धरान/ हालसम्मकै उच्च मूल्यमा थोक (होलसेल) मूल्यमा टमाटर बिक्री हुन थालेपछि धरान उपमहानगरको अनुगमन समितिले अध्ययन गर्दा ‘तीन तहका बिचौलिया’ सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

धरानको कृषिउपज बजार स्थलका थोक व्यापारीले थोक मूल्यमा नै प्रतिकेजी १ सय १० रुपैयाँमा बिक्री गरेको पाइएपछि अनुगमन समितिले सम्बन्धित क्षेत्रमा गएर अध्ययन गर्दा ‘बिचौलियाको बिगबिगी’ का कारण मूल्य उच्च भएको निष्कर्ष निकालेको हो । ‘टमाटरको पकेट क्षेत्र’ धनकुटाको बेलहारा, पात्लेखोला, हिले क्षेत्रमा प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको भेटिएको धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले बताए ।

ब्लाष्ट दैनिक स्वयम्ले पनि फोन गरेर सम्बन्धित क्षेत्रका किसान तथा कृषि सहकारी संस्थालाई बुझ्दा प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको पाइएको थियो । तर, धरान आइपुग्दा प्रतिकेजी थोकमै १ सय १० रुपैयाँ भएपछि व्यापारीको ब्रम्हलुटबारे समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएलगत्तै धरान उपमहानगरको अनुगमन समिति सम्बन्धित क्षेत्रमा गएर अध्ययन गरेको थियो ।

अध्ययनको क्रममा ‘तीन तहका बिचौलिया’ का कारण महँगो पर्न गएको निष्कर्ष समितिले निकालेको थियो । सोही निष्कर्षलाई आइतबार अपरान्ह धरान उपमहानगरकी उपप्रमुख तथा समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको बैठकमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । उपप्रमुख तथा संयोजक सुवेदी भन्छिन्, ‘टमाटरको मूल्य हाई भएपछि सम्बन्धित क्षेत्रमा के रहेछ भनेर बुझ्न पठाएका थियौं, त्यहाँ पुगेको टोलीले दिएको प्रतिवेदनमा बिचौलियाको कारणले महँगो पर्न गएको भन्ने छ । छैठौं लेयरसम्म बिचौलिया भेटिए ।’ टमाटर उत्पादक किसानले प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म मात्रै पाउने गरेको अनुगमन समितिले फेला पारेको थियो ।

बजार अनुगमन अधिकृत सापकोटा भन्छन्, ‘किसानले ६० देखि ६५ रुपैयाँसम्म पाएको देखियो, स्थानीय व्यापारीले ८० रुपैयाँसम्ममा बिक्री गरेको पाइयो । धेरैतिरका व्यवसायीहरू पुग्ने भएकाले बीचबीचमा बिचौलिया पनि सक्रिय रहेको भेटियो ।’ बिचौलियालाई तह लगाउनका लागि समितिको आइतबार बसेको बैठकले उत्पादन क्षेत्रका जनप्रतिनिधि, धरान उपमहानगरका जनप्रतिनिधि र कृषिउपज बजारस्थलबीच समन्वय र सहकार्य गरेर मात्रै पठाउने निर्णय भएको छ । ‘किसानहरूबाट डाइरेक्ट पठाऔं भन्ने गरी त्यहाँको स्थानीय तह र यहाँको स्थानीय तहबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेका छौं’ उपमेयर तथा संयोजक भण्डारी भन्छिन्, ‘त्यसको इनिसिएसन आफैले लिएको छु ।’ उनका अनुसार सम्बन्धित स्थानीय तह र धरान उपमहानगरबीच समन्वय हुँदा उपभोक्तालाई सहज हुने र मूल्य पनि घट्ने उनले बताइन् ।

एउटा बिचौलियाले प्रतिकेजी १० रुपैयाँ मुनाफा गर्दा पनि तीन तहका बिचौलियाबाट बजारमा आइपुग्दा मूल्य उच्च भएको हो । अझ खुद्रा व्यवसायीमार्फत् उपभोक्ताको भान्सामा पुग्दा टमाटरको मूल्य १ सय ३० रुपैयाँ प्रतिकेजी पर्न जान्छ । समितिको बैठकबाट निरन्तर अनुगमन गर्ने, वडासँग समन्वय गर्नेलगायतका निर्णय भएको छ । त्यस्तै पहाड तथा तराईबाट आउने सब्जी तथा तरकारीहरू कृषिउपज बजारस्थलमा प्रवेश गराउनु पर्ने बाध्यकारी नियम बनाएको छ । ‘पहाड, तराईबाट आउने तरकारीहरू अनिवार्य कृषिबजारमा इन्ट्री गराउनुपर्छ भनेर भनेका छौं’ उपमेयर भण्डारीले भनिन्, ‘यसले कति माग छ, कति आपूर्ति हुन्छ भन्ने कुरा पनि बुझ्न सहज हुन्छ ।’

मूल्य घटाइयो
कृषिउपज बजारस्थलका टमाटरका थोक व्यवसायीहरूले प्रतिकेजी एक सय १० रुपैयाँमा बिक्री गरेर ब्रम्हलुट गरेको समाचार प्रकाशित भएपछि आइतबारबाट मूल्य केही फेरबदल भएको छ ।

थोकमै प्रतिकेजी १ सय १० रुपैयाँमा बिक्री हुँदै आएको टमाटर हाल ९५ रुपैयाँदेखि एक सय रुपैयाँमा बिक्री हुन थालेको छ । उपभोक्ताको भान्सामा पुग्दा उक्त टमाटरको मूल्य प्रतिकेजी एक सय २० रुपैयाँसम्म पर्न आउँछ । उपमेयर तथा संयोजक भण्डारी भन्छिन्, ‘मूल्य उच्च भएपछि धरान उपमहानगर नै लागेर अहिले मूल्य केही घटाइएको छ । आज (आइतबार) प्रतिकेजी ९५ देखि १०० रुपैयाँ प्रतिकेजी थोकमा बिक्री भइरहेको छ ।’

व्यापारीको चलाखी
धरान उपमहानगरको अनुगमन समितिले पछिल्लो समय गरिरहेको अनुगमनका क्रममा केही व्यापारीहरूले चलाखी गरिरहेको फेला पारेको छ ।

तरकारीका थोक बिक्रेताहरूले चार गाडी तरकारी ल्याएकोमा एक गाडी मात्रै कृषि बजारमा प्रवेश गराइने गरेको र अन्य आफ्नै गोदाममा झार्ने गरेकोसम्म अनुमान गरेको छ । शनिबार राति सशस्त्र प्रहरी बल फुस्रे, नेपाल प्रहरी, नगर प्रहरीहरूले धरानको बेसक्याम्पमा गरेको अनुगमनको क्रममा १४ वटा तरकारीका गाडीहरू नियन्त्रणमा लिइएको थियो ।

राति ९ बजेदेखि बिहानको ३ बजेसम्म अनुगमन गर्दा सो गाडीहरू नियन्त्रणमा लिन सफल भएको अनुगमन अधिकृत सापकोटाले जानकारी दिए । ‘मूल्य नियन्त्रणका लागि रातभरि प्रहरी खटिएका थिए, त्यो क्रममा १४ वटा गाडी नियन्त्रणमा लियौं, त्यस्ता गाडीहरूलाई बिहान चेतावनी दिएर छाडेका छौं’ उनले भने, ‘आइन्दा कुनै पनि तरकारीको गाडी बिलबिनै आएमा नियन्त्रणमा लिने गरी चेतावनी दिएर छाडेका छौं ।’ बिलबिनै आएका गाडीहरूमा बिचौलियाको चलखेल धेरै हुने गरेको भेटिएपछि सम्बन्धित क्षेत्रको बिल ल्याए मात्रै छाड्ने गरी तयारी थालेको उनले बताए ।