दमक । नेपाली कृषकहरु हरेक वर्ष रासायनिक मल नपाएको भन्दै गुनासो गर्छन् । त्यसपछि सरकार रासायनिक मल आयातका लागि छिमेकी देशसँग हारगुहार गर्छ ।

झापाको दमकका किसानहरुले भने रासायनिक मलको प्रयोग नगरि आफ्नो बाली हराभरा बनाएका छन् ।

झापाको दमक–३ की गोमा भट्टराइले आफ्नो खेतमा बासमती जातको धान रोपेकि छिन । आफ्नो घरबारीमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी पनि लगाएकी छिन । उनले धान रोप्दा, र अहिले बाला लाग्ने बेलामा कुनै पनि रासायनिक मल हालिनन् । न तरकारीमै बजारबाट किनिएका कुनै औषधि तथा भिटामिन भनिएका औषधि नै हाल्नु पर्यो । तर पनि उनको धानको गाँज निकै सप्रिएर आएको छ । हरियो छ । पोटिलो छ । तरकारीहरु पनि रसिला छन् । भट्टराईले यहाँ २ वर्ष देखी रासायनिक मलको सट्टा घरैमा बनाएको प्राङ्गारिक मल प्रयोग गर्ने गरेको बताइन् ।

‘घरमा पालेको गाईबस्तुको मलमुत्रलाई सुधारिएको गोठ मार्फत जम्मा गरिएको छ । यहि मलमुत्रमा अन्य घाँस, पात, पतिङ्गगर तथा पराल समेत हालेर कम्पोष्ट मल बनाइन्छ । यहि मल बालीमा हालेपछि न यूरिया मलको अभाव न डिएपी र पोटास पाइएन भन्दै चिन्ता गर्नु पर्ने ।’ भट्टराई भन्छिन् ।

यहि ठाउँका पुष्प घिमिरेको बाली सप्रिएर उत्पादन पनि बढेको छ । २ वर्षअघि मोटा जातको धान एक पटकमा ५० मनसम्म मात्र फल्थ्यो । तर अहिले बासमित धान नै ५५ मनसम्म फल्न थालेको अनुभव छ उनको । ‘धान डढेको जस्तो भयो वा बाला लाग्ने बेलामा भुुस जस्तै मात्र देखियो भने म बजारबाट केहि पनि मल र बिषादी ल्याउँदिन । त्यसका लागि उपचार गर्ने विधि मेरै घरमा छ ।’ घिमिरेले घरमै रहेको गाईको गोमुत्र दैनिक हाल्ने, आवश्यक मात्रा मिलाएर जैविक मल हाल्ने गरेको सुनाए ।
खेतबारीमा लगाइएको बालीमा कुनै किरा लाग्यो, वा बालीमा कुनै समस्या आयो भने यहाँका किसान बजारमा पाइने रासायनिक मल र औषधि किन्न जाँदैनन् । आफै घरमै बनाएको प्राङ्गारिक मलको प्रयोगले ती समस्या हल गर्ने गरेको उनीहरुको भनाई छ । बिष्णु खड्का बरालको खेतमा धान, सागसब्जी, भिण्डी, खुर्सानी लगायतका खाद्यान्न सामग्री लटरम्म फलेका छन् । यसरी फलेको फल खाँदा न रोग लाग्ने न त्यस्ता रोगको उपचारमा हजारौ लाखौ पैसा नै खर्च गर्नु पर्ने । बिष्णु भन्छिन् ‘रासायनिक भन्दा प्राङ्गारिकले त हाम्रो जीवन नै शुद्ध बनाउँछ । हाम्रो पनि बल्ल २ वर्ष देखी मात्र बुद्धि आयो ।’
‘सरकारले अग्र्यानिक खेती बुझेन’

argyanik  (1) (1)

नेपाल सरकारले ५ वर्षभित्र प्राङ्गारिक देश बनाउने भनेको छ । तर यसका लागि तयारी कस्तो छ वा यो सम्भावना के छ ? भन्नेमा चाहिँ कुनै ठोस विश्लेषण गरेको पाइदैन । जबकि यो अवस्था हेर्दा हामीलाई अर्गानिक देश बनाउन कम्तीमा १० वर्ष लाग्ने अवस्था छ ।

यसो भनिरहँदा के अर्गानिक उपज साँच्चै महँगो हो ? भन्ने प्रश्न पहिलो रूपमा आउने गरेको छ । तुलनात्मक रूपमा अर्गानिक उत्पादन हालको माटोको अवस्था र विषादीको बढ्दो प्रयोगले पनि उत्पादनमा समस्या छ । विषादी हालिने जमिन र नहाली उत्पादन हुने जमिनबाट उत्पादित उपजको वर्गिकरण गरी अर्गानिक बनाउने प्रक्रियामा सहभागी हुन त्यति गाह्रो विषय पनि होइन र यो बजार भाउभन्दा निकै महँगो हुने पनि होइन । एकाथरीको अर्गानिक बनाउनका लागि जैविक मल वा गाईवस्तुको मल आवश्यक हुन्छ र वस्तु पाल्नुपर्दा महँगो पर्न जान्छ भन्ने तर्क पनि छ, यो ठीकै पनि छ । तर अर्गानिक असाध्यै महँगो पनि होइन । दमक–३ मा रहेको मानसरोबर कृषि सहकारीले गड्यौला मार्फत आफै जैविक मल तयार गरिरहेको छ । यसमा स्थानीय श्रोत साधनकै प्रयोग गरिने भएकोले खासमा यो महँगो समेत नहुने तर किसान र सरकारले यसको महत्व बुझ्न चाहि आवश्यक रहेको संस्थाका व्यवस्थापक महेन्द्र अधिकारी बताउँछन् ।

१५ बिघा जमिन लिजमा लिएर सहकारीमा नै आबद्ध सदस्यले श्रम गरिरहेका छन् । गत वर्ष एउटा टनेल निर्माण गरेर खुला खेती सुरु गरेको सहकारीले यस वर्ष केन्द्र सरकारले सञ्चालन गरेको प्राङ्गारिक प्रवद्र्धन मिसन कार्यक्रमअन्तर्गत थप १० वटा टनेल निर्माण गरिसकेको छ । सहकारीले टनेल, नमुना र खुलाखेती गरेर तीन तरिकाले खेती गरेको छ । नमुना खेतीमा टनेलबाहिर जमिनलाई व्यवस्थित गरी प्लास्टिकको मल्चिङ प्रविधि प्रयोग गरेर खेती गरिएको छ । टनेलभित्र बोडी, काँक्रा खेती लगाइएको छ । निर्माण सम्पन्न टनेलमा रायोको साग, खुर्सानी रोप्ने तयारी गरिएको छ । सहकारीले खुला रूपमा कुरिलो, भिन्डी, करेला, फर्सी, बेसार लगाएको छ । यसवर्ष एक बिघा जमिनमा ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादित कोलाको बिरुवा लगाउने तयारीसमेत छ । यसैवर्ष थप एक बिघा क्षेत्रफलमा मेवा लगाउनका लागि बेर्ना उत्पादन गरिसकेको छ । अर्गानिक बाटै यी सबै कुरा सम्भव छ भन्ने कुरा सरकार र किसानले नबुझे सम्म रासायनिक मलको अभाव र यसका कारण किसानले पाइरहेको समस्या कायमै रहने संस्थाका अध्यक्ष विश्व बरालको भनाई छ ।

argyanik  (2)

५ विर्ष भित्र दमक पूर्ण विषादी रहित  
दमक ५ वर्ष वर्ष भित्र पूर्ण बिषादी रहित उत्पादनमा लागी सक्ने दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले बताएका छन् ।
उनका अनुसार अहिले तत्कालै दमकलाई पूर्ण रुपमा अग्र्यानिकमा लगाउन सकिदैन । किनकी यहाँका सबै किसानले यसको महत्व बुझिसकेका छैनन् । महत्व बुझाउन के गरिदैछ भन्ने प्रश्नको जवाफ दिदै नगर प्रमुख ओलीले भने, ‘अहिले समुहगत रुपमा किसानलाई तालिम दिइरहेको र तालिमपछि जैविक मल उत्पादनमा आवश्यक पर्ने सामग्री वितरण गरेपछि किसानले त्यो प्रविधि र तरिकाले उत्पादन गर्न थालेपछि मात्र दमक बिषादी रहित उत्पादनमा आत्मनिर्भर हुन्छ ।’