भण्टाबारी/ सुनसरी जिल्लामा मल अभाव भएको गुनासो आइरहँदा भारतबाट मल तस्करी भइरहेको पाइएको छ ।
भारतीय बजारबाट तस्करी गरी ल्याइने मल सीमावर्ती क्षेत्रका किसानहरूले प्रयोग गरिरहेका छन् । नेपाली बजारमा पाउन छाडेपछि भारतीय बजारबाट रासायनिक मल तस्करी गरिएको किसानहरू बताउँछन् ।
कतिपयले त्यसरी तस्करी गरी ल्याएको भारतीय मल धान खेतमा छरिरहेका हुन्छन् भने कतिपय भने त्यसरी ल्याएको मल नेपाली बजारमा महँगो मूल्यमा बेचिरहेका छन् । ‘धानमा गाँज लागिरहेको समय जिल्लामा मलको चर्को अभाव छ’ भोक्राहा नरसिंह गाउँपालिका–८ का किसान हाकिम हुसेनले भने, ‘त्यसैले बाध्यताले भारतीय मल प्रयोग गरेका हौं ।’
नेपाली बजारमा मल अभाव भइरहेको मौकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रका युवा भारतीय मल तस्करीमा लागेका छन् । त्यसरी तस्करी गर्ने युवा आफूहरू तस्कर नभई नेपाली किसानलाई सहयोग पुर्याएको दाबी गर्छन् ।
नेपाली मल पर्याप्त नपाएका कारण भारतीय बजारबाट मल ल्याउने गरिएको बताउँदै हुसेनले यद्यपि भारतीय मल कम गुणस्तरको हुने गरेको बताए । ‘रोपाइँमा गाँज लाग्ने बेलामा मल हालिएन भने उत्पादन घट्छ’ अर्का किसान सुरेन्द्र यादवले भने, ‘तर नेपाली बजारमा मल पाइएको छैन । त्यसैले भारतीय भए पनि मल प्रयोग गरिरहेका छौं ।’
सरकारले मल दिए आफूहरूले भारतीय मल प्रयोग नगर्ने उनी बताउँछन् । किनकि नेपाली मलजस्तो गुणस्तरीय भारतको मल छैन । उताबाट ल्याएको मल धेरै दिनसम्म गल्दैन । यादवले भने, ‘तर, पनि त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ । सधैँ भारतबाटै बिउ र मल ल्याएर खेती गर्ने गरेका छौं ।’
मल र बिउ भारतीय बजारबाट ल्याएर खेती गर्दै आए पनि सिंचाइ सुविधासमेत नहुँदा सोचेअनुसार उत्पादन हुँदैन । ‘धान र गहुँ खेतीको उर्वरभूमिका किसानले सिंचाइ सुविधा पाउँदैनन्, सरकारले अनुदानमा दिने मल र बिउ हुनेखाने, पहुँचवालाले पाउँछन्’ –यादवले गुनासो गर्दै भने ।
सरकारले कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखे पनि खेती लगाएको समयमा किसानहरूले मलका लागि हैरानी खेप्नुपरेको छ । भारतीय बजारबाट भित्र्याइएको बिउ र मल कमसल भएकोले उत्पादनमा समेत कमी आउने गरेको हो । पर्याप्त सिंचाइ सुविधा नभए पनि मनसुन समयमै शुरु भएकोले धान राम्रै उत्पादन हुने अनुमान गरिएको छ ।
वास्तविक किसानलाई अनुदान वितरण गर्नुपर्नेमा सहकारी संस्थाहरूले त्यसो नगर्ने र भनसुनका आधारमा वितरण गरेकोले सीमावर्ती क्षेत्रका किसानले स्वदेशमै मल पाउन नसकेको यादवको बुझाइ छ । केही किसानले अनुदानमार्फत् आएको बिउ र मल पाए पनि केहीले निजी उत्पादन कम्पनी र अधिकांशले भारतीय बजारबाट भिœयाउने गरेका छन् ।
३५ बोरा युरिया बरामद
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनयाहीबाट सशस्त्र प्रहरीले ३५ बोरा युरिया मल बरामद गरेको छ । भारतबाट तस्करी गरी स्टक गरेर राखेको २९ हजार ९ सय ५० रुपैयाँ बराबरको उक्त युरिया आइतबार राति बरामद गरी सोमबार आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल बिओपी वसन्तपुरका इन्स्पेक्टर भीम भुजेलले जानकारी दिए ।
भारतीय बजारबाट १२ सय भारुमा ल्याएको ५० केजी डिएपीलाई नेपालमा २३ सयमा बिक्री गर्ने गरेको बताइएको छ । त्यस्तै भारतमा ३ सयदेखि ३ सय ५० भारुमा पाइने युरिया नेपालमा ८ सयदेखि ९ सयसम्म पर्ने गरेको छ । केही किसानले आफै भारतीय बजारबाट मल ल्याउने गरे पनि अधिकांश अवैध रूपमा भारतबाट भित्रिने गरेको छ । खुला सीमाको फाइदा उठाएर किसानका नाममा दैनिक मल भित्र्याउने गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् ।
किसानलाई भारतबाट मल ल्याउन छुट दिए पनि किसानका नाममा दैनिक अवैध रूपमा मल भिœयाउनेलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको प्रहरी बताउँछ । यता लकडाउनका कारण व्यवस्थापन गर्न नसक्दा कतिपय स्थानमा मल अभाव भएको पाइएको सहकारी संस्थाका सञ्चालकहरू बताउँछन् ।