भद्रपुर  ।  नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुर सङ्गठन बिच ज्यालाको विषयमा चार बुँदे सहमति भएको छ । दुवै पक्ष बिच भएको सहमतिमा न्यूनतम ज्यालामा ३० रुपैयाँ वृद्धि गरिएको छ । अब मजदुरले पाउने दैनिक ज्याला ४१५ रुपैयाँ चालु आर्थिक वर्षको साउनदेखि लागु हुनेछ ।
त्यसैगरी आगामी आर्थिक वर्षमा २०७८ साउनदेखि थप २० रुपैयाँ वृद्धि गर्ने सहमति पनि भएको छ । त्यसपछि मजदुरको दैनिक ज्याला ४३५ हुनेछ । सरकारले श्रम ऐन २०७४ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ रुपैयाँ तोकेको छ । सोही बमोजिम चिया मजदुरले आधारभूत पारिश्रमिक २३१ र दैनिक महङगी भत्ता १५४ गरी दैनिक ३८५ रुपैयाँ पाइरहेका थिए ।

त्यस्तै सहमति अनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता ४२ मा १३ रुपैयाँ वृद्धि गरी ५५ रुपैयाँ कायम गरिने निर्णय भएको नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधि जेपी शर्माले जानकारी दिए ।

त्यस्तै २०७५ साउन १ गतेदेखि लागु हुने गरी वृद्धि भएको दैनिक १०७ र साउन १ देखि २०७५ चैत १५ गतेसम्म फरक रकम सो समयमा कार्यरत रहेका श्रमिकहरूलाई भुक्तानी गर्दै गरेका विषयलाई निरन्तरता दिई भुक्तान लिई सक्ने, श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ मा भएको व्यवस्थाहरूलाई सबै चिया बगानमा कार्यान्वयन गर्दै जाने र हाल विश्व आतङित बनाई रहेको कोरोना भाइरसबाट बच्न बचाउन आवश्यक सरकारले तोकेको मापदण्ड पुरा गरी सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने, श्रमिकहरूले पनि आफ्नो सजगता अपनाउने सहमति भएको उनले बताए ।

सहमतिमा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश अग्रवाल, जेपी शर्मा, चण्डी पराजुली, विनय गोयल र रमेश पराजुली रहेका थिए भने टे«ड युनियन सङ्घका तर्फबाट सहीकुमार राई, सन्तकुमार राई, नेत्रप्रसाद दाहाल, दीपक तामाङ, जीवन खडका, सिता सापकोटा, भूपाल सापकोटा, तिलक दर्जी र देवीप्रसाद खनालले हस्ताक्षर गरेका छन् ।

विगत २० वर्षपछि नेपाली चियाको मूल्यमा वृद्धि भएको छ । भारत निकासी हुने चियाको मूल्यमा अहिले सय प्रतिशतसम्म रकम वृद्धि भएको छ । पहिला भारतमा चिया १४० देखि १६० मा बिक्री हुन्थ्यो भने अहिले ३२० देखि ३४० मा बिक्री भइरहेको छ । झापामा साना किसानसहित २८ वटा चिया उद्योग छन् । ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत छन् ।

न्यूनतम ज्यालाको विषयमा झापाका चिया मजदुर सङ्घठन र नेपाल चिया उत्पादक सङ्घ बिच विवादले मजदुरहरु सडक आन्दोलनदेखि कारखाना तालाबन्दी समेत गरिसकेका छन् । अव दुइ पक्षबिच भएको सहमतिले यस्तो समस्या नआउने बुझिएको छ ।