धरान/ धरान–१५ एभरेष्टलाइन बस्ने गृहिणी सविता राईले बिहान एकछिन पसल खुलेको बेला आलुको भाउ सोधिन्, ‘साहुजी आलु किलोको कसरी हो ?’ खुद्रा पसलका साहुजीले सय रुपैयाँ किलो भनिदिए । उपभोक्ता राई एकछिन ट्वाल्ल परिन् । आलुको भाउ सुनेर तर्सेकी राईले महँगो नै भए पनि एक किलो किनिन् ।
उनीजस्तै उपभोक्ताहरू यो सिजनमा आलुको भाउ सुनेर तर्सिने गरेका छन् । तर्सिएर चुलाको समस्या समाधान नहुने भएपछि जति मूल्य भए पनि किनेर खानै पर्ने बाध्यता छ । लकडाउन र निषेधित क्षेत्र भए पनि बिहान एकछिन खुलेको बेला उपभोक्ताहरू खाद्यान्न, फलफूल, तरकारीसहित आलु किन्न निस्कने गरेका छन् । तर आलुको मूल्य अत्यधिक महँगो भएपछि विदेशबाट आलु आयातमा रोक लगाएकाले अभाव भई भाउ आकासिएको अनुमान मात्र गर्न सकेका छन् उपभोक्ताले । तर धरानस्थित कृषिउपज बजार व्यवस्थापन समिति र व्यापारीहरूले भने वास्तविकता त्यस्तो नभएको बताए ।
कृषिउपज बजारका आलुको थोक व्यापारी चन्द्रेश्वर चौधरीले आलुकोमूल्य भारत, बङ्गलादेश र भूटानमै पनि महँगो भएको बताए । उनले भने, ‘कोरोनाले आलुको भाउ बढेको होइन । भारत र बङ्गलादेशमा बाढी पहिरो, डुबान बढी भएपछि हरिया सागसब्जी पनि डुबानमा परे, अनि उपभोक्ताले विकल्पमा आलुको प्रयोग गर्ने हुँदा मूल्य वृद्धि भएको जस्तो लाग्छ ।’
कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले पनि कोरोनाको महामारीबीचमा लकडाउन र निषेधित क्षेत्र घोषणा हुँदा सुनसरीमा उपभोक्ताहरू महँगो मूल्यमा आलु किनेर खाना बाध्य भएको बताए । उनका अनुसार गतवर्षको तुलनाना यो वर्ष प्रतिकिलो ५० देखि ६० प्रतिशत बढी मूल्य भएको छ । उनले भने, ‘खासमा आलु उत्पादनमा नेपाल आत्मनिर्भर छैन । आम उपभोक्ताले खाने आलुमा भारत, भूटान र बङ्गलादेशबाट ९० प्रतिशत आयात हुन्छ भने स्वदेशमा १० प्रतिशत मात्र उत्पादन हुन्छ । स्रोतमै महँगो भएपछि नेपालका उपभोक्ताको केही लाग्दैन । आखिर जति मूल्य भए पनि किनेर त खानै पर्यो ।’
उनका अनुसार आइतबार थोक मूल्यमा पुरानो आलु प्रतिकिलो ५५ रुपैयाँ छ भने भारतीय नयाँ आलु ८० रुपैयाँसम्म छ । गतवर्ष पुरानो आलु प्रतिकिलो ३० रुपैयाँ र भारतीय नयाँ आलु ५० रुपैयाँसम्म मात्र पुगेको थियो । उनले भने, ‘यो त थोक मूल्य मात्र हो । खुद्रा मूल्यमा प्रतिकिलो २० देखि ३० रुपैयाँ जोड्नुस्, अहिलेको मूल्य त्यही हो ।’ कृषिउपज बजारमा वार्षिकरूपमा १३ हजार टन आलुको खपत हुने गरेको छ ।