहल खासै देखिँदैन । अहिले मानिसको आवागमन नै कम भएपछि व्यापार पनि कम नै हुने भयो । विगतका वर्षहरूमा यो समयमा बोल्न पनि नभ्याउने व्यापारीहरू अहिले भने फुर्सदिला देखिन्छन् । व्यापारीहरू ग्राहकहरू कम मात्र आउने गरेको बताउँछन् ।

अहिले एकातिर बाहिर निस्कँदा कोरोना सङ्क्रमण हुने डर छ । अर्को कारण लकडाउनमा धेरै मानिसहरूले रोजगारी गुमाउनु प¥यो । लकडाउन खुलेपछि पनि अधिकतम मान्छेले रोजगार पाउन सकिरहेका छैनन् । रोजगारी नै गुमाएपछि उनीहरूको आयस्रोत पनि बन्द भयो । आयस्रोत नै नभएपछि ग्राहकहरूले वस्तु खरिद गर्ने क्षमता पनि गुमाएका छन् । वैदेशिक रोजगारीमा गएकाहरू पनि कतिपय कोरोना भाइरसका कारण स्वदेश फर्किएका छन् । उनीहरूको पनि आयस्रोत बन्द नै भयो । फलस्वरूप धरान बजार दशैँको समयमा पनि राम्रोसँग खुल्न सकेको छैन ।

कोरोनाका कारणले धेरै मानिसहरूलाई छाक टार्नसमेत धौ धौ परिरहेका कारण पनि धरानवासीलाई दशैँको रौनक खासै लागेन । सरकारले पनि दशैँमा बाहिर कतै नहिँड्नु भनेर आह्वान गरेको छ ।

धरानमा व्यापार–व्यवसायमा विगतका वर्षहरूभन्दा ५०–६० प्रतिशत नै कम भइरहेको व्यवसायीहरूले बताएका छन् । धरान–१२ स्थित शिव एण्ड ब्रदर्श कपडा पसलका सञ्चालक कृष्ण श्रेष्ठ विगतका वर्षहरूमा दशँैको समयमा भ्याई नभ्याई हुने गरेको तर, यो वर्ष पसल खोल्ने र बन्द गर्ने काम मात्र भएको बताउँछन् । धरान–९ स्थित पुतलीलाइनको स्टेज फेन्सी पसलका सञ्चालक मिलन श्रेष्ठ पसल सुनसान हुने गरेको बताउँछन् । श्रेष्ठ भन्छन्, ‘विगतका वर्षहरूमा यो समयमा ८०–९० हजारको व्यापार हुन्थ्यो, अहिले ४० हजारको पनि हुँदैन ।’ उनले बाहिरबाट आउने सामान ल्याउन नपाउनाले पनि व्यापार घटेको बताए ।

टिनएन फेसन मार्टका सञ्चालक अमृत सुवेदी आम मानिसमा आर्थिक अभाव भएकाले व्यापारमा गिरावट आएको बताउँछन् । धरान–३ मा रहेको अमित स्टोरका सञ्चालक दिलिप साह पहिले दैनिक ३०–४० हजारको व्यापार हुनेमा अहिले ५–७ हजारको मात्र हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘दशैँ आएजस्तै छैन ।’

यस्तै जुत्ताचप्पलको व्यापार पनि कम नै रहेको व्यापारीहरूले बताएका छन् । धरान–१० मा रहेको न्यू सरस्वती इलेक्ट्रोनिक्सका सञ्चालक कृष्ण शाक्य यसपटक व्यापारै नभएको बताउँछन् । उनी भन्छन्, ‘इलेक्ट्रोनिक सामग्री अति आवश्यक नभएकोले व्यापार नभएको हो ।’ उनले यो वर्ष ग्राहकहरूले अति आवश्यक वस्तुमात्र खरिद गर्ने बताए ।

बजारमा दैनिक उपभोग्य वस्तु खाद्यान्नको बिक्रीमा समेत गिरावट आएको छ । धरान–३ स्थित खाद्यान्न पसलका प्रभात अग्रवालले खाद्यान्नको व्यापारमा पनि ५० प्रतिशत गिरावट आएको बताए । उनी भन्छन्, ‘ग्राहकहरू ५ महिनादेखि बेरोजगार भएका कारण उपभोक्ताले खाद्यान्नको पनि परिमाण घटाएका छन् । धरानमा बस्ने धेरै मानिसहरू बाहिर गएकोले पनि व्यापारमा गिरावट आएको हो ।’ अन्य स्थानका खाद्यान्न पसलका व्यापारीहरूले पनि व्यापारमा अनपेक्षित गिरावट आएको बताए ।

यता सामान खरिद गर्ने उपभोक्ताहरू भने पहिलेभन्दा सामानको दाम महँगो भएको बताउँछन् । ग्राहक कृष्ण लकान्द्रीले ६ महिनाभन्दा अघि र अहिले धेरै कुराको मूल्यमा फरक आएको बताए । अर्की उपभोक्ता धरान–१५ की विष्णु खत्री पनि कपडा, खाद्यान्नलगायत धेरै कुराको मूल्य वृद्धि भएको बताउँछिन् । उनले भनिन्, ‘खोइ, बढेर नै आएको हो कि आफूखुसी बढाएको हो जानकारी भएन ।’