विजयपुर/ रङ्गशाला निर्माण समितिले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान बनिरहेको दाबी गरेको रङ्गशाला विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण भइरहेको पाइएको छ ।
रङ्गशालामा करिब २ करोड खर्च भइसकेको छ । तर रङ्गशाला कस्तो बन्ने, कति क्षमताको बन्ने, के के पूर्वाधारहरू हुनेलगायत समेटिएको डीपीआर भने तयार नगरी नै निर्माण प्रारम्भ थालिएको हो । यसले रङ्गशालाको औचित्यमाथि नै प्रश्न उब्जिएको छ ।
धरान उपमहानगरका योजना महाशाखाका प्रमुख इञ्जिनियर सुरज श्रेष्ठले क्रिकेट मैदानको मात्रै डीपीआर बनेर काम हुँदै गरेको बताए । उनले उक्त आयोजनामा क्रिकेट रङ्गशाला मात्रै नबन्ने दाबी गरेका छन् । अन्य योजना पनि रहेकाले गुरु योजनासहितको डीपीआर बन्नेक्रममा रहेको उनले बताए । गुरु योजनासहितको डीपीआर नबन्नुमा उनले कोरोना भाइरसको महामारीपछिको लकडाउनको कारण रहेको दाबी गरे ।
रङ्गशालासँगै कभर्ड हल, फुटबल मैदान, स्विमिङ पुल बन्ने बताइन्छ । तर, हालसम्म डीपीआर नहुँदा कस्तो बन्ने हो भन्नेमा जानकारहरूले आशङ्का व्यक्त गरेका छन् । करिब १५ बिघा क्षेत्रफलमा आयोजना निर्माण हुँदै छ । भक्तराज कन्दङ्वा रङ्गशाला संरक्षण समितिका संयोजक आइन्द्रविक्रम बेघाका अनुसार ठूलो आयोजना भएकाले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
तर, कोरोनाका कारण लम्बिने सङ्केत देखिएको बताए । क्रिकेट रङ्गशालाको नाम भक्तराज कन्दङ्वा राखिएको छ । उनी क्रिकेट खेलाडी भने होइनन् । भक्तराज कम्युनिष्ट अभियन्ता हुन् । यसबारे बेघा भन्छन्, ‘लोकतन्त्र आउनुमा उहाँको ठूलो योगदान छ, त्यसैले उहाँको सम्मानमा रङ्गशालाको नामाकरण गरिएको हो ।’
बेघाले थप स्पष्ट पार्दै भने, ‘त्यसो हो भने विश्वेश्वरप्रसाद कोइरालाको नाममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ उनी डाक्टर हुन त ? त्रिभुवनको नाममा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । उनी पाइलट हुन त ?’ उनले क्रिकेटर नै हुनुपर्ने भन्ने मान्यता वाहियात भएको बताए । यो क्षेत्र बाझगरा सामुदायिक वन क्षेत्रभित्र पर्छ ।
धरानमा व्यवसायिक रूपमा क्रिकेट खेलाडीको अभाव पनि छ । धरानमा पुराना क्रिकेट खेलाडीहरू किरण अग्रवाल, वसन्त श्रेष्ठ, पारस श्रेष्ठ थिए । तर, नयाँ खेलाडीहरूको बाहुल्यता कमै देखिन्छ । क्रिकेटमा आकर्षण बढे पनि खेलाडीका अभावमा कसरी प्रवद्र्धन होला त भन्ने प्रश्नमा पुराना खेलाडी शशि साह भन्छन्, ‘अन्य खेलमा जति नभए पनि त्यसको ३० प्रतिशत खेलाडी क्रिकेटका छन् ।’
धरानमा विगतमा राष्ट्रिय खेलाडीहरू भए पनि क्रिकेटमा भविष्य नदेखेका कारण विस्थापित बनेको उनको अनुभव छ । उनी थप्छन्, ‘धरानका अहिले क्रिकेटमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन नहुनु मुख्य कारण क्रिकेट मैदान नभएर हो । अहिले पनि धरानका युवाहरू स–साना मैदानमा खेलिरहेका छन् ।’ धरानको मैदान तीन वर्षअघिदेखि निर्माणको काम प्रारम्भ भएको छ ।
तर, हालसम्म डीपीआर नबन्दा भने थुप्रै खाल्का आशङ्काहरू व्यक्त गरिँदै आएको छ । रङ्गशाला निर्माण समितिका अध्यक्ष श्रीप्रसाद बेघाले रङ्गशालाको प्याराफिट, लेभलिङ, कटिङ, फिलिङ र घेराबाराको काम भइरहेको बताए । हालसम्म रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले १ करोड, जनस्वास्थ्य कार्यालयबाट ५० लाख, धरान उपमहानगरपालिकाले १० लाख गरेर १ करोड ६० लाख रुपैयाँको काम सम्पन्न भइसकेको छ ।
यहाँ अन्तर्राष्ट्रिय स्तरका खेलाडी भित्र्याउने सपना पालेका छन् । खेलाडी उत्पादन गर्ने लक्ष्य राखेका छन् । र, खेल्दै गरेका खेलाडीहरूलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको संरक्षण समितिका संयोजक नेता अइन्द्रविक्रम बेघाले बताए । उनले क्रिकेट मैदानको अभावमा खेलाडी उत्पादन हुन नसकेको दाबी गर्छन् ।