दमक / काम गर्ने अवसर नै छैन नेपालमा । लगानी गरो त्यसको सुरक्षीत छैन । सानो तिनो लगानीले प्रतिस्पर्धा गरेर काम गर्नै गाह्रो छ  यहाँ । समाजले पत्याइदिदैन के गर्नु । लगानी गर्न सक्ने  पुजी नै छैन । हातमा हरियो राहदानी बोकेर बिदेश जान तयार रहेका  जो कोहिलाई तपाई किन बिदेशिन पर्यो भनेर सोध्यो भने अधिकांसबाट आउने जवाफ हुन माथीका वाक्य । अनि अर्को सवाल पनि जोडिन्छ बिदेश नै गएपछि कमाई चाहि कति हुन्छ त ?

जवाफमा २५ देखी ३० हजार हुन्छ भन्ने आउछ । साँच्चै के हाम्रो ठाउँमा मासिक २५/३० हजार पनि कमाई हुनै नसक्ने भएरनै नेपाली यूवा बिदेशिएका हुन त ? यसो हेर्यो भने यहाँ सामान्य भन्दा सामान्य श्रमिकले पनि कमाई न्यूनतम २० देखी ३० हजार रुपैँया कमाई रहेको छ । आफ्नै घरमा बसेर । परिवारसँग सुख दुःख साट्दै  मासिक २०/३० हजार कमाई हुन्छ भने बिदेश गै रहन पर्ला र ? यूवाहरुले सोध्लान  उसो भए के गर्ने त ? 

त्यो भन्दा  पहिला आफैले आफैलाई प्रश्न गरेर आफैबाट जवाफ  लिउँ त बिदेश हामी के काममा लागि  जादै छौ ? त्यहाँका नागरिकले गर्न नसक्ने, गरुङ्गो , बल धेरै पर्ने, मानसिक भन्दा शारिरिक रुपमा मिहतन गर्ने काम अर्थात अदक्ष काममा अधिकांश यूवाहरु  विदेशीने गरेका छन् । तर यहि पनि त्यस प्रकारका काम गर्ने हो भने  विदेशकै जति कमाई हुन्छ  । गर्नेले कमाई रहेका छन् भन्दा पत्याउँनै गाह्रो हुन सक्छ ।

झापाको दमक  स्थित गणतन्त्र चोकको उत्तरपट्टि खनाल मार्केकको आँगनमा लस्करै मोचि(जुत्ता सिलाउने) पसल छ । यी पसल प्राय खाली हुँदैनन् । कोहि जुत्ता सिलाउन, कोहि पोलस गर्न, कोहि झोलामा चेन लगाउन, सिलाउन, छाता करङ लगाउन, वा अति सामान्य कामका लागि आउने गर्दछन् ।

त्यहाँ आउने हरेक सेवाग्राहिबाट कामको प्रकृति अनुसार उनीहरुले ५० देखी २० सय  वा त्यो भन्दा बढी लिएर सेवा दिन्छन् । कुन कामको कति मुल्य भन्ने कसैले तोकिदिएको छैन । उनीहरुले आफ्नो मिहनत र त्यहाँ प्रयोग गरिएको सामानको आधारमा  आफै शुल्क निर्धारण गर्छन ।

भारतको मधुवनीबाट  १७ वर्ष अघि दमक आएर जुत्ता  सिउने काम काम गर्ने  प्रकाश दासले मासिक  २५ देखी ३० हजार रुपैँया सम्म कमाई गर्छन । उनको दैनिक खर्च कटाएर न्यूनतम पनि  ८ सय देखी १ हजार रुपैँया सम्म कमाई हुन्छ । उन सहित उनकाे  परिवारमा  श्रीमती र २ जना छोराहरु छन् । जेठो छोरो  ४ वर्ष कान्छो २ वर्षको छ । जेठो छोरोलाई अव यो वर्षदेखी विद्यालय पठाउँने योजना उनको रहेको छ ।

उनको पसलमा जुत्ताको सुल, विभिन्न प्रकाका धागो, आवश्यक अनुसारका  पोलीस, जुत्ता टास्ने सुलेसन (गम) र केहि ब्रहरु छन् । साना खालका हातौडा, धागो काट्ने कैँची र सिलाउने सियो । उनका औजारहरु हुन । यी औजार र सामान खरिद गर्न उनलाई करिब १० देखी १५ हजार रुपैँया लाग्यो । साथीहरुको सहयोगबाट केहि समान जुटे पनि । अहिले उनले यहाँबाट मासिक २५ देखी ३० हजार सम्म कमाई गर्छन ।

दासको पसलसंगै भारतको सोहि ठाउँका बिक्रम रामले दमकमा सुचिकारको काम थालेको  २० वर्ष भयो । सडकको किनार उनको ब्यापार गर्ने ठाउँ । त्यहि सडकमा हिड्ने बटुवा उनका ग्राहक हुन् ।

सडकको किनारमा बसेको हुनाले त्यसको भाडा तीरिरहनु पर्दैन । बजारको ठेक्का लिएका ठेकेदारलाई हप्ताको ५० रुपैँया दिए भयो । बाँकी सबै कमाई आफ्नै पकेटमा । त्यसैले उनी भन्छन् ‘सडकबाटै मासिक ३० हजार भन्दा बढी कमाउँछु । ’