इटहरी/ इटहरी तथा आसपासमा चिया खाने आ–आफ्ना ‘जक्सन’ छन् । ती स्थानमा चियालाई माध्यम बनाएर राजनीतिक, सामाजिक, साहित्यिक, सांस्कृतिक छलफल तथा स्थानीय सवालका विषयमा टिप्पणी हुने गथ्र्यो । ‘चिया खान भेटेर सल्लाह गरौं न’ शैलीका चियासँग गाँसिएका सवालहरू प्रशस्त भेटिन्छन् ।
तर ‘लकडाउन’ पछि चियापसलहरू खुलेका छैनन् । चियाका पारखीहरू पनि घर तथा डेरामै बसेका छन् । तन्नेरीदेखि पाका उमेर समूहका चिया पारखी छन् । बिहान, दिउँसो, साँझ चिया खान भेला हुने आ–आफ्नै समूह छन् । साहित्यकर्मी, राजनीतिज्ञ, युवा, पत्रकारलगायतको चिया टिम छ ।
चियाका पारखीमध्येका एक फोटोग्राफी तथा सांस्कृतिक अध्येता भवानी तावा चिया छलफलले उत्साह बढाउने अनुभव सुनाउँछन् । घरमै बस्दा नयाँ विषयमा छलफल हुन नपाएको उनको भनाइ छ ।
इटहरीका युवा समाजसेवी विजय केसी चिया पसल बन्द हँुदा दैनिक जमघट हुने साथीहरूसँग भेट नभएको बताउँछन् । कोरोनाका कारण चिया जक्सनहरू सुनसान छन् । ‘आफूलाई लागेका कुरा सुनाउने, अरूको सुन्ने तथा अरूका कामले आफूलाई पनि जाँगर चल्ने गर्छ’ सामाजिक सञ्जालमा भेटिएका उनी भन्छन्, ‘चिया पिउन दैनिक भेटिने साथीहरूसँग यतिबेला फोनमा मात्र भेटिरहेका छौँ ।’
इटहरीमा विभिन्न चिया पसल चर्चित छन् । चिया पिउने समूहले आ–आफ्नो चिया अड्डा बनाएको देखिन्छ । चिया एउटा माध्यम हो । इटहरीका सामाजिक अगुवा तथा इटहरीका चर्चित क्याफे फलैंचाका सञ्चालक दिव्य गुरुङ भन्छन्, ‘साथीहरू सँगको भेटघाट पातलिएको छ । क्याफे तथा चियापसलहरू बन्द हँुदा अहिले दैनिक राजनीतिक गफमा गफिनेहरू घरमै बसिरहेका छन् ।’
‘चिया खान भेटौं न भनेर विभिन्न विषयको ज्ञान आदान– प्रदान तथा धारणा साट्ने गरिन्छ’ तर बन्द हँुदा सँधै भेट्ने साथीहरूसँग भेटघाट हुन छोडेको बताउँछन्, इटहरीका युवा अभियन्ता मदन चूडाल । चूडाल भन्छन्, ‘आफ्नै सर्कलका साथीभाइहरूसँग चिया बहसमा फरक–फरक धारणा सुन्न पाइने हुन्छ ।’ अहिले साथीभाइहरूसँग जुममा गफगाफ र परिवारसँग रमाइलो गरिरहेको उनी बताउँछन् । ‘सचेत हुँदै कोरोना जितेर अगाडि बढ्नुपर्छ जस्तो लाग्न थाल्यो’ –उनी थप्छन् ।
दूधचिया, कालोचिया, ग्रीन टी, गोल्डेन टी, मड्का चियालगायत विभिन्न प्रकारका चिया पिउने सौखिनहरू छन्, शहरमा । शहर तथा ग्रामीण क्षेत्रमा रहेका चिया पसलमा सामाजिक चिन्ता तथा चासो निक्कै महŒवपूर्ण हुन्छ । चिया पिउँदै बहस गर्ने विषयहरू प्रशस्त हुने गरेको स्थानीय बताउँछन् ।