धरान/ कोरोना भाइरसको महामारीले त्राहिमाम बनेका आमजनता अहिले पत्रिकाबाट पनि कोरोना सर्ने डर पालेर बसेका छन् ।
दैनिक कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आमजनता पत्रिका देख्नेबित्तिकै कोरोना सर्ने हो कि भन्ने डर पालेर बसेका हुन् । तर, केही अध्ययन तथा अनुसन्धानले पत्रिकाबाट कोरोना सर्ने यथेष्ट आधार नभएको प्रमाणित गरेका छन् । चीनको वुहान प्रान्तबाट सन् २०१९ को डिसेम्बरमा कोरेना महामारी शुरु भएलगत्तै द इण्टरनेशनल न्यूज मिडिया एसोसिएसनले अनुसन्धान गरेको थियो । उसको अनुसन्धानले कोरोना भाइरस पत्रिकामार्फत् नसर्ने उल्लेख गरेको छ । यो विभिन्न सञ्चारमाध्यमको छातासङ्गठन हो ।
उसले गरेको ‘निर्जीव सतहहरूमा गरिएको भाइरसको फैलावटसम्बन्धी अनुसन्धान’ मा खस्रो सतहहरूमा भाइरस फैलिनका लागि सबैभन्दा कम क्षमता हुने उल्लेख गरेको छ । जसमा पत्रिकाको कागज एकदम छिद्रयुक्त र खस्रो हुने भएकाले कोरोना भाइरसको बाँच्न सक्ने क्षमता नहुने उल्लेख गरेको छ । ‘पोरस सर्फेसमा कोरोना भाइरस रहन नसक्ने अध्ययनले देखाएको छ’ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभागका विभागीय प्रमुख धीरेन लिम्बू भन्छन्, ‘अझ पेपरमा इङ्कहरूका कारण निर्मलीकृत हुने भएकाले भाइरसले असर नगर्ने उक्त अनुसन्धानले देखाएको छ ।’
छिद्रयुक्त सतह भएका वस्तुहरूमा कोरोनाको बाँच्न सक्ने क्षमता एकदमै कम हुने अन्य अनुसन्धानले पनि देखाएको छ । तर, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालसम्म स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । किनकि कोरोना भाइरस हालै देखिएकाले धेरै अध्ययनअनुसन्धान हुन बाँकी रहेकाले सर्छ, सर्दैन भन्न सकिने अवस्था रहेको छैन ।
तर, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रमुख डा. दिलकुमार लिम्बूले सामान्यतः भाइरसहरू सजीव वस्तुको कोषमा मात्रै बाँच्न सक्ने भएकाले निर्जीव वस्तुमा निश्चित समयपछि मर्ने बताए । ‘नर्मल्ली भाइरसहरू सजीव वस्तुको कोषमा मात्रै बाँच्छन्’ उनले भने, ‘पत्रिका निर्जीव वस्तु हो, त्यहाँ लामो समयसम्म बाँच्न सक्दैन । तर कोही इन्फेक्टेडले पत्रिका पढेको छ र उसको थुकका छिटाहरू परेको छ अनि त्यही पत्रिका हामीले पनि पढ्यौं र नाक, मुखमा छोयौं भने चाहिँ सर्न सक्छ ।’
बेलायतबाट प्रकाशित ‘द इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’ ले गरेको अनुसन्धान अनुसार पत्रपत्रिकाहरूमा ३ घण्टासम्म कोरोना भाइरस बाँच्न सक्ने उल्लेख गरेको छ । डा. लिम्बू थप्छन्, ‘निर्जीव वस्तुमा निश्चित समय बाँच्न सक्ने हुन्छ, तर निश्चित समय बाहिर राखेपछि भाइरसको मृत्यु हुन्छ ।’ पत्रपत्रिकाको हकमा अझै पनि बृहत् अध्ययन अनुसन्धान हुन बाँकी नै छ ।
तर, द इन्टरनेशल न्यूज मिडिया एशोसिएसनले पत्रिकाबाट कोरोना भाइरसको सङ्क्रमण विश्वभर कतै पनि फैलिएको नभेटिएको उल्लेख गरेको छ । बेलायतस्थित जोन इन्स सेण्टरका प्रख्यात भाइरोलोजिष्ट जर्ज लोमोनोस्सोफले तेस्रो बु“दाको यसरी व्याख्या गरेका छन् । ‘पत्रिकाहरू पर्याप्त मात्रामा आफै निर्मलीकरण भएको हुन्छ किनभने छपाइको प्रक्रियामा जे–जे विधि र रसायनहरूको प्रयोग अपनाइन्छ, त्यसमा प्रयोग हुने मसी र केमिकलहरूले पत्रिकालाई निर्मलीकरण (स्यानिटाइज) गरिसकेको हुन्छ ।’
अमेरिकाको रोग नियन्त्रण केन्द्रले पनि कोरोना भाइरसको सङ्क्रमण समाचारपत्र र चिठ्ठी पत्रहरूका सतह अनुकूल नहुने भएकाले सङ्क्रमण हुने सम्भावना एकदमै कम भएको उल्लेख गरेको छ । भारतमै पनि भाइरोलोजिष्टहरूले पत्रिकामार्फत् भाइरसको सङ्क्रमण नहुने बताएका छन् । भेल्लोरस्थित क्रिश्चियन मेडिकल कलेजका प्रोफेसर टि.ज्याकव जोन भन्छन्, ‘अरू सतह जस्तो पत्रिकाको सतह कोरोना सङ्क्रमणका लागि अनुकूल नहुने र पत्रिकामार्फत् सङ्क्रमणको सम्भावना नहुने भएकोले मैले पत्रिका पढ्न बन्द गरेको छैन ।’