विराटनगर/ मोरङ कानेपोखरी गाउँपालिका–६ का लालबहादुर सुवेदीले एक बिगाहामा धानखेती लगाएका छन् । पसाउँदै गरेको धानमा उनले युरिया मल हाल्न पाएनन् । ‘सहकारीले मल बाँड्ने जानकारी पाएपछि मङ्गलबार मोरङको कानेपोखरी–६ रमाइलोमा रहेको मातृभूमि कृषि सहकारीमा लाइनमा बसेको थिएँ’ उनले भने, ‘दिउँसो १ बजेसम्म बस्दा पनि मल पाउन सकिनँ ।’ दिनभरि तातो घाममा भोक, प्यास मेटेर लाइनमा बसे पनि मल नपाएको उनले ब्लाष्टलाई बताए ।

‘यतिबेला धानमा युरिया मल नहाल्दा उत्पादन घट्छ’ उनले भने, ‘उत्पादन घट्दा लगानी खेर जाने भएकाले स्थानीय प्रशासनले मलको पर्याप्त व्यवस्था गरिदिनुपर्छ ।’ कानेपोखरी–६ सुन्तलीका डम्बर नेपालीले युरिया मल पाउने आशाले आठ घण्टा लाइनमा बस्दा पनि नपाएको गुनासो गरे । ‘सहकारीमा युरिया मल आएको जानकारी आएपछि मङ्गलबार ६ बजे लाइनमा आएर बसेको थिएँ’ उनले भने, ‘९ बजेदेखि मल वितरण गर्न शुरू भएको थियो । दिउँसो १ बजे पालो आउन लाग्दा मल सकियो भन्दै सहकारीको सटर बन्द भयो ।’ मल पाउने आशाले भोक प्यास नभनी लाइनमा बसेको भए पनि अन्तिममा आएर सहकारीले रित्तो हात घर पठाएको कृषक नेपालीले बताए ।

कानेपोखरी–४ केरौनकी शोभा रिजालले दश घण्टा लाइनमा बसेर १० किलो युरिया मल पाएको बताइन् । डेढ बिगाहा जमिनमा १० किलो मलले एकछेउ पनि नपुग्ने उनले बताइन् । ‘स्थानीय रमाइलो बजारमा रहेको सहकारीमार्फत् मल आएकोले बाँड्ने जानकारी पाएको थिएँ’ उनले भनिन्, ‘मङ्गलबार सबेरै मल वितरण गर्ने सहकारीमा आएको थिएँ । मल लिन आफूजस्तै अरू किसानको भीड लागिसकेको रहेछ ।’

मङ्गलबार बिहान सबेरै लाइनमा बसेर १२ बजे युरिया मल पाएको उनले सुनाइन् । ‘धान रोपेपछि हरियो फिर्ने बेलामा मल लगाउनुपर्ने थियो’ उनले भनिन्, ‘ढिलो मात्र मल आयो । त्यो पनि पर्याप्त मात्रामा पाइँदैन रहेछ ।’ १० किलो मल लिन घण्टौ लाइनमा बसेर पाएको उनले बताइन् । ‘प्रतिकठ्ठा एक किलोको दरले युरिया मल धान खेतीमा लगाउँदै आएका थियौं’ उनले भनिन्, ‘अहिले पाएको मलले १० कठ्ठा मात्र पुग्छ । सिङ्गो एक बिघामा अझै मलको अभाव छ ।’ समयमै युरिया मल धान खेतमा हाल्न नसक्दा धानको गाबो मर्न थालेको उनले बताइन् ।

यसरी दिनभरि चर्को घाममा लाइनमा बसेर मल नपाउने लालबहादुर र डम्बर मात्र होइनन् । मङ्गलबार बिहानदेखि कानेपोखरी गाउँपालिकामा मल वितरण गर्ने कृषि सहकारीमा कृषकहरू भीड लागेको थियो । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कुनै परवाह नगरी मल लिन गएका कृषक खाली हात फर्किन बाध्य भए ।

विराटनगरस्थित क्षेत्रीय कार्यालय रहेको साल्ट टे«डिङले पर्याप्त मात्रामा युरिया मल दिन नसक्दा भोको पेट चर्को घाममा लाइनमा बसेका कृषकहरू रित्तै घर फर्किन बाध्य भएका छन् । सहकारीमार्फत् वितरण हुने अनुदानको मल पर्याप्त मात्रामा दिन नसक्दा घण्टौंसम्म लाइनमा बसेका कृषक खाली हात घर फर्किका हुन् ।

मातृभूमि कृषि सहकारीका सञ्चालक तथा बिक्रेता लक्ष्मीप्रसाद बास्कोटाले साल्ट ट्रेडिङले थोरै मल दिएको कारणले सहकारीमा आएका सबै कृषकलाई मल पुर्याउन नसकेको बताए । ‘१ सय बोरा युरिया मल साल्ट ट्रेडिङले दिएको थियो’ मङ्गलबार बिहानदेखि एक जना किसानलाई १० किलोको दरले बाँड्दा सकियो ।’ सयौंको सङ्ख्यामा लाइनमा बसेका कृषक मल नपाएपछि रित्तै घर फर्किन बाध्य भए ।

सहकारीमार्फत् किसानलाई वितरण हुने मल साल्ट ट्रेडिङले मनपरी वितरण गर्ने गरेको आरोप लागेको छ । आफ्नो नजिकमा र चिनजानमा रहेका सहकारीलाई साल्ट ट्रेडिङले मागेअनुसार मल दिने गरेको स्रोतको दाबी छ ।

साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले कम मल आएकोले सहकारीहरूलाई समानुपातिक रूपमा वितरण गरेको बताए । ५ हजार ६ सय मेक्ट्रिक टन युरिया मल आउनुपर्नेमा अहिले ३ सय ४५ मेक्ट्रिक टन मात्र युरिया मल आएको उनले बताए । आएकोमध्ये ३४ वटा सहकारीलाई १ सय बोराको दरले वितरण गरेको उनले बताए । बाँकी रहेको मल अन्य सहकारीलाई वितरण गर्ने तयारी गरिएको उनको भनाइ छ । साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालयले प्रदेश १ र २ नम्बर प्रदेशको सप्तरी तथा सिरहा जिल्लाका गरी २ सय ६४ सहकारीलाई मल दिने गरेको छ ।