मधुमल्ला/ व्यावसायिक रूपमा फलफूल खेती गर्दै आएका मोरङको मिक्लाजुङ गाउँपालिका–८ का कृषक लालबहादुर गिरी वार्षिकरूपमा १० लाख रुपैयाँ कमाइ गर्छन् । उनले करिब २ बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । अर्काको देशमा गएर गरेजस्तै स्वदेशको आफ्नै खेतबारीमा कडा मिहिनेत गरे आफै मालिक भएर पर्याप्त आम्दानी गर्न सकिने कृषक गिरीको अनुभव छ ।

उनले आफ्नो खेतबारीमा उत्पादित फलफूल र तरकारी देखाउँदै भने, ‘आखिर जहाँ गए पनि श्रम र मिहिनेत त गर्नैपर्छ । कृषि व्यवसायलाई सम्मानित पेशा बनाएर कडा मिहिनेत गर्नसके वैदेशिक रोजगारमा जानु पर्दैन । यहीँ छ अमेरिकन डलर, बेलायती पाउण्ड, कतारी दिनार, कोरियन ओन, थाइ भाट, साउदी रियाल ।’ उनले थप एक बिघा जग्गामा तरकारी खेती विस्तार गर्ने योजनासमेत बनाइरहेको बताए । वार्षिकरूपमा खर्च कटाएर करिब प्रतिबिघा १० लाख रुपैयाँसम्म कमाइ गर्न सकिने भएकाले वडा र गाउँपालिकाले व्यावसायिक कृषि कर्मका लागि स्थानीय समुदायमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘स्थानीय तहले कृषकलाई प्रोत्साहन त गरेको छ तर, त्यो पर्याप्त छैन । कृषि पेशा सबैभन्दा महŒवपूर्ण र सम्मानित पेशा हो भनेर स्थानीय तहले कार्यक्रम बनाउन जरुरी छ ।’

गिरीले मिक्लाजुङमा काजीमान लिम्बू, यज्ञ पौडेल, पदम भण्डारी, तेजबहादुर कटुवाललगायतले खेतबारीमा व्यावसायिक फलफूल तरकारी खेती गर्दै आएका छन् । कृषक कटुवालले भने, ‘मैले यसै वर्षबाट व्यावसायिक तरकारी खेतीमा लागेको हो । करिब १० कठ्ठा जमिनबाट शुरु गरेको तरकारी खेती अहिले बढाएर एक बिघा १० कठ्ठामा विस्तार गरेको छु ।’ उनका अनुसार परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले व्यावसायिक खेती गरे बढी उत्पादन गर्न सकिन्छ । यस वर्ष लकडाउनको समयमा समेत प्रदेश सरकारले अनुदान उपलब्ध गराएकोमा कटुवाल खुशी छन् । यसले व्यावसायिक कृषिमा लाग्ने कृषकहरूलाई थप हौसला मिलेको कटुवालले बताए ।

कृषि कर्मका लागि मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. ८ निक्कै उर्वर भूमि मानिन्छ । मिक्लाजुङको माटो कालो र दोमट भएकाले विशेषगरी विभिन्न प्रकारका कृषि कार्यका लागि निक्कै उत्पादक क्षेत्र मानिदै आएको छ । अधिकांश स्थानीय बासिन्दा कुनै न कुनै कृषि पेशामा आबद्ध रहेका छन् । ज्ञान, सीप र अनुभव भएकाहरू व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीले भने, ‘पछिल्लो समयमा स्थानीय बासिन्दाहरू परम्परागत खेती प्रणालीलाई त्यागी नयाँ र आधुनिक तरिकाले उन्नत जातको बिउविजनहरूको प्रयोग गरेर व्यावसायिक खेती गर्न थालेका छन् । वडाभित्रका आम नागरिकहरूलाई कृषि पेशामा आकर्षित गर्दै मिक्लाजुङ गाउँपालिका वडा नं. ८ लाई मिक्लाजुङकै नमूना वडाको रूपमा विकास गर्दै लाने योजना रहेको छ ।’

उनका अनुसार कृषकलाई कृषि पेशामा आकर्षित गर्न वडा कार्यालयले समय समयमा विभिन्न प्रकारका योजना ल्याई कृषकहरूलाई प्रोत्साहित गर्दै आएको छ । वडामा रहेका व्यावसायिक कृषि गर्ने कृषकहरूमध्ये गत आर्थिक वर्ष ५ जना कृषकलाई खनजोतमा सहयोग पु¥याउन र व्यावसायिक कार्य गर्न सहजताका लागि हाते ट्याक्टर वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले साझेदारी अनुदानमा उपलब्ध गराएको हाते ट्याक्टरले तरकारी खेती गर्न सहज भएको स्थानीय युवा व्यावसायिक कृषक कुमार श्रेष्ठले बताए । उनले भने, ‘अर्काको ट्याक्टर मागेर वा भाडामा ल्याएर खनजोत गर्न समस्यामात्र हुँदैन, अतिरिक्त खर्च पनि हुने गरेको छ । तर आफैसँग कृषि सामग्री हुँदा काम छिटो हुनुका साथै आफूले भनेको समयमा उत्पादन निकाल्नसमेत सजिलो भएको छ ।’

महिलाहरूको सामूहिक तरकारी खेती
यसै आर्थिक वर्षबाट वडा नं. ८ मा तरकारी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक तरकारी खेती शुरु गरिएको छ । महिला समूह गठन गरी करिब एक बिघा जग्गा भाडामा लिएर सामूहिक तरकारी खेती गर्ने गरेको महिला समूहकी अध्यक्ष फूलमाया निरौलाले बताइन् । उनका अनुसार महिलाहरू दैनिक समय मिलाएर २ घण्टा सामूहिक खेती गर्ने गरेका छन् ।
उत्पादित तरकारी गाउँमै बिक्री हुने गरेको समूहकी अध्यक्ष निरौलाले बताइन् । महिला समूहले स्थानीय किसानहरूलाई रोप्नका लागि उपलब्ध गराउने गरी तरकारीका बेर्नासमेत तयार पारेको छ । सबैलाई तरकारीका बिरुवाहरू हुर्काउने र नर्सरी बनाउने राम्रो ज्ञान हुन नसक्ने भएकाले बिरुवा लगेर रोप्न चाहने कृषकहरूलाई तयारी बिरुवाहरू दिन लागिएको महिला समूहले जनाएको छ । महिलाहरूलाई सामूहिक खेतीमा सङ्गठित गर्दै आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले थप ३–४ वटा महिला समूह थप गरी सामूहिक खेती गर्न प्रोत्साहन गर्ने योजना रहेको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीले बताए ।

विपन्न परिवारका लागि सुँगुर पाठा वितरण
वडा कार्यालयले योजना बनाएरै वडामा रहेको गरिबीको समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले गरिब तथा विपन्न परिवारलाई सुँगुरको पाठा वितरणको कार्यक्रम बनाएको छ । पाठा वितरण गर्नभन्दा पहिला खोर बनाउन लगाइएको छ । सुँगुर पाल्ने उपयुक्त खोर भएका विपन्न १७ घरपरिवारलाई सुँगुरको पाठा वितरण गर्ने योजना रहेको वडासदस्य हेमकुमार श्रेष्ठले बताए । सुँगुरको पाठा वितरण बाट गरिब तथा विपन्न परिवारको आय आर्जनमा प्रत्यक्षरूपमा टेवा पुग्ने वडासदस्य श्रेष्ठले बताए ।

वडाको समन्वयमा मल तथा बिउविजन वितरण
सिङ्गो वडा नै व्यावसायिक कृषिमा अगाडि बढेको अवस्थालाई मध्यनजर गरी वडाले समन्वय गरी वडाकै सहकारीको मातहतमा रासायनिक मल, बिउविजन तथा कीटनाशक औषधिहरूको समेत सहज आपूर्ति मिलाउने व्यवस्था गर्ने वडाले जनाएको छ । कृषकले समयमा मल तथा बिउविजन नपाउने समस्या हल हुने वडाले जनाएको छ । मल, बिउविजन र कीटनाशक विषादी व्यवस्थापन गर्न वडा कार्यालयले आवश्यक समन्वय र व्यवस्थापन गर्ने वडाध्यक्ष नवीन कार्कीले बताए । यस्तै वडाले उन्नत जातको बोयर बोका वितरण, घाँस काट्ने मेसिन वितरण, स्प्रे–ट्याङ्की लगायत किसानलाई आवश्यक सामग्रीहरू समेत वितरण गर्दै आएको छ ।

Mahilla-samuha-kam-gadai bangur-ko-khor-nirman lal-bahadur-giri maila-samuha-samuki--tarkar