धरान/ असारदेखि कात्तिकसम्म कोसी कोरिडोरका स्थानीय कृषकहरूले उत्पादन गरेको बन्दाकोपी भारतीय उपभोक्ताको चुलासम्म पुग्दा करिब ५० करोड ६० लाख रुपैयाँको कारोबार हुने गरेको छ ।
धनकुटा, तेह्रथुम र सङ्खुवासभाका १२ हजार किसानमध्ये ५ हजारले उत्पादन गरेको बन्दा भारतीय बजारमा निर्यात हुँदा उनीहरूले हाल प्रतिकिलो २७ रुपैयाँ पाउँदै आएका छन् ।
सिँधुवाका अगुवा कृषकसमेत रहेका स्थानीय सहकारीहरूमा आबद्ध मेगेन्द्र गुरुङले भने, ‘तीन जिल्लाबाट करिब ३८ करोड रुपैयाँको बन्दाकोपी सङ्कलन गरेर भारतीय बजारमा निर्यात गर्छु ।’ दैनिक १ सय २० टनका दरले निर्यात गर्दै आएका गुरुङका अनुसार कोसी करिडोरमा सन् १९९९ देखि व्यावसायिकरूपमा खेती हुँुदा विहारसम्म निर्यात हुने गरेको थियो । तर, सन् २००२ पछि अधिक माग बढेकाले पश्चिम बङ्गालको सिलिगुडीमा वार्षिक करोडौंको बन्दा निर्यात हुने गरेको गुरुङले बताए ।
नेपालको बन्दा भारतीय उपभोक्ताले मन पराउनु सकारात्मक भएको बताउँदै निर्यात गरेबापत नेपालमा हाल वार्षिक ५० करोड ६० लाख विदेशी मुद्रा भित्रिएको गुरुङको भनाइ छ । भारतीय बजारमा नेपाली बन्दा निर्यातमा गुरुङको मुख्य भूमिका छ । अधिकांशले उनैको फर्मको नामबाट नै निर्यात गर्ने गरेका छन् । उनले भने, ‘नेपाल सरकारले नेपालको फलफूल र तरकारी भारतीय बजारमा निर्यातका लागि सहजीकरण गरेर वैधानिक बाटो खुलाइदिएको भए ढुवानी र निर्यात खर्च कम हुने थियो । त्यही रकम स्थानीय किसानले पनि पाउँथे ।’
धरानस्थित कृषिउपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले कोसी कोरिडोरका जिल्लाका किसानहरूबाट उत्पादितमध्ये वार्षिकरूपमा सरदर १३ हजार मेट्रिक टन बन्दा सङ्कलित भएर थोक विक्रेता र खुद्रा विक्रेतामार्फत् उपभोक्तासम्म पुग्ने गरेको बताए । उनले भने, ‘धरानको कृषिउपज बजारमा १३ हजार मेट्रिक टन सङ्कलित हुन्छ । त्यसमध्ये ५० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने बाँकी भारतीय बजारमा निर्यात हुने गरेको छ ।’ उनले भारत निर्यात गर्न सकिने नेपालको फलफूल र तरकारीमा बन्दा पनि सूचीकृत भएको जानकारीसम्म पाएको बताए । उनले पनि नेपालको बन्दा भारतीय बजारमा वैधानिकरूपमा निर्यात गर्नका लागि नेपाल सरकारले ध्यान दिनसके किसानहरूको मेहनत खेर नजाने बताए ।
































