बेलबारी/ पसाउन लागेको धानमा रोग लागेपछि यहाँका किसान चिन्तित छन् । एकातिर रासायनिक मलको अभाव छ भने अर्कातर्फ पसाउन लागेको धान रोगले मर्न थालेको छ ।
अन्न भण्डारको रूपमा लिइएको झापा, मोरङलगायत जिल्लामा लगाइएको धानखेतीमा ‘राते’ रोग देखिएको हो । किसानको मुख्य अन्नबालीको रूपमा लिइएको धान नोक्सान हुने देखिएपछि किसान चिन्तित भएका छन् । शुरुमा बिउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरिरहेको छ । विशेषगरी उत्तरी मोरङका किसानले लगाएको धानबालीमा यो रोग देखापरेको हो ।
रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानहरूले बताएका छन् । रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको सुन्दरहरैंचाका कृषक गोपाल भण्डारीले बताए । ‘शुरुमा मल पाइएन, हामीले पनि मल नपुगेर होला भन्यौं’ भण्डारीले भने, ‘अहिले बोट नै रातो हँुदै गइरहेको छ ।’
लकडाउनका कारण किसानले रोग नियन्त्रण गर्नका लागि कीटनाशक औषधिसमेत किन्न जान पाएका छैनन् । ‘कृषिप्रधान देशमा मल पनि पाइँदैन, प्राविधिकको सेवा पनि छैन’ –रङ्गेलीका अर्का किसान पुरुषोत्तम रिजालले भने । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीमा युरिया मल चाहिन्छ । किसानले धान रोपेको २ महिना बित्न लाग्दासमेत मल नपाएको रिजालले बताए ।
लकडाउनकै बीचमा पनि मङ्गलबार कानेपोखरी गाउँपालिकाका केही सहकारीहरूले वितरणको लागि रासायनिक मल ल्याए तर त्यहाँका किसानले पर्याप्त मात्रामा मल पाउन सकेनन् । माग धेरै रहे तापनि कानेपोखरी–२ मा रहेको जनचेतना सहकारीले १ सय बोरा मात्र युरिया मल ल्याउन सकेको र कार्यालय भएको स्थानमा ५० बोरा र ४ नम्बर वडामा ५० बोरा वितरण गरेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सदस्य तीर्थबहादुर कार्कीले बताए । उनका अनुसार सयौंको सङ्ख्यामा आएका किसानलाई प्रतिव्यक्ति १० किलोको दरले मल वितरण गरेको बताए ।
यता प्राविधिकहरूले भने मलको अभाव भएका कारण धानमा समस्या देखिएको बताएका छन् । समयमै कृषकले मल नपाउँदा माटोमा नाइट्रोजनको कमी भएको कृषि ज्ञानकेन्द्र इकाई कार्यालय मोरङका प्रमुख रामदेव सिंहले बताए । गबारो किराको कारणले कतै कतै धानको बोट रातो हुने गरेको उनले बताए । उनले केही दिनदेखि यस्ता समस्या आइरहेको र बुझ्ने काम भइरहेको समेत उनले बताए ।
मोरङमा यो वर्ष ९७ प्रतिशत धानखेती भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा यो वर्ष ८० हजार ८ सय १ हेक्टर क्षेत्रफलमा धानखेती भएको हो ।
धानबालीमा रोगको प्रकोप
सप्तरीमा अहिले धानखेतीमा गबारो रोगको प्रकोप फैलिएपछि किसानहरू मारमा परेका छन् ।
जिल्लाका सर्वाधिक धान खेती हुने ६ स्थानीय तहमा गबारो रोगको प्रकोप फैलिएपछि किसानहरू थप चिन्तित बनेका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, महादेवा गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, खडक गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिकालगायतका क्षेत्रमा रहेका धानखेतीमा अहिले गबारो रोगको प्रकोप बढी देखिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले धानबालीमा गबारो रोगको प्रकोपले ६० देखि ६५ प्रतिशत क्षति पु¥याएको बताए । प्रकोप नियन्त्रण तथा किसानहरूलाई राहत प्रदान गर्न गाउँपालिकाको साधानस्रोतले भ्याएसम्म पहल गरिरहेको बताएका उनले रोग नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारलाई पनि सहयोगका लागि आग्रह गरेको बताए ।
बाढी र कोरोनाको कहरबाट उन्मुक्ति नपाउँदै धानखेतीमा देखिएको गबारो रोगको प्रकोपले आफूहरू थप मारमा परेको कृषक जयनारायण यादवको भनाइ छ । यस्तै गुनासो अन्य कृषकहरूले पनि गरेका छन् । उनीहरूले गबारो रोग रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग आग्रहसमेत गरेका छन् । धानबालीमा किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानहरूको भनाइ छ ।
खेतमा असन्तुलन, गुणस्तरीय रासायनिक मलको अभाव तथा प्रतिकूल वातावरणका कारण धानबालीमा किराको प्रकोप बढेको कृषिविज्ञहरूको भनाइ छ । कृषि ज्ञान केन्द्र राजविराजका कृषिविज्ञ राजेन्द्रप्रसाद यादवले पुतली जातको गबारो किराले धानको बोट नै काट्ने गर्दा सुक्ने गरेको पाइएको बताए ।
उनले खेतमा प्रयोग गरिने रासायनिक मलमा डिएपी, युरिया, पोटासलगायतको मात्रा नमिल्दा पनि बालीको जरा कमजोर हुन गई किराको आक्रमण बढ्ने बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि प्राविधिक खटाउने काम भइसकेको उनले जानकारी दिए ।
जिल्लामा यसपटक ६२ हजार ८ सय हेक्टर जग्गामा धानखेती भएको छ । तर, अधिकांश धानखेतीमा गबारो किराको प्रकोप देखिएपछि चिन्तित बनेका किसानहरूले यसको रोकथाम र नियन्त्रणका लागि अविलम्ब पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।