बिर्तामोड/ लामो समयदेखि ‘ट्रेडमार्क’ माग गरिरहेका चिया व्यवसायीले अन्तर्राष्ट्रिय ट्रेडमार्क प्राप्त गरेका छन् । कृषिमन्त्री घनश्याम भुषालको उपस्थितिमा चिया उद्योगीले ट्रेडमार्क प्राप्त गरेका हुन् । अब नेपालको अर्थाेडक्स चियाले विश्वबजारमा आफ्नै ट्रेडमार्कमा बिक्री वितरण हुनेछ ।
मङ्गलबार सूर्याेदय नगरपालिकामा आयोजित एक समारोहमा चिया तथा कफी विकास बोर्डले सिफारिस गरेका १२ वटा चिया कम्पनीले ‘ट्रेडमार्क’ पाएका छन् । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेको मापदण्ड पूरा गरेका कम्पनीले ‘नेपाल टि क्वालिटी फ्रम द हिमालयन’ नामक ‘ट्रेडमार्क’ पाएका हुन् । नेपालमा उत्पादित अर्थोडक्स चियाको पहिचान विश्व बजारमा स्थापित गर्नका लागि बोर्डको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका चिया कम्पनीले ट्रेडमार्क प्रमाण–पत्र पाएका छन् । कार्यक्रममा कृषि मन्त्री घनश्याम भुषालले ट्रेडमार्क प्रमाण–पत्र उपलब्ध गराएका थिए ।
कार्यक्रममा इलाम, तेह्रथुम र सङ्खुवासभा जिल्लाका अर्थोडक्स चिया उत्पादन गर्ने कम्पनीले ट्रेडमार्क प्रमाण–पत्र पाएका छन् । ट्रेडमार्क पाउने इलामका चिया कम्पनीहरूमा सन्दक्फु टि प्रोसेसर्स, हिमालयन साङ्ग्रीला टी प्रोड्युसर्स, जसबिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट, नेपाल ग्रीन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इण्डष्ट्रिज, तारा गाउँ टी स्टेट, साखेजुङ हिल रेञ्ज चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था रहेका छन् । यसैगरी तेह्रथुमका बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था र सङ्खुवासभाको सगरमाथा टी स्टेटले ट्रेडमार्क प्रमाण–पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा मन्त्री भुषालले नेपाली चियाले विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्नका लागि ट्रेडमार्क सहायक सिद्ध हुने जनाए । भुषालले चिया तथा कफी विकास बोर्डलाई उद्योगले प्राप्त गरेको ‘लोगो’ कार्यान्वयन गर्न निर्देशन दिए । त्यसका लागि कृषि मन्त्रालयले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालका अन्य कृषि उत्पादनलाई पनि ट्रेडमार्क प्रदान गरेर विश्व बजारमा पुर्याउन सरकार प्रतिबद्ध रहेको मन्त्री भुषालले बताए ।
यसअघि बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट माग गरेको निवेदनमा ४२ वटा निवेदन दर्ता भएका थिए । निवेदन दर्ता गराएका उद्योग तथा व्यवसायीको फ्याक्ट्री र चिया बगानको अनुगमन गरी १२ वटा चिया उद्योगलाई लोगो प्रदान गरिएको ट्रेडमार्क अनुगमन, व्यवस्थापन नियमन समितिका उपाध्यक्ष उदय चापागाईंले बताए ।
‘अहिलेसम्म विश्व बजारमा आ–आफ्नो उद्योगको नाममा चिया निर्यात हुँदै आएको थियो’ हिमालयन टि प्रोड्युसर्स सहकारी संस्थाका अध्यक्षसमेत रहेका चापागाईंले भने, ‘लोगो प्रयोगमा ल्याइएपछि व्यवसायीले सोझै पठाउने गरेको चियालाई राष्ट्रियता झल्कने लोगोसहित पठाउन पाउने भएका छन् ।’
व्यवसायीले लोगो प्रयोग गर्नुअघि उत्पादन गरेको हरियो पत्ती र तयारी चियाको परिमाण बोर्डलाई देखाउनुपर्ने निर्देशिकामा उल्लेख छ । वि.सं. १९२० मा रोपिएको चियाले पहिचान पाउनु नेपालीका लागि गौरवको विषय रहेको चापागाईंले जनाए । नेपालबाट निकासी हुने सबै चियामा नेपालको एउटै लोगो लागेर निर्यात हुँदा नेपाली चिया साथै नेपालीको पहिचान विश्व बजारमा स्थापित हुने व्यवसायीको भनाइ छ ।
लोगो प्राप्तपछि उद्योगमा कसरी चिया उत्पादन, प्रशोधन र प्याकेजिङको काम भइरहेको छ भन्ने विषयको निरन्तर अनुगमन हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । लोगो कार्यान्वयनपछि अनुगमन समितिले किसानको चियाबारी, चिया टिपाइको अवस्थाबारे निरीक्षणसमेत गर्ने अधिकारी बताउँछन् । निर्देशिकामा उल्लेख भएका आचार–संहिता उल्लङ्घन गरेमा उद्योग तथा व्यवसायीले पाएको लोगो खोस्नसमेत सकिने कार्यविधि रहेको छ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्छ । उक्त रकम चियाको बजारीकरणका लागि खर्च गरिने प्रावधान छ । यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा उद्योगी तथा व्यवसायीले दर्ता गराउनु पर्ने झण्झटबाट बच्ने अधिकारीले बताए ।
अहिले विश्वका १३ वटा मुलुकमा नेपाली अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । थोरै मात्रामा चिया निर्यात हुँदै आएको उक्त मुलुकमा लोगो प्रदानपछि निर्यातको मात्रा बढाउन सकिने चिया व्यवसायी बताउँछन् । विशेषगरी जापान, अमेरिका, जर्मन, फ्रान्स, बेलायत, चीनलगायत देशमा नेपाली अर्थोडक्स चिया निर्यात हुँदै आएको छ ।
इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमलगायत १४ जिल्लामा आठ हजार आठ सय ३८ हेक्टरमा चिया खेती हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । नेपालमा वार्षिक ६० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने तथ्याङ्क छ । अर्थोडक्स चियाको १० प्रतिशत खपत नेपालमा हुन्छ भने ८० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । ट्रेडमार्क प्राप्त गरेपछि चिया उद्योगी उत्साहित बनेका छन् ।