भण्टाबारी/ धानमा गाँज लाग्ने बेलामा युरिया मल पाइएला कि भन्ने आशा गरेका भोक्राहा नरसिंह गाउँपालिका–८ का किसान जमाल मियाँ बजारमा मल नपाउँदा चिन्तित छन् ।
मलको लागि दिनहुुँ सहकारी संस्था धाउँदै आएका उनले ५ किलोसम्म पनि युरिया मल पाएका छैनन् । ‘धानमा गाँज लाग्न थाल्यो, यतिबेला युरिया छर्न पाइएन भने धान राम्ररी फल्दैन’ जमालले भने, ‘जतिखेर मल चाहिएको हुन्छ, त्यतिबेला मल नै पाइँदैन ।’ खेतमा धान रोपेपछि र गाँज लाग्ने बेलामा किसानले मल छर्ने गर्छन् । नेपाली बजारमा युरिया मल नपाउँदा भारतीय बजारबाट तस्करी गरी ल्याइएको मल धान रोपेपछि खेतमा छरेका धेरैजसो किसानहरू पुनः मल नपाउँदा चिन्तित बनेका छन् ।
लकडाउनमा लौकहीदेखि इनरुवासम्म धेरै पसल चहार्दै आए पनि सिजनमा मल नपाएर भौंतारिनु परेको अर्का किसान जहुर मन्सुरी बताउँछन् । सहकारी संस्था र धेरै पसल चहार्दा पनि मल नपाइएको हुँदा अब भारतीय बजारबाट मल ल्याउने नाम उल्लेख नगर्ने शर्तमा एक किसानले बताए । ‘आफ्नो देशमा मल नपाएपछि उता गएर भए पनि ल्याउनु प¥यो नि’–ती किसानले भने । अनुदानमा प्राप्त हुने रासायनिक मल युरिया नपाउँदा भारतीय बजारबाट तस्करी गरी ल्याउनेबाट दोब्बर मूल्यमा मल किनेर छर्नुपर्ने बाध्यता रहेको किसान जमालको भनाइ छ । समयमै धान रोपाइँ गरेपनि मल अभावका कारण उत्पादन घट्ने हो कि भन्नेमा किसानहरू चिन्तित छन् ।
लकडाउनले गर्दा समयमा मल आपूर्ति गर्न नसक्दा बजारमा मलको अभाव देखिएको सहकारी संस्थाका सञ्चालकहरू बताउँछन् । ‘यसपटक वर्षाले साथ दियो तर, मल अभाव हुँदा धान उत्पादनमा कमी आउने सङ्केत देखिएको छ’ किसान जहुर मियाँले भने, ‘जहाँ गए पनि यो वर्ष मल पाइएन ।’
स्वदेशमा नपाइने र भारतीय बजारबाट ल्याइने मल प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाइदिने गरेको किसानहरूको गुनासो छ । नेपालमा धानमा छर्ने युरिया, डिएपी, पोटासजस्ता मल नपाएपछि अहिले सीमा क्षेत्रका किसान मल चोरीपैठारीका लागि भारतीय बजार जाने गरेका छन् । उनीहरूले लुकाएरै मल ल्याउँछन् । त्यसरी लुकाएर ल्याउँदा सीमा क्षेत्रमा तैनाथ प्रहरीले मल नियन्त्रणमा समेत लिँदै आएको छ ।
किसानले आवश्यक पर्ने बेलामा मल नपाउने समस्याका बारेमा सरकार जानकार भए पनि समस्या समाधानका निम्ति उदासीन रहेको प्रमुख प्रतिपक्षी दल प्रदेश नम्बर १ का नेता तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइराला बताउँछन् । किसानहरूको समस्याका बारेमा आफूले पटक–पटक प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकारले समयमै मलको व्यवस्थापन गर्न नसक्दा तस्करी र कालोबजारी मौलाएको उनको कथन छ । ‘समयमा बिउ र मल नपाउँदा किसानको अवस्था दयनीय छ’ कोइरालाले भने, ‘तर, सरकारले कुनै चासो लिइएको पाइँदैन ।’ किसानले धानबालीका लागि मल नपाएर समस्या भोग्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकार भने यसबारे मौन छ ।
तस्करीको मल भन्सारमा बुझाउँदै प्रहरी
जिल्लामा मल अभाव हुँदा भारतबाट मल तस्करी भइरहेको छ । भारतीय बजारबाट तस्करी गरी ल्याइने मल सीमावर्ती क्षेत्रका किसानहरूले प्रयोग गर्दै आएका छन् । नेपाली बजारमा पाउन छाडेपछि भारतीय बजारबाट रासायनिक मल तस्करी गरिएको किसानहरू बताउँछन् । कतिपयले त्यसरी तस्करी गरी ल्याएको भारतीय मल धान खेतमा छरिरहेका हुन्छन् भने कतिपय भने त्यसरी ल्याएको मल नेपाली बजारमा महँगो मूल्यमा बेचिरहेका छन् । भारतबाट तस्करी गरी ल्याइने मल सीमा क्षेत्रमा तैनाथ प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाउने गरेको छ ।
साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ४ सय २५ बोरा तस्करीको रासायनिक मल सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको भन्सार अधिकृत प्रमोदकुमार दासले जानकारी दिए । तीमध्ये १ बोरा पोटास र ४ बोरा डिएपी बाहेक अरू सबै युरिया रहेकोे उनले बताए । ४ सय २५ बोरा रासायनिक मलमध्ये १२ सय ६९ रुपैयाँका दरले २ सय ९७ बोरा मल लिलाम गरिएको र बाँकी १ सय २८ बोरासमेत छिट्टै लिलाम गर्ने तयारी गरेको दासको कथन छ । खेतीको सिजन भएको हुँदा यतिबेला किसानलाई मल आवश्यक पर्ने भएकोले आफूहरूले सोही अनुसार अरू कामभन्दा मलको लिलाम प्रक्रिया अगाडि बढाएको उनले बताए ।
तर, भन्सारबाट वास्तविक किसानभन्दा व्यापारीहरूले मल लाने गरेको भन्सार अधिकृत दासले बताए । केही किसानले आफै भारतीय बजारबाट मल ल्याउने गरे पनि अधिकांशले तस्करी गरी ल्याएको मल महँगो मूल्यमा किन्दै आएका छन् । खुला सीमाको फाइदा उठाएर किसानका नाममा दैनिक रूपमा मल भिœयाउने गिरोह नै सक्रिय रहेको प्रहरी बताउँछ । किसानलाई भारतबाट मल ल्याउन छुट दिए पनि अहिलेसम्म कोरोना त्रासका कारण परिस्थिति सहज नभएको र किसानका नाममा दैनिक अवैध रूपमा मल भिœयाउने गिरोहलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा बताए ।