धरान । धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले टमाटरमा ब्रम्हलुट गरिरहेको पाइएको छ ।
महँगो मूल्यमा खरिद गरेको दाबी गर्दै थोक टमाटर व्यवसायीहरूले व्यापक ब्रम्हलुट गरिरहेको पाइएको हो । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको छ ।
जहाँ प्रतिकेजी ८० रुपैयाँले बिक्री भइरहेको छ । अझ किसानको खेतबाट ६५ देखि ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको पाइएको छ । पात्लेखोला क्षेत्रमा भने स्थानीय व्यापारीले ३० देखि ३५ रुपैयाँ प्रतिकेजीमा खरिद गरिरहेको त्यहाँका किसानले बताए । सोही टमाटर धरान आइपुग्दा प्रतिकेजी थोक मूल्य (होलसेल) मै १ सय १० रुपैयाँ रहेको छ ।
प्रतिकेजी झण्डै ३० रुपैयाँ मुनाफा लिइरहेका पाइएको छ । धनकुटा–९ बेलहारास्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टङ्क रोइलाका अनुसार बिहीबार र शुक्रबार प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको थियो । उनले फोन सम्पर्कमा भने, ‘यहाँ सरदर ८० रुपैयाँ प्रतिकेजीमा हामीले बिक्री गरिरहेका छौं, त्यहाँ पुग्दा धेरैमा ९५ रुपैयाँसम्म हुनुपर्ने हो, त्यहाँ चाहिँ कसरी यस्तो भो ?’
उनले उत्पदान कम भएकाले विगत वर्षहरूभन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रूपमा हुनु गलत भएको दाबी गरे । बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्वीण्टल टमाटर बिक्री हुने गरेको छ । त्यस्तै धनकुटा–१० स्थित पात्लेखोला कृषि सहकारीका सचिवसमेत रहेका किसान अमरबहादुर दाहालले आफूले हिजोआज पात्लेखोला क्षेत्रका किसानबाट स्थानीय व्यापारीले ३०–३५ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको सुन्नमा आएको बताए ।
उनले पात्लेखोला क्षेत्रमा दैनिक ५ क्वीण्टल बिक्री हुँदै आएको बताए । उनले बजारमा पुग्दा ७० रुपैयाँ प्रतिकेजीमा बिक्री हुनु पर्ने बताए । ‘थोकमै १ सय १० रुपैयाँ भनेको त धेरै हो’ उनले फोनसम्पर्कमा भने, ‘त्यति धेरै मूल्यमा बिक्री हुनु मनासिव होइन ।’
धरान कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले यो हालसम्मकै उच्च मूल्य रहेको बताए । उनले भने, ‘दुई वर्षअघि बाढीपहिरो आएका बेला थोकमा ८० रुपैयाँ प्रतिकेजीसम्म पुगेको थियो, बजारमा पुग्दा ९० सम्म बिक्री हुन्थ्यो । तर, यसपटक त थोकमै १ सय १० रुपैयाँ पुगेको छ ।’
उनका अनुसार उत्पादन कम, लकडाउनका कारण राम्रो बिउ नपाएको कारणले पनि यसपटक किसानहरूले कम क्षेत्रफलमा खेती गरेको बुझिएको छ । जलपादेवी कृषि सहकारीका सचिव रोइलाले धनकुटामा करिब ५ हजार रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आए पनि यसवर्ष समयमा बिउबिजन नपाएको र वर्षात् पनि बढी नै भएकाले खाद्यान्न बालीतर्फ किसान आकर्षित बनेको बताए ।
उनले भने, ‘लकडाउनले किसानले राम्रो बिउ पनि पाएनन्, वर्षात् पनि बेलैदेखि भइदियो, लकडाउनले बिक्री पनि नहोला भनेर किसान निराश भए, खाद्यान्नतिर जोड दिए ।’ जसका कारणले विगतको क्षेत्रफलभन्दा कममा खेती भएका कारण पनि उत्पादन कम हुँदा भाउ उच्च हुन पुगेको बताए ।
तर पनि धरानका थोक व्यापारीले गाडीभाडा प्रतिकेजी ५ रुपैयाँ बढी लिँदा र आफूलाई ५ रुपैयाँ मार्जिन राख्दा पनि फाइदा नै हुने उनले बताए । ‘एभरेजमा १० रुपैयाँ मार्जिन राख्दा पनि ९० मा बेच्दाखेरि ठीकै हुने हो’ उनले भने, ‘यहाँको बिक्रीका हिसाबले धेरै भइहाल्यो ।’
यता महँगो मूल्यमा थोकमै बिक्री हुन थालेपछि धरान उपमहानगरपालिकाको अनुगमन समितिले जाँच गरेपछि ‘१ सय १० रुपैयाँ’ मै बेच्नुपर्ने भएमा बेच्न छाड्नका लागि व्यापारीलाई निर्देशन गरेको छ । अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले भने, ‘आज बिहान चार बजे नै गएर निरीक्षण गर्दा १ सय १० रुपैयाँ प्रतिकेजी थोकमै बिक्री भएको पाइयो, अनि माथिका (धनकुटा) किसानलाई सोध्दा त्यस्तो नभएको पाइएपछि १ सय १० मै बेच्नुपर्छ भने नबेच्नुस् भनेको हो ।’
उनले पनि धनकुटाका किसानलगायत त्यहाँका व्यापारीहरूलाई बुझ्दा किसानबाट ६५ देखि ७० रुपैयाँमा किन्ने गरेको छ भने व्यापारीहरूबाट ८० रुपैयाँ प्रतिकेजी उठाउने गरेको बुझिएको बताए । तर, यता आइपुग्दा बिचौलियाका कारण महँगो मूल्यमा बिक्री भइरहेको पाइएपछि तत्कालका लागि बिक्री वितरण गर्न रोक्न निर्देशन गरेको उनले बताए ।
‘१ सय १० रुपैयाँमा बेच्नुपर्छ भने नबेच्नुस्, धरान उपमहानगरपालिका आफैले कुनै माध्यमबाट खुवाउँछ भनेर हामीले भनेका छौं’–उनले फोनसम्पर्कमा भने । उनले बिचौलियाका कारणले टमाटरको मूल्य बढेको स्वीकार गरे । त्यसका लागि दैनिक अनुगमन गरिरहेको बताए ।
धरान उपमहानगरका नगर प्रमुख तिलक राईले महँगो मूल्यमा बिक्री गरिरहेको हो भने जफत गर्नुस् भनेर बजार अनुगमन अधिकृतलाई निर्देशन दिएको बताए । उनले भने, ‘केही व्यापारी साथीहरू यो सङ्क्रमणको बेला कमाउधन्दामा लागेको भन्ने सुन्नमा आयो, त्यसो हो भने तत्काल रोक्नुस्, कारबाही गर्नुस् भनेर मैले निर्देशन दिइसकेको छु । त्यस्तालाई कारबाही हुन्छ । महँगोमा बिक्री हुनुहुँदैन ।’